नेतृत्ववर्गको अकर्मण्यताका कारण उदाउँदै बालेन प्रवृत्ति

भूवन पोख्रेल
स्थानीय चुनावको जनादेश हेर्दा युवा पुस्तालाई रुचाएको देखिन्छ । अहिलेको स्थिति हेर्दा युवा गाजरण अत्यधिक बढेको पाइन्छ । लौरोको दुरुपयाग गरेनन् भने लौरो बोक्ने युवाले भ्रष्टाचार गर्नेलाई गोर्खे लौरी बजाउने छन् । नेपाली राजनीतिमा प्रवेश गरिररहेका युवा जोश, सौर्य, उमंग र साहसले मात्र पर्याप्त हुँदैन । विवेक, होस र युक्ति पनि चाहिन्छ, यी अंग्रेज पुस्ताको अनुभवबाट सिक्न सकिन्छ ।

स्थानीय तहको चुनावले नेपाली राजनीतिमा बहसको शीर्षक नै फेरिदियो । घटना र अवस्थाले मानिसलाई नियन्त्रण र निर्देशन गर्दछ । काठमाडौंको स्वतन्त्र उम्मेदवार बालेन साहले मधेस र तराईको सेतुको काम गरेको छ । स्वतन्त्र उम्मेदवारले भारी मतान्तरले विजय हासिल गरिरहेँदा पार्टीहरु अत्तालिइरहेका छन् । स्वतन्त्र उम्मेदवारले सबै पार्टीको टाउकोमा घन ठोकेका छन् । यसको असर र प्रभाव सन्निकट संघीय र प्रादेशिक चुनावमा पर्ने छ । पार्टीहरु स्वयम् स्खलित बन्न पुगेका छन् ।

बालेनले पाएको प्रत्येक मतले मतदातालाई ासत्वमा बाँध्न खोज्ने र आफ्नो झोला बोकाएर पछि लगाउन खोज्ने नेताहरुको प्रवृत्तिलाई ल्वाप्पा खुवाएको छ र नेतृत्ववर्गका गालामा दह्रो झापड हानिसकेको छ । हारजितको दलीय गणितभन्दा पनि यो चुनावमा सुनानमी ल्याएका छन्, काठमाडौं महानगरमा विजय हासिल गरेका बालेन साहले । उम्मेदवार मनोनयन अघि गीतसंगीतमा चाख राख्ने एउटा युवा जमात बाहेक कैयौँले बालेनको नाम सुनेका थिएनन् । उम्मेदवारी दिएपछि पनि युवाहरुको लहड भनेर कैयौँले सिरियस क्यान्डिडेटका रुपमा पत्याउन सकेका थिएनन् ।

काठमाडौंका आदिवासी र संस्कृतिका भण्डा उठाउँदैमा मतदाता आकर्षित हुँदैनन् भन्ने पनि देखिएको छ । यसले काठमाडौंको मतदाताको मनोविज्ञानका बारेमा अहिलेसम्मका कतिपय बुझाइ र मिथक तोडिँदै छन् । यद्यपि, बालेन एक्लो स्वतन्त्र उम्मेदवार होइनन् । धरानमा हर्कराज राइ, धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोज साह पनि चर्चामा छन् । यस्तै अन्य कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । तर यत्तिकै भरमा स्वतन्त्रको लहड आयो भन्न मिल्दैन ।

काठमाडौं जन्मेर यहीँ हुर्के–बढेका मधेसी युवा बालेन साहको नाम यस अघि सुनिएकै थिएन भने पनि हुन्छ । उनी एकाएक उदाएका छन् । दलीय घेराभन्दा निकै टाढा रहेका उनको यो उदयले राजनीतिक दलहरुका चुनावी गणितलाई नै चुनौती दिएको छ । बालेनको मत सकारात्मक भोट हो । यो भोट राजनीतिक पार्टीको विकल्प खोजिएको भोट हो । उनले पाएको मतमा कांग्रेस, कम्युनिस्टप्रतिको असन्तोषको अभिव्यक्ति छ । बालेन योग्य र सक्षम मेयर हुन् ।

पार्टीहरु तिमीहरुले सकेनौँ, हामी सक्छौँ भन्ने युवा जोश र जाँगर बोकेर उदाएका छन् । काठमाडौं उपत्यकामा बालेन प्रवृत्ति दलीय स्वार्थजस्तो स्वार्थगत प्रवृत्ति बोकेर उदाएको होइन । उनीजस्ता स्वतन्त्र उम्मेदवार अनेकौँ उदाए तर मतदाताको आकर्षण केन्द्र बालेन नै बन्न पुगे । मतदाता आखिर बालेनमा आएर ठोकिए । केही युवामा उनको ¥यापर व्यक्तित्वको असर पक्कै प¥यो होला तर यति मात्र पर्याप्त छैन । युवा बाहेक सिङ्गो महानगरको मत परेको छ र यो मत निश्चियपूर्ण पनि छ ।

बालेनले पाएको मतले काठमाडौं महानगर मात्र होइन देशैभर तहल्का मच्चाएको छ । विश्लेषकहरुको अनुमान अँध्यारोमा ढुङ्गा हानेजस्तो सावित भएको छ । नेता र दलहरुको अकर्मण्यताका कारण नेपालको राजनीति उकुसमुकुसको अवस्थामा रहेका बेला मुलुकलाई सही दिशामा डो¥याउने निकासको रुपमा मतदाताले बालेनलाई रुचाए । नेतृत्ववर्गको व्यवहार र काम गराइ नसुध्रिने हो भने आउने दिनहरुमा धेरै बालेनहरुको उदय हुनसक्छ भन्ने चेतावनी हो, अहिलेको परिणाम ।

चुनाव परिणामको समग्रतालाई हेर्दा प्रतिपक्षी एमालेको अवस्था पहिलेभन्दा निकै खस्केको छ । यस अघि पहिलो र फूर्तिला शक्तिका रुपमा रहेको एमाले अब झण्डै एक सय स्थान गुमाएर दोस्रोमा झरेको छ । स्थानीय चुनावमा यति विधि दलीयकरण आवश्यक छैन । यो नेता र दलहरुको प्रतिष्ठा मात्र हो । मतदाताको चाहना होइन । यो चुनाव कुनै राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा लडिएको पनि थिएन । एउटालाई सत्ता गठबन्धन जोगाउनु थियो । अर्कोलाई सत्ताबाट फालिएको रन्को थियो । त्यसैले नेताहरु अत्यन्त स्तरहीन गालीगलौजमा उत्रिए । राजनीतिक स्तरको एउटा भाषण पनि सुन्न पाइएन ।

यस पटकको स्थानीय चुनावमा मतपत्र नाङ्गला जत्रो ठूलो भयो । यसले धेरै संख्यामा मतहरु बदर भए । उम्मेदवार नै नभएका अनगिन्ति चुनाव चिह्न भएको मतपत्र छापियो । मतपत्र निर्वाचन आयोगको सजिलोको लागि होइन मतदाताका सजिलाका लागि हुनु पर्दछ । अहिलेको प्रविधिको युगमा यस्तो भद्दा मतपत्र बनाउनु हुँदैनथियो । वास्तवमा स्थानीय निर्वाचन पार्टीगत आग्रहमा लड्ने राजनीतिक अखडा होइन । यसकारण जनताले पार्टी हेरेनन् पात्र र प्रवृत्ति हेरे । जनहितको पक्षमा बुद्धिमत्तापूर्ण निर्णय गरे ।

यसलाई गम्भीर चेतावनीको अर्थमा नेताहरुले लिएर आफूलाई सुधार्ने कोशिस गरे भने उनीहरुको भविष्य सुरक्षित रहला नत्र यो त केवल एउटा सुरुवात हुने र आगामी निर्वाचनहरुमा मतदाताले देशव्यापी रुपमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गर्ने परिस्थिति र वातावरण पैदा नहोला भनी कसले ग्यारेण्टी गर्ने ? स्वतन्त्र हैसियतबाट काठमाडौं महानगरपालिकाको जननिर्वाचित मेयर बालेन साहलाई उम्मेदवारी दर्ता नगरुञ्जेल उनको पेसागत समुदायमा बाहेक राजनीतिक वृत्तमा प्रायः कसैले चिन्दैनथ्यो । आज बालेनको विजय स्वदेशका घरघरमा मात्र चर्चा नदिइ सात समुद्र पारिसम्म बालेनको चर्चा सुनिन्छ ।

पार्टी र नेताहरुको स्तरहीन कार्यशैली चरित्र र प्रवृत्तिका विरुद्ध जनताको विरोध, निराशा, आक्रोश र अविश्वासको एकमुष्ठ अभिव्यक्ति हुन्, बालेन । नेताहरु एकापसमा गाली–गलौज र दोषरोपणमा मग्न रहेका बेला बालेन महानगरको सुधार, विकास, सेवा, सुविधाका योजना र लक्ष्य सुनाइरहेका हुन्थे । उनीहरुको औचित्य उपयोगिता र सान्दर्भिकता माथि जनताको गम्भीर प्रश्नका प्रतीक बनेर उदाए बालेन । त्इसैले उनको विजय राजनीतिक पार्टीहरुको पराजय हो । बालेन मात्र होइन तीनवटै उपमहानगरपालिका धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोजकुमार साह, धरानमा हर्क साम्पाङ पार्टी र नेताहरुका लागि जनताको चेतावनी र चुनौतीका लोकप्रिय प्रतीक हुन् ।

जम्मा ३५ हजार २२१ विभिन्न पदका जनप्रतिनिधिका लागि यस निर्वाचनमा देशभरि विभिन्न पदमा जम्मा डेढ लाख उम्मेदवारमध्े १२ हजार ७८९ स्वतन्त्र उम्मेदवार छन् । हालसम्म करिब १० जना मेयर वा अध्इक्ष निर्वाचित भइसकेका छन् । लोकतन्त्र र विधिको शासनले जरा हालेको लाक्षणिक प्रमाणका रुपमा स्थानीय निकायको निर्वाचनलाई लिने गरिन्छ । स्थानीय निकाय प्रशासनिक निकायभनदा जनताको दैनिक जीवनशैलीसँग जोडिएको सेवा र सुविधा प्रदायक लोकतान्त्रिक निकाय हुन् ।

राजनैतिक दलहरुले जनअभिमतलाई सम्बोधन गर्न नसक्दा वर्तमान परिस्थिति सिर्जना भएको हो । राजनीतिक व्यवस्था र संविधान उपर नै जनताको विद्रोहजन्य असन्तुष्टि र अविश्वास प्रकट भएको छ, स्थानीय निर्वाचनमा । पार्टीहरुले यस यथार्थ र चेतावनीलाई आत्मसात गरी जनअभिमतलाई सम्बोधन गर्न स्क्छ, राष्ट्रिय राजनीतिको मूलप्रवाह त्यही शक्तिको बाटोमा लाग्ने अवश्यमभावी छ ।

मतदाताको कमी र मतपत्रको अवैज्ञानिकता, अव्यावहारिकता र जटिलताका कारण पचासौँ हजार मत रद्द भए । बदर मतसंख्या यति धेरै हुनुको अर्थ हो निर्वाचन आयोगले जनताले सजिलो गरी बुझ्ने मतपत्र बनाउने योग्यता नदेखाउनु । प्रकारान्तरले मतपत्र यति धेरै रद्द हुनु भनेको निर्वाचन आयोगको व्यवस्थापन अयोग्यताको सांकेतिक प्रमाण हो । मतपत्र रद्द भएको समस्यामा झन खेदजनक पक्ष, सरकारलाई वा कुनै पनि पार्टी निर्वाचन आयोग वा नेताहरु कसैलाई चिन्ताको विषय भएको नदेखिनु हो ।

पुरानो ढर्राले राज्य व्यवस्था, लोकतन्त्र, सरकार, संवैधानिक अङ्ग केही पनि चल्न सक्दैन भन्ने जनताको अभिमन प्रकट भएको छ । काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङको उदयले भ्रष्ट दलका नेताहरुको मनोमानी प्रवृत्तिको विकल्पका रुपमा जनअभिमत प्रकट भएको प्रष्ट बुझिन्छ । दलका नेताहरुका उही पुरानो शैली, ढर्रा र चालढालबाट आजित भएका कारण बालेन प्रवृत्ति मौलाउँदै छ । बालेनको उदय हुनु भनेको दलगत विकृति र भ्रष्टीकरण विरुद्ध नेपाली युवा पुस्ताको आवाज हो । राजनीतिमा पुस्तान्तरण खोजिएको सन्देश बालेनको जितले देखायो ।

नेपाली राजनीतिमा ७÷७५ वर्षको उमेरका वृद्ध नेताहरुले कुर्सीमोह त्याग गर्न नसक्ने परिस्थिति दलका नेतृत्ववर्गमा देखियो तर जनताको अभिमत अब वृद्ध होइन युवा जोश र उर्जाशील व्यक्तित्वमा गएर ठोकियो । एकपटक प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका दलका तिनै शीर्ष व्यक्ति बारम्बार प्रम र पार्टी अध्यक्षमा दोहोरिरहनु उनीहरुको खुवि वा क्षमताका कारणभन्दा पद लोलुपताका कारण हो । बारम्बार उही व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष भइ मुलुकको राजनीतिमा छाइरहँदा जनता आजित भइ दलगत रुपमा उठाइएका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको छनोट गर्न वाध्य भएका हुन् ।

काठमाडौंका मतदाता अलि बढी सचेत हुन्छ र त स्वच्छ रुपमा जनअभिमत प्रकट भयो । हाम्रो दलीय पद्धतिमा केही त पक्कै गडबडी छ नभए युवा पुस्तालाई राजनीतिमा बुढो पुस्ताले पद हस्तान्तरण गर्न किन चाहन्न । कांग्रेसमा देउवा, एमालेमा केपी ओली, माओवादीमा प्रचण्डले मात्र पार्टी सञ्चालन गरिरहँदा युवा पुस्ताको काँधमा कहिले जिम्मेवारी आउने हो ? गगन थापा, घनश्याम भुसाल, विश्वप्रकाशलगायतका युवा नेतृत्व मुलुकले कहिले पाउने हो ?

नेतृत्ववर्गको भ्रष्टीकरणका कारण जनता आजित बन्न पुगेका छन् । कर्मचारीदखि वडा सदस्यसम्मले तलवभत्ता पाउँछन्, फेरि भ्रष्टाचार किन ? हो, दलबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । दल हाँक्न चुनाव लड्न पैसा चाहिन्छ, त्यो पैसाको स्रोत, आय–व्यय जान्ने अधिकार जनतालाई हुन्छ । दल भनेको पञ्चायतकालीन दरबार होइन, जो अपारदर्शी र रहस्यमयी रहिरहोस् । बहुदल र गणतन्त्र आएको यतिका वर्षमा दलहरुले कार्यकर्ता र मतदातालाई मिहिनेत गर्न सिकाउनुको साटो अवैध पैसा र भोज भेतरको लत लगाएर चुनाव जितिरहेका छन् ।

त्यो विकृति र दुव्र्यसनी कसरी हटाउने जनतासँग कसरी पारदर्शी हुने नेतृत्ववर्गसँग जवाफ छैन । यसैगरी चुनावमा टिकट बाँड्दा गुटतन्त्रको कारण विगत पाँच वर्षसम्म चुनाव जिति राम्रो काम गरेका वडाध्यक्षलाई समेत टिकट नदिई पैसा र पहुँचका भरमा नामै नसुनेकालाई मेयर उम्मेदवार बनाउने दलगत झोले परम्परा मौलायो । कांग्रेस, एमाले, माओवादी आदि शीर्ष दलले सीमान्तकृतलाई संवधानमा अधिकार, पहिचान त दिएनन् नै आम जनतालाई सुशासन दिनुको सट्टा बेथिति र भ्रष्टाचार पनि दिए । यसको विकल्पमा काठमाडौंका मतदाताले बालेन प्रवृत्ति रुचाए । राजनीतिक दलमा युवा पुस्ता नभएका पक्कै होइनन्, छन् । ती युवाका आवाजलाई पुरानो पुस्ताले हुँकार गर्न दिँदैन ।

पुराना नेताका दलगत भारले युवा पुस्ता किचिएका छन् । अधवैसे वा बूढो नहुँदासम्म ती युवाहरुले पार्टीपंक्तिमा सिढी उक्लने अवसर नै पाउँदैनन् । आफ्नो पार्टीपंक्तिलाई चुनौती दिएर फाष्ट ट्रयाकबाट माथि उक्लने आँट मेधा, क्षमता वा महत्वाकांक्षा पनि युवा पुस्तामा हुनु पर्छ । दलहरुको प्रवृत्तिका कारण चरम निराशाका कारण र वितृष्णाको परिणाम अवसरको खोजीमा निस्केका युवा जो दलका झोले कर्यकर्ता बन्न चाहन्न त्इो युवाको झुण्ड बालेनतर्फ आकर्षित बन्न पुगेको छ ।

आफ्नो देशको भविष्य आफ्नो क्षमता, शिक्षा र मेधाले निर्माण गर्न सक्नु पर्छ भन्ने युवा सोच हो, बालेन । यो युवावर्ग जो आफैमा सक्षम, योग्य छ त्यसले नेपाली राजनीतिमा अवसर पाएको छैन, त्यसले गर्दा बालेनको उदय भएको हो । नेपाली युवावर्ग जो शिक्षित, सचेत, प्रविधियुक्त अनुशासित छन्, तिनीहरुको सामूहिक आवाज हुन् बालेन ।

मधेसी मुलका युवा बालेनलाई राजधानीका पहाडे बहुल मतदाताले जिताएकाले के पहिचानको राजनीति नेपालमा सिद्दियो त ? केही हदसम्म यो घटनाले नेपालमा नयाँ नेपालको भलक त होइन भन्न सकिन्छ । तथापि, बालेनको बारेमै अहिल्यै राम्रै भविष्यवाणि गर्न सकिँदैन । उनी बन्दै गरेका व्यक्ति हुन् । काठमाडौंका लागि उनले राम्रो व्यवस्थापन गर्लान् वा नगर्लान् भविष्यले बताउला । अहिले स्थानीय तहमा दलगत विभाजनभन्दा विकास निर्माणमा सामूहिक प्रतिबद्धताको खाचो पर्दछ । काठमाडौं सभ्य, भव्य बनाउन बालेन एउटाको प्रयासले मात्र सम्भव हुँदैन । बालेनको होस्टेमा स्थानीय जनताको हैसे आवश्यक छ ।