दाङ,२३ जेठ। नेकपा एमालेका दाङका जिल्ला सदस्यसहित २७ जनाले सामुहिक राजिनामा घोषणा गरेका छन् ।
नेकपा एमाले घोराही नगरकमिटी सचिव इन्द्र बुढाथोकीसहित पार्टीका प्रदेश कमिटी सदस्य हेमराज बन्जाडे, धुर्वराज श्रेष्ठ ‘भारी’को उपस्थितिमा सोमवार भएको समीक्षा बैठकमा जिल्लाभरि पार्टीलाई जिताउन नसकेकाले पार्टीको जिल्ला नेतृत्वले राजिनामा दिनुपर्ने कुरा उठेको थियो ।
स्थानीय तहको निर्वाचन समिक्षाका क्रममा नेकपा एमाले दाङको पार्टी कार्यालय भरतपुरमा जम्मा भएका नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका घोराही–१५ का एमालेका इन्चार्ज, सह–इन्चार्ज, वडा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा गर्ने लिखित निर्णय गरेर पदबाट राजिनामा दिएका हुन ।
सामुहिक राजिनामा दिनेमा नेकपा एमालेका जिल्ला सदस्य तथा घोराही–१५ का इन्चार्ज दोर्ण पाण्डे, जिल्ला सदस्य तथा सह इन्चार्ज गणेश दाहाल, पार्टीका वडा अध्यक्ष राजकुमार अधिकारी, वडा सचिब पोमबहादुर बुढाथोकीसहित २७ जनाले स्थानिय तहको चुनाबमा पार्टीलाई जिताउन नसकेको भन्दै राजिनामा दिएका दिएका छन् ।
निर्बाचन क्षेत्र नं. २ को मुख्य बजार क्षेत्र घोराहीमा पार्टीका नेता, कार्यकर्ताले गरेको सामुहिक राजिनामाले जिल्ला तहको राजनीतिमा हलचल ल्याएको चर्चा छ ।