तुलसीपुर उपमहानगरको नीति तथा कार्यक्रम : युवा रोजगारीलाई प्रोत्साहन गोरक्ष समाचारदाता

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, ७ असार । जताततै स्मार्ट जोडिएको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको नीति र कार्यक्रममा स्मार्ट शब्द कतै छैन । बरु यसको साटो विदेश पलायन रोक्नका लागि युवा रोजगारीलाई प्राथमिकतामा राखिएको छ । आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कृषि सिँचाइ, रोजगारी, शिक्षा स्वास्थ्य र पर्यटन र विकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो । ‘समृद्ध तुलसीपुर सधैका लागि, सबैका लागि’ बनाउने मूल नारासहित आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख टीकाराम खड्काले ‘तथ्यमा आधारित योजना तर्जुमा (इभिडेन्ट बेस पोलिसी) सिद्धान्तलाई आत्मसात गरिएको छ ।

उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोल, समाज र अर्थतन्त्रलाई सूक्ष्मरुपमा पहिचान र दस्तावेजीकरण गर्न बृहत् वडागत प्रोफाइलिङको थालनी गर्ने, ‘मेरो नगर, मेरो नक्सा’ भन्ने नाराका साथ उपमहानगरपालिकाअन्तर्गत पर्न आउने सबै प्रकारका जग्गा, वन, नदी, नाला इत्यादिहरुको सेटलाइट नक्सालाई नापी विभागबाट उपलब्ध हुने कित्तावाल नक्सासँग गाँभेर कानूनी र प्राकृतिक नक्साको सगोल रुप एकीकृत डिजिटल नक्सा तयार पारिने नीतिमा उल्लेख छ ।

चालु र आगामी आर्थिक वर्षमा गरिने कृषि, सिँचाइ र बजारीकरणका पूर्वाधार, अनुदान उपलब्धता र योजना तर्जुमा यस प्रोफाइलिङमार्फत उपलब्ध हुने तथ्याङ्क र नक्साका आधारमा गरिने र उक्त योजनाहरुका प्रभावकारिता अध्ययन पनि सोही प्रोफाइलिङबाट सहजीकरण हुनेगरी व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै कृषिलाई पहिलो भू–उपयोग नियमावली–२०७९ को अवधारणामा रही कृषि प्रोफाइलिङमा आधारित कृषि सुदृढीकरण कार्यक्रमलाई मूलभूत कृषि योजनाको रुपमा प्रस्ताव गरी कृषिगत जमिनको संरक्षण र उपभोगलाई प्रोत्साहन गरिने नीति लिएको छ । भूउपयोग नीति निर्माण गरी जग्गाको वर्गीकरणका साथै कृषि उत्पादनको कम्तीमा २ वटा पकेट क्षेत्र निर्धारण गरिनेछ ।

त्यस्तै एक वडा : एक कृषि प्राविधिक तथा एक टोल : एक कृषि समूहको व्यवस्था गरी किसानहरुलाई प्राविधिक सहयोग प्रदान गर्ने अभियानलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गरिने, व्यावसायिक कृषि तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानहरुलाई यन्त्र, औजारलगायत प्राविधिक सहयोगलाई वडास्तरबाटै निरन्तरता दिइने र उन्नत बीउको प्रयोगलाई बृद्धि गर्न कृषकहरुलाई उन्नत बीउको प्रयोगमा ५० प्रतिशत अनुदान उपलब्ध गराई बीउ प्रतिस्थापन दरमा बृद्धि गरिने नीति उपमहानगरपालिकाले अगाडि सारेको छ ।

त्यस्तै कृषि, विद्युत मिटर प्रयोग गरी सिँचाइ गर्ने कृषकहरुलाई विद्युत महसुलमा छुट, व्यावसायिक कृषक र कृषि समूहहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गर्नुका साथै कृषक परिचय–पत्र वितरण गरिने र घर निर्माण गर्दा कौसी खेतीको संरचना बनाउन प्रोत्साहन गरिने नीति कार्यक्रम रहेको नगर प्रमुख खड्काले बताए ।

त्यस्तै पशु विकासतर्फ पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशालामा सुधार गरी सेवालाई निरन्तरता दिनुका साथै पशुहरुमा लाग्ने संक्रामक रोगहरुविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ । पशुपंक्षीको नश्ल सुधार : आम्दानी र रोजगारीको आधार’ भन्ने अभियानअन्तर्गत नश्ल सुधारका लागि कृत्रिम गर्भाधारण कार्यक्रमलाई निःशुल्क र प्रभावकारी बनाइनेछ ।

साथै पशु उपचारका लागि आवश्यक औषधिहरु निःशुल्करुपमा उपलब्ध गराइने, आवश्यकता अनुसार बाख्रा, बंगुर, भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने, व्यावसायिक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरी माछा, मासु, दही, दूधलगायतका किसानका पशु उत्पादनलाई बजार प्रबद्र्धनका कार्यक्रम सञ्चालन गरिने छ ।

मत्स्य विकासका लागि पोखरी विस्तार एवं भुरा वितरणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५०% अनुदानमा बर्षे÷हिउँदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने आधुनिक बधशाला निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रम रहेको छ ।

त्यस्तै उद्योग व्यवसाय, रोजगारी, गरिवी निवारणअन्र्तगत लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशुसेवासम्बन्धी कुनै पनि व्यवसाय दर्ता गर्र्दा सहुलियत प्रदान गरिने, महिला, दलित, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सहिद तथा जनआन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीय स्तरमा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा सहुलियत प्रदान गरिने नीति ल्याएको छ । ग्रामिण क्षेत्रमा स्थापना हुने उद्योगहरुलाई व्यवसाय करमा ५०% छुट दिईने उद्योग व्यवसाय प्रवद्र्धनका लागि युवाहरुको आकर्षण बनाउन विषेश कार्यक्रम ल्याइनेछ ।

त्यसैगरी उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरुसँग आवश्यक समन्वय गरी कृषि, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने ‘मेयर उद्यमी कर्जा कार्यक्रम’ मार्फत वित्तीय संस्थासँग कोष साझेदारी गरी उद्यमका लागि कर्जा उपलब्ध गराउने नीति सार्वजनिक भएको छ ।

सहकारी संघसंस्थालाई कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रशोधन गरी मूल्यश्रृंखला विकास गर्न, ती उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका कृषि बजार स्थापना गर्न, र जग्गा चक्लाबन्दी, करार खेती, सामूहिक खेती, कृषि सामग्री बिक्री पसल, पशुपालन एवं संरक्षण, माछापालन, प्रशोधनयुक्त उद्योग, डेरी सञ्चालन गर्नका लागि सहकारी संस्थाहरुको अवस्था मूल्यांकनको आधारमा प्राथमिक चरणमा चयन गरी उपमहानगरपालिकाबाट विषेश प्रोत्साहन गरिनेछ । पर्यटनतर्फ प्रवद्र्धन गर्न ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई निरन्तरता दिँदै परम्परागत कला, संस्कृति र पर्यटनको संरक्षण र विकास कार्य गरिने छ ।

स्वास्थ्यमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भीमसेन मेट्रो अस्पताललाई स्तरोन्नति गरी गुणस्तरीय र सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवालगायत विशिष्ट सेवाहरु सञ्चालन गरिने, अस्पतालमा न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइने साथै अन्य क्षेत्रमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइने पनि उल्लेख छ ।

पालिकामा विभिन्न स्थानहरुमा त्रैमासिकरुपमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने पालिकालाई निःशुल्क शल्यक्रियाका माध्यमबाट एक वर्षभित्र मोतियाबिन्दुमुक्त समाजको रुपमा रुपान्तरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै एक घर, एक धारा अभियानलाई सफल पार्न नगरका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय खानेपानी पु¥याउने अभियानलाई निरन्तरता दिइने, नगर क्षेत्रका खानेपानीका मुहानहरुको पहिचान, संरक्षण र व्यवस्थापन गरिने नीति सार्वजनिक भएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त, सडक बालबालिका र सडक मानवमुक्त नगर स्थापना कार्यलाई निरन्तरता दिइनेछ । असहाय, अनाथ, बेवारिसे बालबालिकाहरुको संरक्षण तथा विशेष सुरक्षा प्रदान गर्न संघ, प्रदेश र गैरसरकारी क्षेत्रसमेतको सहभागिता, समन्वय र सहकार्यलाई निरन्तरता दिँदै उपमहानगरपालिका क्षेत्रभित्रका अनाथ बालबालिकालाई ‘उपमेयर बाल संरक्षण गृह’ को निर्माण गरी अथवा सार्वजनिक विद्यालयमा उपलब्ध संरचनाको उपयोग गरी निःशुल्क आवासको व्यवस्था गरिने नीति उपमहानगरपालिकाले ल्याएको छ ।

युवा तथा खेलकुदतर्फ स्वरोजगार कार्यक्रम मार्फत विदेश पलायन हुने युवाहरुलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिने र युवा उद्यमशीलताका लागि तालिम, व्यावसायिक तथा सीपमूलक शिक्षा, ईन्टर्नसीप, स्टार्टप, युवा केन्द्रित बीउ पुँजीको व्यवस्था गरी करीब १ हजार युवाहरुलाई तुलसीपुरमै रोजगारीको अवसर सृजना गरिने प्रबन्ध नीति तथा कार्यक्रममा उल्लेख छ ।

दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाहरुको समन्वयमा संघ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमा सुविधासम्पन्न मिडिसीटी (स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, पार्क) निर्माणमा सहकार्य गरिने नीति कार्यक्रम सार्वजनिक भएको छ ।

त्यस्तै ‘एक सामुदायिक वन, एक वन उद्यान, एक पानी पोखरी’ अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवा पुग्ने काम गरिने र सडक, नदी, किनारा, सार्वजनिक स्थान र प्रत्येक निजी घरधनीले वार्षिकरुपमा कम्तीमा एक विरुवा रोपण कार्यलाई प्रवद्र्धन गर्दै लैजाने नीति पनि लयाइएको छ । नगरको फोहरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्था गर्न पहल गरिनेछ । अस्थायी ल्याण्डफिल साइडलाई थप व्यवस्थित गरिने पनि नगर प्रमुख खड्काले बताए ।