स्वास्थ्य बीमा : ७ हजार १ सय २२ जनाले सेवा लिए

दाङ, २ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ महिनाको अवधिमा ७ हजार १ सय २२ जनाले स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिएका छन् । २०७८ साउन ३ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म यो संख्यामा नागरिकले सेवा लिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रममा प्रतिष्ठानका स्वास्थ्य बीमा सहजकर्ता दुर्गा श्रेष्ठले प्रतिष्ठानमार्फत यस्तो संख्यामा नागरिकहरुले स्वास्थ्य बीमामार्फत सेवा लिएको बताइन् ।

प्रतिष्ठानले बीमामार्फत नागरिकहरुलाई सेवा दिएवापत बीमा बोर्डबाट १ करोड ३० लाख २९ हजार ७१ रुपैयाँ पाउन बाँकी रहेको बताइन् । बोर्डबाट समयमा रकम नआउँदा प्रतिष्ठानलाई समस्या भएको उनको भनाइ छ । रकमका लागि पटक–पटक माग गर्दा समेत रकम आउन नसकेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय स्वास्थ्य बीमामार्फत सेवा लिने नागरिकहरुको संख्या वृद्धि हुँदै गएको छ ।

श्रेष्ठका अनुसार २०७४ मंसिर १ गतेबाट सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रोल्पाबाट रिफर भई आएकालाई सेवा दिँदै प्रक्रिया अघि बढाए पनि दाङमा २०७७ माघ ३० गतेदेखि पूर्णरुपमा लागू भएयता २०७७ फागुन १ गतेबाट प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रम सेवा शुरु गरेको थियो । प्रतिष्ठानमा २०७७ फागुन १ गतेबाट दिँदै आएको उनले बताइन् । प्रणालीमा सेवा दिने काम भने २०७८ मंसिरबाट भएको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार २०७७ को फागुनमा ४० जना, चैतमा ५० जना, बैशाखमा ९० जना, जेठमा १ सय जना र असारमा ९५ जनाले स्वास्थ्य बीमामार्फत प्रतिष्ठानबाट सेवा लिएका थिए ।

२०७८ को साउनमा १ सय ३० जना, भदौमा २ सय २० जना, असोजमा ३ सय १६ जना, कार्तिकमा ३ सय ५५ जना, मंसिरमा ४ सय ६ जना, पुसमा ५ सय ५४ जना, माघमा ४ सय ८ जना, फागुनमा १ हजार ३९ जना र चैतमा १ हजार ५१ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् । २०७९ बैशाखमा ७ सय ५८ तथा जेठ महिनामा १ हजार ३ सय ५० जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका उनले जानकारी दिइन् ।

स्वास्थ्य बीमाप्रति आम नागरिकको चासो बिस्तारै बढ्दै गए पनि यसबाट लिने सेवाका बारेमा अझै सेवाग्राही सचेत हुन नसक्दा व्याहारिक कठिनाई रहेको पाइएको छ । उपचारका लागि प्रतिष्ठान पुग्ने बिरामीले स्वास्थ्य बीमाको बारेमा स्पष्टरुपमा नबुझिदिँदा अनेकन समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले स्वास्थ्य बीमा कार्यक्रम राम्रो कार्यक्रम भए पनि यसका बारेमा नागरिककलाई बुझाउन नसक्दा समस्या भएको बताए ।

‘स्वास्थ्य बीमाका वारेमा नागरिकहरुलाई स्पष्ट जानकारी दिन आवश्यक छ’, उपकुलपति लामिछानेले भने । नागरिकलाई सेवा दिएवापत प्रतिष्ठानले पाउनुपर्ने रकम समयमा नआउँदा समस्या भोग्नुपरेको उनले बताए । ‘सेवा दिएवापत पाउनु पर्ने रकम समयमा नै पाउनुपर्दछ’, उपकुलपति लामिछानेले भने । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कँडेलले स्वास्थ्य बीमा प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।

प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. वसन्त लामिछानेले बीमाको महत्व बुझाउन आवश्यक रहेको बताए । स्वास्थ्य बीमाको दुरुपयोग हुन नदिनतर्फ सचेत हुनुपर्ने उनको भनाइ रहेको छ । उनले जिल्लामा जेठ १ गतेसम्म २२ हजार ५ सय जनाले स्वास्थ्य बीमा गराएको समेत जानकारी दिए । प्रतिष्ठान स्वास्थ्य बीमा शाखामा कार्यरत कम्प्युटर असिस्टेन्ट यज्ञबहादुर पुनले पनि काममा दबाव बढ्दो क्रममा रहेकाले सेवाग्राहीले सहज सेवा पाउन कठिन भएको बताए ।

आगामी दिनमा सेवा सुलभ गराउन सबै निकायबाट भूमिका खेल्न आग्रह गर्दै नेपाल सरकारले दिने सेवामा सहज बनाउन सके सेवाग्राहीलाई सेवा पाउन कठिन नहुने बताए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले गरेका थिए ।