गुरुकुलका विद्यार्थीद्वारा खाद्यान्न सहयोग

  •   
  •  

घोराही,१३ असार । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले एकदिन बजारमा सामान विक्रि गर्दा बचत भएको नाफा रकमबाट असक्त एवं मानसिक अपांगता भएका व्यक्तिलागि खाद्यान्न सहयोग गरेका छन् ।

घोराही उपमहानगरपालिका–३ मोहननगरस्थीत प्रेरणाका लागि अभियान नेपालमा बस्दै आएका मनस्थीति विग्रिएका व्यक्तिहरुका लागि करिव दश हजार बढी मुल्यको खाद्यान्न सहयोग गरेका हुन ।

कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीले ३९ हजार रुपैया लगानी गरेर एक दिन बजारमा खाद्यवस्तु बेच्दा नाफा हुन आएको करिव ७ हजार ९ सय ३० र लियो क्लव अफ गुरुकुलले सहयोग गरेको २ हजार ३ सय ६० गरेर जम्मा दश हजार २ सय ९० रुपैँया बराबरको खाद्यान्न प्रेरणाका लागि अभियान नेपाललाई सहयोग गरेका हुन ।

सोमवार एक कार्यक्रमको आयोजना गरि चामल, दाल, तेललगायतका सामग्री प्रेरणाका लागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्साललाई शिक्षक तथा विद्यार्थीले हस्तान्तरण गरेका थिए ।

विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यले रचनात्मक कार्य गरिएको गुरुकुल एकेडेमीका प्लसटु संयोजक निमानन्द गैरेले बताए । विद्यालयमा अध्ययनसँगै व्यवसायीक पक्षको ज्ञानले विद्यार्थीलाई व्यवसायसँगै श्रमको महत्व बारेमा ज्ञान दिएको संयोजक गैरेको भनाई छ ।

‘विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले एकदिन घोराही बजारमा खाद्यान्न सामग्री बेच्न लगाएका थियौं’,संयोजक गैरेले भने,‘जस अनुसार विद्यार्थीले घोराहीका विभिन्न चोकहरुमा मकै,चटपटे, पानीपुरी,आइक्रिमलगायतका सामग्री बेचेका थिए । त्यहीबाट आएको नाफाले आज सहयोग गरेका हुन ।’ संयोजक गैरेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसंगै जीवनउपयोगी शिक्षा दिनका लागि आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालबालिकालाई सानैदेखि व्यवहारिक ज्ञान दिन सके समाजमा कसैलेपनि दुःख नपाउने बताएका थिए । उनीहरुले बालबालिकालाई सानैदेखि सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिन सके उनीहरु समाजमा स्थापित हुन समेत सफल हुने बताएका थिए । साथै सामाजिक सेवाका कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिन आग्रह गरेका थिए ।

खाद्यान्न सहयोग कार्यक्रममा प्रेरणाका लागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्साल, विद्यालयका सहायक प्राचार्य मुकुन्द गिरी, व्यवस्थापन संकाय संयोजक शिक्षक कृष्णदेव थापा, विद्यार्थी अनुपश्री लामिछानेलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यार्थी निश्चल न्यौपानेले गरेका थिए । प्रेरणाका लागि अभियान नेपालमा अहिले महिला पुरुष गरेर १५ जना मनस्थीति विग्रिएका व्यक्तिहरु बस्दै आएका छन् । कार्यक्रममा शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।