गोरक्ष समाचारदाता
दाङ, ७ वैशाख । नेकपा एमाले महासचिव शंकर पोख्रेलले मुलुकको समृद्धि र विकासको लागि बलियो शक्ति आवश्यक भएको भन्दै त्यो शक्ति एमाले भएको बताएका छन् ।
‘देशको समृद्धि गठबन्धनबाट सम्भव छैन’, नेकपा एमाले दाङले स्थानीय तहका निर्वाचन क्षेत्र न २ र १ अन्तर्गत् पालिकाबाट निर्वाचित जनप्रतिनिधिको सम्मान तथा सहिद नेत्रलाल अभागीको स्मृति सभालाई शुक्रवार सम्बोधन गर्दै महासचिव पोख्रेलले भने, ‘देशको समृद्धि र विकासमा नेकपा एमालेको विकल्प छैन, त्यो जनताले बुझेका छन् ।’
महासचिव पोख्रेलले गठबन्धनले नेकपा एमालेलाई पत्तासाप गर्ने भनेर जुन सपना र योजना बुनेको भए पनि त्यसलाई एमालेले भत्काउन सफल भएको बताए । ‘चुनावमा एमालेलाई पत्तासाप गर्ने भनेर गठबन्धनले राज्यशक्तिको व्यापक दुरूप्रयोग नै गरेको थियो’, महासचिव पोख्रेलले भने, ‘तर पार्टीले लिएका नीति र मतदाताको मायाले त्यो रोक्न एमाले सफल भएको छ ।’
महासचिव पोख्रेलले नेपालको राजनीति दुई ध्रुवमा धु्रविकृत भएको समेत बताए । ‘एकातिर पाँचदल र अर्कोतिर नेकपा एमाले छ, यसले अबको राजनीति दुई ध्रुवमा गएको छ’, महासचिव पोख्रेलले भने, ‘जुन कुरा हामीले चुनाव अघिदेखि नै उठाउँदै आएका थियौँ, त्यो सफलतातिर अघि बढेको छ ।’ उनले कांग्रेसको सफलता कांग्रेसको मात्र नभएर पाँच दलको भएको समेत दाबी गरे ।
‘अंकगणितमा जुन कांग्रेसले प्राप्त गरेको छ त्यो कांग्रेसको मात्र होइन’, महासचिव पोख्रेलले भने, ‘त्यो परिमाण पाँच दलको हो, यसमा कांग्रेसले आफ्नो मात्र सफलता भन्न मिल्दैन ।’ महासचिव पोख्रेलले पाँच गठबन्धन स्वार्थहरूको झुण्ड भएको आरोप समेत लगाए । ‘पाँचदलबीच न कुनै योजना र न लक्ष्य छ, यो स्वार्थहरूको झुण्ड हो, यसले देशलाई फाइदा गर्दैन’, महासचिव पोख्रेलले भने ।
महासचिव पोख्रेलले चुनावमा एमालेले मत बढाएको समेत बताए । प्राविधिक रूपमा केही ठाउँमा हारेका छौँ तर जनताको मत भने बढाएका छौँ’, महासचिव पोख्रेलले भने, ‘अबको ६ महिनापछि हुने निर्वाचनमा एमाले बलियो शक्तिको रूपमा आउने छ ।’ महासचिव पोख्रेलले यो चुनावमा ३० प्रतिशत मत प्राप्त गरेको समेत बताए । गठबन्धनको सरकार बनेसँगै देशको अर्थतन्त्र संकटमा परेको समेत बताए । ‘देशको अर्थतन्त्र शंकटमा छ, व्यापार घाट ओरालो छ, पुँजीगत बजेट खर्च हुन सकेको छैन’, महासचिव पोख्रेलले भने, ‘गठबन्धनले देशलाई संकटको दिशातिर उन्मुख गरेको छ ।’
लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन र जनता नै न्यायाधीश भएकाले जनताले दिने फैसला सबैले स्वीकार गरेर जानु पर्ने बताए । ‘चुनावमा जनता नै न्यायाधीश र उनीहरूले दिएको फैसला नै सर्वोपरि हुन्छ’, महासचिव पोख्रेलले भने, ‘जनताले दिएको फैसलालाई मार्गनिर्देशनको रूपमा लिएर एमाले जनताको माझमा जाने र विश्राम लिने छुट एमालेलाई छैन ।’ महासचिव पोख्रेलले जनप्रतिनिधि खुल्ला किताब भएको भन्दै पारदर्शी भएर काम गर्न निर्देशन समेत दिए ।
‘जनप्रतिनिधि खुल्ला किताव हुन् । तपाईहरू अब जनताको साझा प्रतिनिधि हो । जनताको माझमा जाँदा खुल्ला किताब बनेर जानुस् । तपाईँहरूका बोली व्यवहार पनि पारदर्शी र जनमुखी हुनुपर्छ, त्यो भएपछि तपाईँहरू सफल जनप्रतिनिधि रूपमा रहनुहुन्छ ।’ महासचिव पोख्रेलले गठबन्धनले चुनावमा राज्यशक्तिको व्यापक दुरूप्रयोग गरेको समेत आरोप लगाए । ‘यो चुनावमा सत्ताको दादागिरि यति धेरै भयो । मत विथोल्नेदेखि आपराधिक कार्य भएका छन्’ महासचिव पोख्रेलले भने, ‘त्यही पनि एमाले सतिसालझैँ उभिन सफल भएको छ ।’
महासचिव पोख्रेलले सहिद नेत्रलाल कम्युनिस्ट आन्दोलनका सतिसाल भएको सम्झना गरे । ‘कम्युनिस्ट आन्दोलनका लागि नेत्रलाल सतिसाल हुनुहुन्छ, उहाँ कहिल्यै पनि विचलित हुन भएन, उहाँको मार्गनिर्देशनमा नै एमाले छ । तपार्इँ हामीले उहाँको योगदानलाई पूरा गर्ने गरेर काम गर्नु पर्छ ।’
कार्यक्रममा घोराही उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित नेकपा एमालेका पोलिटव्युरो सदस्य नरुलाल चौधरीले जनमुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले हिजो पनि जनमुखी काम गर्न सफल भयौँ । त्यो जनताले अनुमोदन गर्नुभएको छ । त्यसको लागि सबै नगरबासीमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । अबको पाँच वर्षमा थप जनमुखी बन्दै सुशासन नगरको रूपमा विकास गर्ने गरेर काम गर्ने छौँ ।’
कार्यक्रममा घोराही नगर उपप्रमुख तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुमा डिसीले जनताको सेवा र यहाँको विकासलाई प्रभावकारी बनाएर समृद्ध नगर बनाउने प्रतिबद्धता गरिन् । नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. १ र २ भित्रका पालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई महासचिव पोख्रेलले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रम पूर्व घोराहीमा विजय ¥याली समेत गरिएको थियो । विजय ¥यालीले बजार परिक्रमा समेत गरेको थियो । निर्वाचन क्षेत्र नं.१ र २ मा एक उपमहानगरपालिका, एक नगरपालिका र ४ गाउँपालिका पर्छन् । तीमध्ये घोराहीको प्रमुख, उपप्रमुख र १३ वडा, राप्ती गाउँपालिकाको उपाध्यक्ष र चार वडा, गढवा गाउँपालिकाको २ वडा र राजपुर गाउँपालिकामा २ वडा नेकपा एमालेले जितेको छ । कार्यक्रमको सहजीकरण नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले गरेका थिए ।