नेपाल विद्यार्थी संघ संघर्ष समितिले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय एवं सेवा आयोगको कार्यालयमा विभिन्न माग राख्दै तालाबन्दी गरेको करीब दुई महिनापछि फेरि आयुर्वेद केन्द्रीय विद्यापीठ बेलझुण्डीमा बिएएमएस आठौं व्याचमा अध्ययन गरिरहेका विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
नेविसंघले लगाएको तालाबन्दीका विषयमा विभिन्न शैक्षिक माग एवं पदाधिकारी भागवण्डासमेत उल्लेख भएका छन् भने बिएएमएस क्याम्पसमा तालाबन्दी गर्नुको कारण त्यहाँ अध्ययनरत विद्यार्थीहरुको शैक्षिक भविष्यसँग जोडिएको छ ।
दुवै स्थानमा लगाइएका तालाबन्दीका सन्दर्भमा जारी विज्ञप्तिमा लिखित तथा मौखिकरुपमा ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागका सन्दर्भमा विश्वविद्यालय पदाधिकारी एवं प्रशासनले कुनै सुनुवाई नगरेको उल्लेख गरिएको छ । साथै आफ्ना माग पूरा गराउने अन्तिम शस्त्रका रुपमा तालाबन्दीलाई उपयोग गरिएको छ । यहाँसम्म कि आफ्नै सरकार भएको अवस्थामा पनि नेपाल विद्यार्थी संघका नाममा तालाबन्दी गरिनुलाई अर्को रहस्यका रुपमा पनि हेरिएको छ ।
बेलझुण्डी विश्वविद्यालयमा तालाबन्दी नयाँ अभ्यास भने होइन, अघिल्लो कार्यकालमा पनि कुनै पनि महिना सायद तालाबन्दी नभएका महिना थिएनन् । साना–साना समस्या पूरा गर्नका लागि पनि च्याउ उम्रेजस्तै कर्मचारी÷प्राध्यापक संघसंगठनका नाममा तालाबन्दीहरु हुन थाले । बेलझुण्डी संस्कृत विश्वविद्यालयको नाम नै तालझुण्डीका रुपमा परिचित हुन थाल्यो ।
तालाबन्दी भएपछि मात्रै साना–साना कुराहरुलाई पनि विश्वविद्यालय पदाधिकारीहरुले सम्बोधन गर्ने अभ्यास बस्न थाल्यो । तालाबन्दी अघि कुनै पनि माग सुनुवाई वार्ता र सम्वादबाट भएनन् । यो क्रम बढिरह्यो । अन्ततः उच्च अदालत तुलसीपुरले कुनै पनि कर्मचारी संघसंगठनका नाममा तालाबन्दी गर्न नमिल्ने फैसला पनि ग¥यो ।
तालाबन्दी करीब ५ बर्षसम्म भएन । तर फेरि विश्वविद्यालयमा सेवा आयोगका विरुद्ध, पदाधिकारीका विरुद्ध र क्याम्पस प्रशासनका विरुद्ध तालाबन्दी सुरु भएको छ । तर यो विषयमा विश्वविद्यालय सम्वद्ध पदाधिकारी तथा नेपाल सरकारसमेत कत्ति पनि गम्भीर देखिएको छैन ।
शैक्षिक क्षेत्रहरु क्रमशः धरासायी बन्दै गएका छन् । यही कारण हाम्रो शैक्षिक जनशक्ति बर्षेनी विदेश पलायन हुने अवस्थामा दिनानुदिन बृद्धि भइरहेको छ । तथ्यांक अनुसार एक बर्षमा कम्तीमा पनि ७२ हजार विद्यार्थीहरु विभिन्न शिक्षा हासिल गर्नका लागि विदेश पलायन हुने गरेका छन् । नेपालमा अध्ययन गर्ने त १२ कक्षासम्म मात्रै हो भन्ने आभास तल्लो तहका विद्यार्थीहरुलाई पर्न थालेको छ ।
इन्जिनियरिङ शिक्षाका लागि यहाँ पर्याप्त कोटा छैन, चिकित्सा शिक्षामा पनि अवस्था यस्तै छ । यसमा विश्वविद्यालय पदाधिकारी स्वयं राजनीतिक भागवण्डामा लाग्ने र आफ्नालाई पक्षपोषण गर्ने खेलमा लागिरहे अवस्था कस्तो होला ? यो विषयमा विश्वविद्यालय पदाधिकारीहरु नितान्त गम्भीर हुनुपर्ने अवस्था छ । त्यसमा पनि नेपाल संस्कृत विश्वविद्यालय थप गम्भीर हुनपर्दछ ।
विश्वविद्यालय नै नरहे पदाधिकारी रहन सक्दैनन्, कर्मचारी रहन सक्दैनन् भन्ने कुरालाई पदाधिकारीहरुले गम्भीरताका साथ लिन आवश्यक छ । हरेक बर्ष विद्यार्थीहरु घटिरहनुको कारणका विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ । विश्वविद्यालयलाई राजनीतिक अखडा नबनाऔं । शैक्षिक उर्बरभूमि बनाउन सबै गम्भीर बनौं ।