तुलसीपुरमा निर्वाचन समीक्षा
गोरक्ष समाचारदाता
तुलसीपुर, १४ जेठ । भर्खरै सम्पन्न निर्वाचनका सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख पदका प्रत्यासी तथा कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी र नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनमा आवद्ध सञ्चारकर्मीहरुबीच समीक्षात्मक अन्तक्र्रिया शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा नगर प्रमुखका प्रत्यासी गहेन्द्र गिरीले चुनावमा आफूले एक्लै लडेकोजस्तो तीतो अनुभूति भएको गुनासो गरे ।
‘हामी पार्टी सिस्टममा चुनाव लडेका थियौं, तर निर्वाचनमा गठबन्धनलगायत आफ्नै पार्टीभित्र पनि आन्तरिक परिचालन व्यापक बन्न नसक्दा गठबन्धनका उम्मेदवारले पराजय व्यहोर्नुप¥यो’, नेता गिरीले भने– ‘मलाई पनि संस्था होइन, एक्लै चुनाव लडेको अनुभूति भएको छ ।’ केन्द्रमा पाँच दलबीच भएको गठबन्धनको औचित्य तल्लो तहसम्मका कार्यकर्ताहरुले सबै पार्टीमा आत्मसात् गर्न नसकेको पनि समीक्षा कार्यक्रममा औल्याइयो । पार्टीमा आवद्ध जिम्मेवार नेता कार्यकर्ताहरुले नै गठबन्धन गर्नुपरेको औचित्य तुलसीपुरमा बुझ्न नसक्दा उम्मेदवारहरु एक्लै चुनाव लडेकोजस्तो अनुभूति नगर प्रमुखलाई मात्र भएन, सबै वडाध्यक्ष तथा सदस्यहरुलाई पनि स्पष्ट अनुभूति भएको पनि छलफलमा बताइयो ।
समीक्षा कार्यक्रममा नेत गिरीले आफूले पार्टीमा देखिएको बिग्रहलाई बचाउन टिकट लिन बाध्य भएको बताए । ‘सिनियरले सम्हाल्ने अवस्था थिएन, जुनियरलाई उम्मेदवार बनाउँदा एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था देखिएन, त्यसैले पार्टीको निर्वाचन कमाण्डरले मलाई टिकट दिएर गोल हान्न पठाए’, गिरीले स्पष्ट पारे । समीक्षा कार्यक्रममा हरेक वडामा टिकट वितरणका सन्दर्भमा पनि संस्थागतरुपमा बलियोलाई भन्दा पनि व्यक्तिलाई स्थापित गर्ने गलत अभ्यास भएको पनि उल्लेख गरियो । यसले कांग्रेसलाई मात्र नभएर सिंगो मल्टिपार्टी लोकतन्त्रलाई नै खतरामा लैजान सक्ने पनि औँल्याइयो ।
निर्वाचनमा जितहारलाई आफूले स्वाभाविकरुपमा लिएको र पराजयबाट कत्ति पनि विचलित नहुन आम कांग्रेसजनहरु, नेता कार्यकर्ता, शुभेच्छुक संघसंस्था तथा भातृ संगठनमा आबद्ध सबैलाई आग्रह गरे । गिरीले सम्पूर्ण मतदातालगायत निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिएका छन् । लोकतन्त्रलाई मतबुत बनाउन निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा जित–हार सामान्य प्रक्रिया रहेको पनि उनको अभिव्यक्ति थियो ।
निर्वाचन मर्यादित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन भूमिका खेल्ने प्रहरी प्रशासन, निर्वाचनमा खटिएका कर्मचारी, मतदान अधिकृत, पत्रकार तथा आम मतदातालाई लोकतान्त्रिक पद्धति अनुशरण गर्दै शान्तिपूर्णरुपमा निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै नेता गिरीले धन्यबाद ज्ञापन गरेका हुन् । ‘मेरो ब्यक्तिगत हार–जित होइन,’ नेता गिरीले भने– ‘यो हार गेहेन्द्र गिरी एक्लैको होइन, समग्र पार्टी र गठबन्धनकै हार हो ।’
नेता गिरीले पत्रकारलाई स्थानीय सरकारका क्रियाकलापप्रति चनाखो भएर राम्रो कामको प्रशंसा र गलत कामको भण्डाफोर गर्नतर्फ लाग्न आग्रह गरे । छलफलमा नेकपा माओवादी केन्द्रले बैज्ञानिक घात गरेको र नेपाली कांग्रेसकै नेताहरुको वडामा कांग्रेस पराजित हुनुपर्दा दुःख लागेको नेता गिरीले बताएका थिए । ‘मलाई यो पार्टीको होइन र गेहेन्द्र गिरीको मात्रै चुनाब हो कि, भन्ने जस्तो भान भयो,’ नेता गिरीले भने– ‘यस्तै अवस्था रह्यो भने आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारले निर्वाचन कसरी फेस गर्न सक्छन् ?’
पार्टीका केही जिम्मेवार नेताहरु इमानदारीपूर्वक उम्मेदवारको पक्षमा माहोल बनाउन ध्यान केन्द्रित गर्न नसकेको जस्ता कारणले निर्वाचनमा पराजय भोग्नुपरेको कुरा सहभागीहरुले उठाएका थिए । उनले पार्टी नेतृत्वमा रहेकाहरुले निर्वाचनमा सबै तह र तप्कालाई परिचालन गर्ने हैसियत राख्नुपर्ने पनि बताएका थिए । निर्वाचन परिणाम आउनुभन्दा केही दिन पहिलेदेखि नै नेता गिरी आँखाको समस्याका कारण उपचारपछि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य लाभ गरिरहेका थिए । नेता गिरीले नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित टीकाराम खड्कालगायतका केही पदाधिकारीलाई फोनमार्फत बधाइ र धन्यबाद ज्ञापन गरेको भए पनि फेरि एकपटक कार्यकक्षमै पुगेर बधाइ तथा धन्यबाद दिने जानकारी दिए ।