तुलसीपुरमा एमालेका खडका र चौधरी विजयी

तुलसीपुर, १२ जेठ । सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

खड्का एमाले पूर्व जिल्ला अध्यक्ष हुन् । उनी किसान नेताका रूपमा परिचित छन् । लामो समयदेखि राजनीतिमा क्रियाशील रही पहिलोपटक निर्वाचनमा होमिने अवसर पाएका थिए । कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि प्रमुखमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । ०७४ मा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी छिन् ।

चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् । चौधरी तुलसीपुरमा दिदीघर संस्था सञ्चालन गरी असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छिन् । उनी पहिलोपटक निर्वाचनमा होमिएर निर्वाचित भएकी हुन् । पराजित राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । निर्वाचनमा पराजय भोगेपछि उनले पार्टीको पदबाट राजीनामा समेत दिएका छन् ।

एमालेले तुलसीपुरमा २, ३, ६, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् । तुलसीपुरको मतपरिणाम आएसँगै जिल्लाको निर्वाचन सकिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको छ । कांग्रेसले लमही नगरपालिकाका साथै बबई, दंगीशरण, शान्तिनगर र राजपुर गाउँपालिका प्रमुख र उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले बंगलाचुली र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । २०७४ मा एमालेले दुई उपमहानगरपालिका र एक नगरपालिका र चार गाउँपालिका जितेको थियो । कांग्रेसले तीन गाउँपालिका जितेको थियो भने माओवादी केन्द्रले एक गाउँपालिका मात्रै जितेको थियो ।

अहिले एमालेले चार पालिका गुमाएको छ भने कांग्रेस र माओवादी केन्द्रले दुई÷दुई पालिका बढाएका छन् । मतपरिणाम सावर्जनिक भएसँगै एमालेले तुलसीपुरमा विजय ¥यालीसमेत गरेको छ । ¥यालीमा नेकपा एमाले महासचिव शंकर पोख्रेललगायतका नेताहरुको सहभागिता थियो । मतदान स्थलबाट शुरु भएको ¥याली बजार परिक्रमा गरेर विजयी सभामा परिणत भएको थियो । विजयी सभालाई पार्टी महासचिव पोख्रेल, निर्वाचित नगर प्रमुख खड्कालगायतले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबीच नगर प्रमुखमा निर्वाचित टीकाराम खड्काले आफ्नो जितलाई जनताको जितको रूपमा लिएको बताए । ‘मलाई जनताले गरेको जुन विश्वास छ, त्यसमा म कदापि कमी हुन दिने छैन,’ खड्काले भने– ‘अब म सबै नगरवासीको हकहितका लागि समर्पित भएर काम गर्नेछु ।’ आफू सुकुम्बासी भएको हुँदा पहिलो काम सुकुम्बासीहरूको लगत संकलन गरी त्यो विवरणअनुसार जग्गाधनी पूर्जा वितरणका लागि प्रयास गर्ने बताए । खड्का एमालेको सरकार छँदा सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष भएर पनि काम गरेका थिए ।
‘म तीन महिना अध्यक्ष भएर काम गरेको छु,’ उनले भने– ‘अब त्यसलाई सार्थकता दिने चाहना छ ।’ सबै पार्टी र संघ संगठनसँग सुमधुर सम्बन्ध राख्दै सहकार्य गरेर आफू अगाडि बढ्ने नगर प्रमुख खड्काले बताए । तुलसीपुरस्थित दाङको एकमात्र टरिगाउँ एयरपोर्टको स्तरोन्नतिको काम चुनौतीको रूपमा रहेको भन्दै त्यसका लागि पहल गर्ने खड्काले बताए । त्यस्तै खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सर्वसाधारण जनताको पहुँच पुग्ने गरी काम गर्ने उनले दृढता व्यक्त गरे। ‘म पनि विपन्न वर्गको मान्छे हो र मैले त्यो वर्गलाई राहत तथा लाभ पुग्ने गरी काम गर्नेछु,’ उनले भने– ‘समतामूलक समाज निर्माणका लागि र नगरबासीको सुख, शान्तिका लागि मेहनत गर्नेछु ।’
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नगर प्रमुख पदका प्रत्यासी गेहेन्द्र गिरीले निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलाई बधाई ज्ञापन गरेका छन् । उनले निर्वाचनमा अमूल्य मत दिई सहयोग गर्ने सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी, गठबन्धनमा आवद्ध सम्पूर्ण राजनीति दल, भातृ संगठन, निर्वाचनमा खटिने सम्पूर्ण निर्वाचन मण्डल, सुरक्षा निकाय, शुभेच्छुक, पत्रकार, बुद्धिजीवी, साथीभाइलगायत सम्पूर्णलाई धन्यवादसहित हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।