मेरो खुशी : ग्रेडर अपरेटरको लाइसेन्समा पास हुँदा…

सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकका ट्रयाक खन्ने काममा भेटिने महिला पात्र हुन अनिता थारु । विगत एक वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत चौधरी एक्ली महिला ग्रेडर चालक समेत हुन् ।

१२ कक्षा अध्ययन सकेर घरमै बसेको समयमा आफन्तीको सहयोगमा बर्दियाबाट दाङ आएर ग्रेडर चलाउन सिकेकी अनिता अहिले जागिरेको रूपमा ग्रेडर चलाइरहेकी छन् । ग्रेडर चालकका रूपमा दाङ, बर्दिया र धनगढीसम्म पुगेकी आत्मविश्वासले गर्दा आपूm सफल भएको बताउँछिन् । पढाइका लागि बाहिर जान्छु भन्दा समेत धेरै पटक सोच्नुपर्ने समयमा मैले ग्रेडर चालक बन्छु भनेर रोजेको थिएँ तर घरबाट अनुमति थिएन । मेरै जिद्धीले गर्दा बर्दियाबाट दाङ आएर मैले आफन्तीको सहयोगमा ग्रेडर चलाउन सिकेको थिएँ ।

बर्दियाबाट दाङ आएर सुरुमा घोराही–मुर्कुटी सडक–खण्डमा काम गरेको थिएँ । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मिहिनेतले सफलता हासिल गर्दै गएको उनी बताउँछिन । घोराही–मुर्कुटी सडक–खण्डमा काम गर्दै गर्दा सिक्न एक वर्ष लाग्योे । एक वर्षको निरन्तर मिहिनेतपछि चलाउन सक्ने भइन् तर लाइसेन्स थिएन ।

लाइसेन्सका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा थियो । त्यही परीक्षामा उनी लाइसेन्सका लागि सहभागी भइन् । हेबी इक्विभमेन्टका लागि सहभागी १३ जनामध्ये अनिता एक्ली महिला थिइन् । ट्रायलमा उनले हेबी इक्विभमेन्टअन्तर्गत् कठिन मानिने ग्रेडर मेसिन स्टार्ट गरिन्, निर्धक्कसँग चलाइन् । परीक्षामा पास पनि भइन् ।

पहिलो पटक ट्रायल दिएर पास हुँदाको क्षण आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण भएको ग्रेडर चालक अनिता बताउँछिन् । ‘हेबी इक्विभमेन्टका रूपमा रहेको ग्रेडर मेसिन चलाउन सक्ने भएको थिएँ तर लाइसेन्स नहुँदा समस्या थियो’, उनले भनिन्, ‘२०७६ साल भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिएँ । उक्त ट्रायलमा पास हुँदाको क्षण मेरो जीवनको पहिलो खुसीको क्षण हो’, उनले भनिन् ।

बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–३ बगनाह निवासी अनिता हाल घोराही उपमहानगरपालिकामा गे्रडर मेसिन चालकका रूपमा कार्यरत छिन् । ‘अन्य उपकरणभन्दा यो मेसिन चलाउन निकै कठिन हुन्छ’, चालक चौधरी भन्छिन्, ‘तर आपूmभित्रको आत्सविश्वास र निरन्तरको मिहिनेतपछि मलाई सहज भएको छ ।’ उनी चार वर्षदेखि ग्रेडर मेसिनबाट बाटो खन्ने र सम्याउनेलगायतका निर्माणको काममा सक्रिय छिन् । यो अवधिमा दाङदेखि प्यूठान, बर्दिया र धनगढीसम्म पुगेर काम गरेको बताउँछिन् ।

अहिले घोराही उपमहानगरपालिकाको ग्रेडर अपरेटरका रूपमा कार्यरत अनिता यस अघि बर्दियाको गुलरिया नगरपालिकामा अस्थायी जागिरेका रूपममा काम गरेकी थिइन् । गत वर्ष असारदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा काम गर्न थालेको उनी बताउँछिन् । आफैले ग्रेडर चलाउन सिकेको ठाउँमा आएर ग्रेडर चालकका रूपमा काम गर्न पाउँदाको क्षण जीवनको अर्काे खुसीको क्षण भएको अनिता बताउँछिन् ।

‘बर्दियाबाट दाङ आएपछि सहायक अपरेटरका रूपमा काम गरेर हेबी इक्विभमेन्टका लागि लाइसेन्स निकालेको थिएँ’, उनले भनिन्, ‘लाइसेन्स निकालेपछि जागिरका क्रममा विभिन्न ठाउँमा पुगेँ तर सिकेकै ठाउँ घोराही उपमहानगरपालिकामा ग्रेडर अप्रेटरका रूपमा काम गर्न पाउँदा आपूmलाई गर्व लागेको छ ।’ निर्माणका क्षेत्रमा महिलाहरूलाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आपूm सन्तुष्ट रहेको उनी बताउँछिन् ।

‘निर्माणको क्षेत्रमा गर्ने काम गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ’, उनले भनिन््, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोज्ने हुन्थ्यो होला, पढ्न सकिएन, त्यसैले ग्रेडर अप्रेटर नै मेरा लागि ठिक छ ।’ उनी बगनाहको थारु परिवारका ४ सन्तानमध्ये एक्ली छोरी हुन् । उनका एक दाइ र दुई भाइहरू छन् । स्थानीय चुरे माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेकी उनले बाँके कोहलपुर स्थित बागेश्वरी उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरिन् तर उनले पढाइभन्दा कामलाई महत्व दिएर ग्रेडर मेसिन अपरेटर सिकेर चलाउँदै आएकी छिन् ।

‘सुरुमा मैले घोराही–मुर्कुटी सडक–खण्डमा ग्रेडर चलाएर काम सिकेको थिएँ’, उनी भन्छिन्, ‘मैले सुरुमा ग्रेडर चलाएको हेर्न कतिपय महिला र पुरुषहरू काम गर्ने ठाउँमा आएर हेर्नु हुन्थ्यो । केटी मान्छेले पनि यस्तो काम गर्न सक्ने रहेछन्, भन्नुहुन्थयो । सुरुमा परिवारबाट सहयोग नभए पनि अहिले पूर्ण सहयोग रहेको उनी बताउँछिन् ।

अनिता २०५४ साल मंसिर ७ गते बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ बगनाहमा बुबा बुद्धिराम चौधरी र आमा लौती चौधरीको कोखबाट जन्म लिएकी हुन् । ग्रेडर चालकका रूपमा रहेकी अनिता २०७७ सालमा बर्दियाको ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिकाबाट सम्मानित समेत भएकी छिन् ।

प्रस्तुती : लिलाधर वली