उच्च अदालतको फेसला कार्यान्वयन गर्न माग

घोराही, ३० जेठ । फैजाने गौसिया मस्जिद समितिका अध्यक्षसहित बहुमत सदस्यले उच्च अदालत तुलसीपुरले गरेको अन्तिम आदेश कार्यान्वयन गर्न माग गरेका छन् ।

समितिले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फैजाने गौसिया मस्जिदका मौलाना जाहिर शेख साहवले आर्थिक अपचलन गर्नुका साथै संस्थालाई कमजोर बनाउने काम गरेको कारण देखाउँदै दिएको उजुरीमाथि उच्च अदालत तुलसीपुर दाङले २०७९ बैशाख २३ गरेको फैसला कार्यान्वयन गर्न माग गरेका हुन ।

मस्जिदमा मौलाना हटाउने र राख्ने अधिकार समितिलाई भएपनि जवरजस्ती रुपमा बसेको समितिका अध्यक्ष असगर अलीले बताएका छन् । लामो समयदेखि मस्जिदमा आर्थिक अनियमिता गरेका कारण बहुमत सदस्यबाट गएको मंसिर १८ गते बसेको बैठकले मौलाना साहवलाई हटाउने निर्णय गरेपनि जवस्तरी रुपमा मौलाना बसेको उनले बताए ।

उनलाई हटाउने निर्णय कार्यान्वयनका लागि वडा कार्यालय, घोराही उपमहानगरपालिकाको न्यायीक समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन हुँदै उच्च अदालत तुलसीपुरसम्म पुग्दा पनि मौलानाले अटेरी गरेर मस्जिद छाड्न नमानेको भन्दै उनीहरुले मस्जिदलाई बचाई राख्न र आर्थिक हिसावकितावलाई पारदर्शी बनाउनका लागि उनलाई हटाउनुपर्ने माग गरेका छन् ।

घोराही १५ स्थित २०६५ मंसिर १२ गते औपचारिक रुपमा दर्ता भई समितिमार्फत काम गर्दै आएका मौलाना २०६५ देखि २०७८ सम्म काम गर्दा हरहिसाव नराखेको, अनियमितता गरेको लगायत कैफियत देखिएकाले न्यायीक समिति र उच्च अदालत दाङले पनि नवाज पढ्न बाहेक अरु कुनै पनि काममा सहभागी नगराउन दिएको आदेश अटेरी गरेकाले न्यायका लागि आम समुदायलाई गुहार्न बाध्य भएको अध्यक्ष अलीले बताएका छन् ।