युवराज शर्मा
नेपाल सानो मुलुक भए पनि प्राकृतिक स्रोत र साधनले भरिपर्ण छ । तै पनि गरिब देशमा सूचिकृत छ । देशमा रोजगारको वातावरण नभएपछि वाध्यताले नेपाली विदेश पलायन भएको अवस्था छ ।
यसको मूल कारण नेपालमा भएको राजनीतिक अस्थिरता, नेताहरुमा देखिने स्वार्थी भावना, सत्ताको पदमा बसेर जिम्मेवारी बोध गर्न नसक्ने व्यक्तिहरुको चरित्र, जवाफदेहीको अभाव, आर्थिक पारदर्शीता हुन नसक्नु, लोकतान्त्रिक गणतन्त्र भने पनि व्यक्तिको स्वार्थमा सत्ता चल्नुजस्ता विकृतिहरुले गर्दा नेपाली विदेश पलायन भएका हुन् । यस्ता प्रकृतिले नेपालको आर्थिक अवस्था कमजोर भयो ।
देशमा गरिबी बढ्नु व्यक्तिको आर्थिक अवस्थामा कमीकमजोरी भएपछि नागरिक गरिबीको चपेटामा पर्छन् । खाद्य समस्या बढ्छ । खान लाउन समस्यामा नागरिक हुन्छन् । आफ्नो समस्याहरुको परिपूर्ति देशमा रोजगार नभएपछि पूरा हुँदेन । आर्थिक अभावले गर्दा विदशिनु पर्छ भन्छन्, नागरिक । घरघरबाट नेपाली युवाहरु विदेश पलायन भएकै छन् । यसरी पलायन हुनुको कारण पैसा कमाउनका लागि हो । धेरै पैसाहरु कमाएपछि राम्रो घरमा बसौँला, मीठो खाना खाउँला, राम्रो लुगाहरु लगाउँला भन्ने कल्पना गर्छन् ।
ठूला–ठूला सपना बोकेका हुन्छन् । अन्त्यमा नेपाली युवायुवतीहरु पलायन भएर विदेशी भूमिमा रमाउने उद्देश्य नै पैसा कमाएर घरको खाद्य समस्या समाधान गर्ने देखिएको छ । तर कमाइ भने खासै देखिन्न । देखिएका सपनाहरु सपनालाई विपनामा परिवर्तन गर्न सकेको पाइन्न । आफू विदेश जाँदा खर्चेको लाखौँ रुपैयाँको ऋणको भारी थाप्लोमा बोकिरहेका छन् । उमेरले कमाउने समय वदेशमा नै बित्छ । शरीरमा आलश्यता बढ्छ । घरमा खुसियाली भएका दिनहरु बित्छन् ।
संकट सिर्जना हुन्छ । कुवाँको भ्यागुतो कुवाँमा सीमित भएझँे सीमित जीवन बन्छ । घरमा श्रीमतीलाई सुखसुविधाले चञ्चलता बढ्छ । छोराछोरीको पढाइका लागि भन्दै गाउँबाट सहरबजारतर्फ बसाइ गर्छन् । उनमा बढ्दो चञ्चलता र उमंगले गर्दा विदेशको कमाइ विकृति र विसंगतिमा बिलिन हुन्छ । भएको गाउँको जमिन पनि बाँझो हुन्छ । छोराछोरीको पढाइले गति लिन सक्देन । विदेशको कमाइ खेर गएको बुढेसकालमा सम्झन्छन् ।
कतिपय विदेश पलायन हुने युवाहरुका बाबुआमा सहाराविहीन बनेर गाउँघरमा जीवन यापन गर्छन् । उनीहरुले आफ्नो युवा अवस्था कृषि व्यवसायमा बिताएका अनुभवहरु सुनाउँछन् । खेतीपातीमा रमाएका दिनहरुको सम्झना गर्छन् । छोराछोरीहरुको विदेशी मोहलाई सम्झन्छन् । उनीहरुको कमाइ र रमाइलाई हेर्छन् । यस्तो पनि समय आउँदो रहेछ भन्ने सोचाइ हुन्छ । प्रगति भएको अनुभव गर्छन् भने दूर्गति आउने सम्भावना देख्छन् र भन्छन्– कलिको समय हो ।
आयो कली धपक्कै बली पनि भन्छन् । हुँदाहुँदै गाउँका युवायुवतीहरु दिनदिनै विदेश पलायन भइरहेको पाउँछौँ । यस्तो पलायन हुने वातावरणलाई सरकारले प्रोत्साहित गरेको छ । वैदेशिक रोजगार विभाग खडा गरेर युवायुवतीहरुलाई विदेश पलायन गराइरहेको छ । राज्य पक्षबाट स्वरोजगारको वातावरण देशमा बन्न सकेन । बनाउनु पर्ने सरकारको दायित्व हो तर सरकारमा भएका जिम्मेवार व्यक्तिहरुले जवाफादेही र पारदर्शीता देखाउनु पर्दथ्यो । राष्ट्र नायक देखिएनन् ।
नेपालीले आफ्नो भविष्य विदेशी भूमिमा चौकिदार र लेवर काममा समय बिताएको पाइन्छ ।
सबैभन्दा उत्तम परदेश भारतीय भूमि हो । अहिले बढ्दो प्रविधिका कारण सिसी–क्यामराले चौकिदार र लेबरहरुको कामलाई निगरानी गराइएको हुन्छ । तर चौकीदारको काम पनि हटिरहेको छ । त्यसैले होला नेपालीको विदेश जाने गन्तव्य स्थल खाडी मुलुक र विकसित मुलुकहरु भएका छन् । जहाँ युवायुवतीहरुलाई वैदेशिक रोजगार विभागले विदेश पलायन हुने अवस्था सिर्जना गरिरहेको छ ।
उनीहरुलाई विदेश पलायन गराउन सहमति र सम्झौता गराउन लालायित सरकार छ । नेपाली नेताहरुले लाज पचाइरहेको अवस्था छ । नागरिकलाई रोजगारीको गन्तव्य बनाएको भाषण गर्छन् । मरुभूमिमा गएका युवायुवतीहरुले भाडा माझ्ने, लुगा धुने, घरेलु कामदार बन्नेजस्ता काममा पठाएर उनीहरुलाई दास बनाएको छ । त्यस्तै ज्ञान गराउने काम सरकारबाट हुँदै आएका छन् । उनीहरुले पठाउने रेमिट्यान्सबाट आफूहरुले सत्ताको स्वाद फेरिरहेका छन् । यसरी नेपाली युवायुवतीहरुलाई दास बनाउनुभन्दा कुनै साम्पन्न देशको गुलाम बनायौँ भने राष्ट्र नायक नेता ठहरिने छौँ ।
नेपाली युवायुवतीहरुलाई विदेश पलायन गराएर देशका नागरिकलाई रणभुल्लमा पार्ने नेताहरुमा राष्ट्रियताको भावना देखिएन । समाजमा कूरीति र विकृति बढेको छ । राम्रो कामको सम्मान छैन । पैसाको महत्व बढेको छ । समाज पैसाको पछि लागेको छ । व्यक्तिको मिहिनेतको कमाइ गरेको महत्व छैन । तर फट्याइ गरी कमाइ गरेको धनलाई महत्व दिइन्छ । अहिलेको समाजमा पैसा भए पुग्छ । यस्तो समाजले के दिन सक्ला ? पैसाले समाजमा भ्रष्टता बढेको छ । पैसाकै कारण समाज ध्वस्त हुँदैछ । समयमा सरकारले समाज सुधार गर्नुपर्छ ।
एउटा बसमा यात्रा गरिरहेका यात्रुहरु जस्तै देश एउटा बस जस्तो भूखण्ड हो । यात्रुहरु जस्तै बसका यात्रुहरु देशका नागरिक हुन् । सरकार चलाउने प्रधानमन्त्री, देश चलाउने नायक हो भने बस चलाउने चालक हो । यदि चालकले बस ठिकसँग चलाउन ज्ञान सीप भएन भने बस कन्ट्रोल गर्न सक्दैन । त्यस्तै देश हाँक्ने प्रधानमन्त्री कमजोर भएमा देशले ठूलो दुर्घटना भोग्नु पर्छ ।
नेपाल एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न देश हो तर पैसाका लागि यो देश परतन्त्र बन्दै छ । जबसम्म पैसाको कमाइलाई कम महत्व दिने र बढी महत्व मिहिनिेतलाई दिने काम समाजमा हुँदैन तबसम्म देश विकसित भयो भन्न सकिन्न । विश्वका धेरै विकसित देशको काम मिहिनेतबाट अघि बढेका छन् । नेपालीले मिहिनेत गर्नुपर्ने कृषि नै हो । जहाँ हिमालदेखि तराईसम्मका भूभागहरु उर्बर छन् ।
पैसाका लागि तड्पिरहेका युवायुवतीहरुको संख्या बढिरहेको छ । जीवनको यौवनावस्था विदेश पलायन भएर बित्छ । यस्तो व्यक्तिले बुढेसकालमा के पो गर्न सक्छ र ? अन्त्यमा मानिसलाई कन्ट्रोल गर्न सरकार सफल हुन सक्ने छैन । तसर्थ, गउँघरमा नेतीयोग्य जमिनहरु बाँझै छन् । युवायुवतीहरु पैसाको खोजीमा भौतारिरहेका छन् । उनीहरुलाई नैतिक शिक्षाको अभाव छ । सरकारले खेतीपाती गर्ने वर्गलाई हेर्दैन । यस्तो अवस्थामा खेतीपातीमा युवायुवतीहरु भुल्न सकेनन् ।
उनीहरुलाई स्वरोजगार बन्न सकेन । खेतीपाती गर्ने किसानहरुप्रति सरकार सकारात्मक भएन । खेती गर्ने समयमा मल, बिउ, विषादी, ओखती र कृषि उपकरणका सामग्रीहरु किसानहरुले पैसा तिर्दा पनि पाउन सकेनन् । यदि कृषि कार्यमा कृषकहरुले कृषि खरिद गर्ने सामग्रीमा ५० प्रतिशत मूल्यमा राहत दिने सरकारी नीति भएमा विदेश पलायन हुने युवायुवतीहरु कृषि कार्यमा संलग्न हुने थिए । अहिले पनि किसानहरु भन्छन् – कृषिमन्त्रीज्यू, कहिले पाइन्छ रासायनिक मल, उन्नत जातको बिउविजन ? न त देशमा मल उत्पादन गर्ने कारखाना नै बन्यो न समयमा मल बिउ आयात नै भयो । यस्तो वातावरणमा किन नेपाली युवायुवतीहरु विदेश पलायन नहुने ? जवाफ दिने को ?