नारायणप्रसाद श्रेष्ठ
जीवन चुनौती र अवसरलाई प्रयोग गर्दै अघि बढ्ने सत्य हो, हारजितको खेल होइन । जीवनले अथाह उद्देश्य बोकेको हुन्छ । कहिले खुसी, कहिले दुःख यो प्रकृतिको नियम नै हो । तर पनि कुनै समय केही उद्देश्यले सार्थकता पाएको हुन्छ भने कुनै बेला अधमरो हुने गरी समयले परीक्षा लिन खोजिरहेको हुन्छ ।
यदि यस्तो परिस्थिति आयो भने धीरता मानवीय जीवनको महत्वपूर्ण आधार भएर देखापर्नु पर्ने हुन्छ । सधैँ खुसी हुन्छ भनी यदि कसैले सोच राख्दछ भने यसले उसलाई सधैँ चिन्तित पनि बनाइरहेको हुन्छ ।
त्यसैले समय र परिस्थिति अनुकूल आफूलाई परिचालन गर्नु तथा कहिले उकालो कहिले ओरालो झर्नु प्रकृतिको नियमभित्र बाँधिएको सत्य हो भनी जीवनलाई सदावहार खुसी राख्न मनभित्रको अनगिन्ति इच्छा र प्राप्तिप्रतिको धारणामा लचिलो बन्नु पर्छ । जीवन प्रयत्नको अर्को रुप हो भनी सकारात्मक चिन्तनका साथ प्रयत्नशील भइरहनु पर्छ । वैयक्तिक स्वार्थभन्दा सामूहिक चिन्तनभित्र निःस्वार्थ सेवा दिनु पर्छ ।
कुनै पनि चीज, वस्तु, स्वाभिमान, प्रतिष्ठा पाउनु छ भने सधैँ प्रयत्नशील भइरहनु पर्छ । त्यसको लागि त्याग र समर्पण अनिवार्य शर्त मानिन्छ । तर पनि मानिसको इच्छ र आकांक्षाभित्र लुकेको स्वार्थले प्राप्ति नै सबै हो भन्ने गरी क्षणिक लोभ र स्वार्थमा आफ्ना भावनाहरु छरपष्ट गरिरहेका हुन्छन् । आफूसँग भएको योग्यता र क्षमता गुमाइ अन्त्यहीन यात्रातर्फ दौडिरहेको पाइन्छ ।
आफूलाई अनिणर्यको बन्दी बनाइरहेको देखिन्छ । समयले के सन्देश दिन खोजेको छ ? त्यसतर्फ मानिसको ध्यान गएको पाइँदैन । आफूभित्रको सुवासलाई गुमाउँदै कृत्रिम सत्यतर्फ आकर्षित भइरहेको पाइन्छ । ‘उद्देश्य के लिनु उडि छुनू चन्द्र एक’ उद्देश्य राखी प्राप्तिको विषयको गम्भीरतालाई स्वीकारी अघि बढ्नु यो सापेक्षता हो । तर पनि प्राप्ति नै सबै हो भनी स्वार्थप्रधान अहंकारी बन्नु यो किमार्थ राम्रो पक्ष होइन ।
तसर्थ, स्वच्छ र पवित्र विचार प्रवाह गरी प्राप्तिलाई यो पनि एउटा उद्देश्यभित्र रहेको चिन्तन हो भन्ने बुझी मानिस फूलसरह बन्न सक्नु पर्छ । आफूभित्रको गुण र क्षमताबाट अरुलाई प्रभावित गरी बाँच र बचाऔँको उद्देश्यभित्र सकारात्मक चिन्तन गर्नु पर्छ । जसरी फूलको गुण र स्वभाव भनेको अरुलाई आफूतिर आकर्षित गर्नु हो त्यसरी नै मानवीय गुण र स्वभावले अरुको मन जिति आफू उदाहरण बन्न सक्नु पर्छ ।
म र मेरो जीवनको उद्देश्य भनेको अरुको सहयोग र सद्भाव हो । अरुको सन्तुष्टि नै मेरो जिम्मेवारी हो भनी आफूलाई प्रदर्शन गर्न सक्नु पर्छ । अनावश्यक कुरामा अल्झी केवल प्राप्तितर्फ मात्र ध्यान केन्द्रित गर्नु भनेको जीवनको उद्देश्य विपरीत आफूलाई असहाय बनाउनु हो । तसर्थ, आज राम्रो भोलि नराम्रो यो प्रकृतिले मानव जीवनलाई सचेतना वृद्धिको लागि दिने अवसर हो भन्ने बुझी अप्ठ्यारोलाई सप्ठेरोमा परिणत गर्न सक्नु मानवीय उद्देश्यको सही गन्तव्य हो । जीवनलाई हार र जितमा मात्र सीमित राख्ने होइन । अरुको सहयोगी बनाइ असत्यको निर्मुल गर्नु पनि हो ।
मनले चाहेको विषयवस्तुप्रतिको आकर्षण बढ्नु मानवीय गुण हो । जुन विषयवस्तु प्राप्तिभित्र मानवीय चाहना मुखरित हुन्छ, त्यही चाहना र उद्देश्य हरसमय प्रतिबिम्ब भइरहन्छ । तीर्खाएको व्यक्तिले पानीको थोपासँगै प्राप्ति गरेको तृप्ति जब मानवीय उद्देश्यभित्र चलायमान हुने परिस्थिति बन्दछ तब इच्छा र चाहनाले तृप्तिको रसस्वादन गर्ने अवस्था रहन्छ । जहाँ तृत्पि हुन्छ त्यहाँ आनन्द हुन्छ । जहाँ आनन्द हुन्छ त्यहाँ प्रेमभाव जाग्छ ।
जब तृप्ति भित्रको आनन्दले अरुप्रतिको भावना हेराइ र सोचमा प्रेमको भाव जागृत हुने अवस्था हुन्छ त्यहाँ मानव उद्देश्यले खोजेको सत्य भेटिन सक्छ । चैतन्यको आँसु तृप्तिको आँसु मानिन्छ । सत्कारमा तृप्ति, सेवाभावमा तृप्ति, भक्तिमा तृप्ति, कर्म र व्यवहारले ल्याउने परिवर्तनमा तृप्ति यी सबै मनका भोजन हुन् । जब मनले चाहेको भोजन प्राप्त हुन्छ तब मानव जीवनले चाहेको उद्देश्य प्राप्ति हुने अवस्था हुन्छ । तसर्थ, आत्मिक सत्यभित्र लुकेको मनले जान्न खोजेको प्रवृत्तिलाई विवेकशील बनी श्रवण गर्ने गराउने अवस्था सिर्जना गर्ने गराउनु पर्छ । तब त्यहाँ दायित्व र जिम्मेवारी बोध हुन्छ ।
मनभित्र लुकेको चिन्तन र वाह्य आवरणमा देखिने परिस्थितिबीच जब तालमेल हुन्छ तब जीवनले खोजेको उद्देश्य प्राप्ति हुन्छ । त्यसैले मानव जीवन आस्था र विश्वासको धरोहर हो । मेरो जीवन अरुको नासो हो । अरुको सेवा र सद्भाव मेरो जिम्मेवारी हो भनी प्रत्येकले आफूलाई पहिचान गराउनु परेको छ । यही नै जीवनले खोजेको सत्य पनि हो । आज हामी सत्य खोज्न धेरै भौँतारिरहेका छौँ ।
आवश्यकता भन्दा अनावश्यकतर्फ हाम्रो ध्यान केन्द्रित भइरहेको छ । स्वार्थ, अहंकार र घमण्डले परिपोषित विचार प्रवाह भइरहेको छ । शक्ति हत्याउने दाउँमा राम्रा, नराम्रा सबै कर्म भइरहेका छन् । एकले अर्कालाई हिलो छ्याप्ने काम समेत भएको छ । यदि यस्तो अवस्था झाँगिँदै जाने हो भने हाम्रो उद्देश्यले कहाँ गएर सत्यको गोरेटो भेटाउला ? तसर्थ, समय र परिस्थितिले ल्याउने परिवर्तनलाई आत्मसात गरी जीवनलाई विजयश्रीले शृंगारौँ । कर्म र व्यवहारमा शरलता ल्याऔँ ।
चेतनाले विवेकशील बनाउँछ । विवेकशील आत्माले चैतन्यको प्रादुर्भाव गराउँछ । जब चैतन्यरुपी मनको उद्देश्य अरुको सेवा र सत्कारमा परिचालन गर्ने अवसर हुन्छ त्यहाँ मनको भ्रान्ति सबै खत्तम हुन्छ । त्यसैले चैतन्यरुपी मनको इच्छा र आकांक्षालाई तृत्पिको रसस्वादन गर्दै चैतन्यस्वरुप आत्माको पहिचान गर्नु गराउनु पर्छ । सेवा र समर्पणमा आधारित मनको भावलाई जबर्जस्ती रोक्नु भनेको आफैमा विचलन पैदा गर्नु हो ।
त्यसैले सिंहाशन प्राप्त गर्दैमा मूर्ख साधू बन्न सक्दैन भन्ने यथार्थ बुझी सही गन्तव्य निर्धारण गर्नु पर्छ । पशु बोल्दैन तर सत्य र असत्य छुट्याउँछ । तर मानव जीवन विवेकशील भएर पनि उपलब्धिलाई स्वार्थतर्फ केन्द्रीकृत गरी मै खाउँ, मै लाउँ, मै मोज मजा गरुँ भनी दुःखको कारक आफै बनिरहेको छ । विचार र कर्मप्रधान बन्नु भन्दा मेरो स्वार्थ सर्वाेपरी भन्नेतर्फ मनिसको भागदौड भइरहेको छ ।
भविष्यलाई कुन गतिमा मुखरित गर्न सकिन्छ भनी विचार संप्रेषण गर्नु मानव जीवनको उद्देश्य हो तर स्वार्थ र अहंकार बढाइ वर्तमानलाई प्रयोग गर्न खोज्नु किमार्थ राम्रो मानिँदैन । अहिले मानवीय चाहनाभित्रको उद्देश्य गतिहीन अवस्थामा देखिँदै छ । केवल स्वार्थमा मानवीय विवेक केन्द्रीकृत भएको छ । यसबखत अरुको भलाइ सोच्नु आफैलाई मूर्ख बनाउनु हो भनी आफ्नो गुणात्मक क्षमता पनि दोषी बन्न पुगेको छ ।
त्यसैले जीवनको हरेक मोडमा आउने विविधतामा देखिएको विकृति र विसंगति हटाउने संकल्प गरी विविधतामा एकता कायम गर्न निःस्वार्थ सेवाभित्र आफूलाई समर्पण गर्नु पर्छ । जीवन हार र जितको मात्र खेल होइन । यो त प्राकृतिक सत्यभित्रको अनुपम उपहार हो । जाने जीवन हिरा हो नत्र पत्थर हो । तसर्थ यसलाई समयानुकूल गतिशील बनाउनु पर्छ ।
अहिले निर्वाचनको माहोल छ । सबैले आ–आफ्ना विचारहरु संप्रेषण गरिरहेका छन् । मैले , हामीले यस्तो गर्छौँ, उस्तो गर्छौँ भनी आश्वासनको पोका बाँडिरहेका छन् । व्यवहारमा देखिने कार्यप्रति व्यक्तिको इच्छाशक्ति कमजोर भएको छ । तसर्थ, मानवीय गुण र आचरणले निर्वाह गर्न खोजेको यथार्थ धरातलमा आफूलाई उभ्याइ विगत, वर्तमान र भविष्यलाई सम्झेर सच्चा र पवित्र इच्छाशक्तिले समय र परिस्थितिको आँकलन गरी आफू र आफ्नो भविष्य निर्धारण गर्ने उत्तम पक्ष अँगाल्नु परेको छ । यो र त्योमा होइन आफ्नो मनभित्रको पवित्र उद्देश्य मुखरित हुने गरी आफूलाई प्रस्तुत गर्नु परेको छ । समयले यही खोजिरहेको छ ।