दाङमा भूमे पर्वको तयारी पुरा, पाँच दिनसम्म कार्यक्रम गरि मनाइने

  •   
  •  

घोराही, ३१ जेठ । दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइने भएको छ । नेपाल मगर संघ दाङ शाखाले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजनामा असार १ गतेदेखि पाँच गतेसम्म मनाइन थालेको पर्वको बारेमा जानकारी दिएको हो ।

कोरोनाका कारण २ वर्ष यता मनाउन नपाइएको भूमे पर्व यसबर्ष भव्य कार्यक्रमको आयोजना गरेर मनाउन थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् । उनका अनुसार भोली बुधवार असार १ गते विहान साढे ११ बजेदेखि कार्यक्रमका लागि सहिद लखन थापा पार्कबाट ¥याली निकालिने भएको छ ।

भुमे पर्वको बुधवार दिउँसो १ बजेद नेपाल मगर संघको प्रांगणमा पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले बताए । उनका अनुसार पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष सितलाल पुनले खासगरी १८ मगरातहरुमा पुर्खादेखि मनाउदै आएको पर्व भएको जानकारी दिएका छन् ।पत्रकार भेटघाटमा नेपाल मगर संघ दाङका सचिव मुक्त बुढामगरले भूमे पर्वको अवसरमा रुकुम पूर्वमा विदा दिइएको भएपनि दाङमा विदा नदिइएको प्रति गुनासो गरेका छन् । उनले भुमे पर्वको समयमा बालबालिकाहरु विद्यालय जाने र उनीहरुलाई संस्कृतिको विषयमा जानकारी दिन समस्या हुने भएकाले सार्वजनिक विदाको समेत माग गरेका छन् ।

नेपाल मगर संघ दाङले भुमे पर्वको अवसरमा असार १ गते भूमे नाच प्रतियोगिताको आयोजना गरेको छ । चार समुहमा बिभाजन गरेर आयोजना गरिने भएको छ । १४ वर्ष भन्दा कम उमेर समूहको एउटा, १५ देखि २५ वर्ष उमेरका समुह, २६ देखि ६० वर्ष उमेर समुहका र ६१ देखिमाथिकाको उमेर समूह बनाएर प्रतियोगिता गर्न थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् ।