दाङमा ५२० पदमा २४१२ उम्मेदवार

स्थानीय तह निर्वाचन

लिलाधर वली

दाङ, १४ वैशाख । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जिल्लाका दश स्थानीय तहमा ५ सय २० पदका लागि करिब २४ सय बढीको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताको तथ्याङ्क उपलब्ध गराएको वैशाख ११ र १२ गते दुई दिनको अवधिमा मुख्य राजनीतिक दल, साना पार्टी, स्वतन्त्र गरेर २ हजार ४ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय घोराहीकाअनुसार दाङको दश स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरी २० जना, जिल्लाका एक सय वडाहरूमा एक जना वडाध्यक्ष र ४ सय सदस्यका लागि वैशाख ३० गते निर्वाचन हुन थालेको छ । जसमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा पाँच सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ५ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । तुलसीपुरमा १२, उपप्रमुखमा ९ र वडाध्यक्षमा १२३ सहित ५ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

घोराही उपमहानगरपालिकामा ४ सय ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नगर प्रमुखमा १५ जना, उपप्रमुखमा ८ जना र वडाध्यक्षमा १०८ गरी जम्मा ४४० जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । सूचना अधिकारी कुँवरकाअनुसार दंगीशरण गाउँपालिमा अध्यक्षमा १०, उपाध्यक्षमा ६ र वडाध्यक्षमा ३८ सहित १६२ जना, बबई गाउँपालिकाको अध्यक्षमा ७ जना, उपाध्यक्ष ६ र वडाध्यक्ष ४० सहित १५७ जना, राजपुर गाउँपालिमा अध्यक्ष ७, उपाध्यक्ष ६, वडाध्यक्ष ४० सहित १८८ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा ८, उपाध्यक्ष ६ र वडाध्यक्षमा ५० सहित २३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गढवा गाउँपालिकाको अध्यक्षमा ९, उपाध्यक्ष ८ र वडाध्यक्षमा ४२ सहित १९५ जना, लमही नगरपालिकामा नगर प्रमुखमा ८, उपप्रमुखमा ८ र वडाध्यक्षमा ५२ जना सहित १४२ जना, शान्तिनगर गाउँपालिकाको अध्यक्ष ७, उपाध्यक्षमा ४ र वडाध्यक्षमा ३३ सहित १३६ जना, बंगलाचुली गाउँपालिकामा अध्यक्षमा ४, उपाध्यक्षमा ४ र वडाध्यक्ष २३ जना सहित ११५ जनाले उम्मेदवारी दर्ता गराएको सूचनाअधिकारी कुँवरले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि जिल्लाका दशवटै पालिकाहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकासहित एक सय वडाहरूमा नगर प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्षसहित सदस्यहरू निर्वाचित हुने व्यवस्था छ ।

जिल्लामा उमेदवारहरूको अन्तिम नामावली यो समाचार तयार पार्दासम्म प्रकाशन हुन सकेको छैन । सोमवार नै प्रकाशन गर्नु पर्ने भए पनि केही पालिकामा प्राविधिक समस्याका कारण अन्तिम नामावली प्रकाशनमा समस्या भएको निर्वाचन कार्यालयले जनाएको छ । सम्भवतः मंगलवार रातिसम्म उमदेवारहरूको अन्तिम नामावली सावर्जनिक गर्ने तयारी कार्यालयले गरेको छ ।

उम्मेदवार विरूद्ध परेनन् उजुरी

जिल्लाका दशवटै निर्वाचन क्षेत्रमा दाबी विरोध नपरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरूद्ध दाबी विरोधका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयाअनुसार मंगलवार साँझ पाँच बजेसम्म कुनै पनि स्थानीय तहमा उम्मेदवार विरूद्ध उजुरी नआएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले जानकारी दिएका छन् ।

सल्यानमा तीन महिलाको प्रमुखमा उम्मेदवारी

स्थानीय तहको निर्वाचनका लागि सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा दुई दलितसहित तीन महिलाले प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट सुन्दरा शाही, छत्रेस्वरीमा नेकपा (एकीकृत समाजवादी)बाट ओमकुमारी विक र दार्मा गाउँपालिकामा स्वतन्त्रबाट अनिषा नेपालीले उम्मेद्वारी दिएका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा दुई जनाले मात्र उम्मेदवारी दिएका थिए । त्यसमा पनि एक जनाले फिर्ता लिएकी थिइन् भने कुमाख गाउँपालिकामा दिलमाया बुढा मगर निर्वाचित भएकी थिइन् । दलित महिलाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको यो पहिलो हो । ०७४ को तुलनामा उपप्रमुखमा पनि महिलाको उम्मेदवारी दिने संख्या बढेको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ । ०७४ मा ३६ जनाले उपप्रमुख तथा उपाध्यक्षमा उम्मेदवारी दिएकोमा यसपाली ४५ जना महिला रहेका निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत निमराज भट्टराईले बताए ।

चेतना विकाससँगै महिला उम्मेदवार संख्या बढ्दै गएको हुनसक्ने उनले जानकारी गराए । ‘यसले महिलाहरू सक्षम र सचेत भएछन् र केही गर्न आँट गर्दैछन् भन्ने देखाउँछ’, उनले भने, ‘महिलाले प्रमुख पदमा उम्मेदवारी दिनु राम्रो हो ।’ यसले उनीहरू उपमै सीमित नरहेको समेत सन्देश दिने उनको भनाइ छ । छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी विकले दलित जाति तथा महिला उत्थानका लागि आफ्नो उम्मेदवारी भएको बताइन् । उनी केही वर्षदेखि राजनीतिमा सक्रिय रहेकी छिन् ।

आफू निर्वाचित भएमा विकास निर्माणका साथै पिछडिएका महिला दिदीबहिनीको स्तर उकास्ने कामलाई प्राथमिकता दिने उनको भनाइ छ । पार्टीले चासो नदेखाएपछि आफूले स्वतन्त्रबाट दार्मा गाउँपालिकाको लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएको अनिषा नेपालीले बताइन् । ४० ननाघेकी उनले उम्मेदवारी फिर्ता नलिने जानकारी गराइन् । ‘म महिलाको साखका लागि विगतदेखि लड्दै आएकी छु, निर्वाचनमा हारजित स्वाभाविक हुन्छ, जिते ठिकै छ, हारे पनि फरक पर्दैन’, उनले भनिन्, ‘अहिलेसम्म महिलाहरू चुलोचौकामै सीमित छन्, आउँदा दिनमा उनीहरू पनि चुलोचौकोमा मात्र नभइ बाह्य कामकाजमा अग्रसर भएको देख्ने मेरो चाहना छ ।’

उमेदवारहरूको घरदैलो अभियान

पालिका प्रमुख तथा उमेदवारहरूले घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धन, एमाले, अन्य पार्टी र स्वतन्त्र उमेदवारहरूले मंगलवारदेखि भोट माग्दै घर–घरमा पुगेका छन् । जिल्लाका दश पालिकामा आइतवार र सोमवार दलहरूले उमेदवारी दर्ता गरेका थिए । दश पालिकाका ५ सय २० पदका लागि २४ सय उम्मेदवार भएका छन् ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकामा एमालेका उमेदवारले घरदैलो अभियान थालेका छन् । नगर प्रमुख, उपप्रमुख र १ देखि १९ वटै वडाका अध्यक्ष र सदस्यले मतदाताको घरमा गएर आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरेका छन् । कार्यक्रममा प्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले मंगलवार तुलसीपुर वडा न ५, ११, १२ र १९ का विभिन्न टोलमा गएर मत मागेका छन् ।

खड्का र घोराहीमा पनि नगर प्रमुखका उम्मेदवार नरुलाल चौधरी, उपप्रमुखका उम्मेदवार हुमा डिसी र वडाध्यक्ष र सदस्यपदका उम्मेदवारले घरदैलो अभियान र मतदता भेटघाट गरेको एमाले प्रचार विभागले जनाएको छ । यसैगरेर एमालेबाट जिल्लाका अन्य पालिकाका उम्मेदवारहरूले पनि मतदता भेटघाट कार्यक्रम थालेका छन् ।

एमाले घोराही १५ को प्रतिबद्धता पत्र

नेकपा एमाले घोराही १५ ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । वडाले वडा कमिटी अध्यक्ष राजकुमार अधिकारीको अध्यक्षता तथा नेकपा एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनको प्रमुख आतिथ्यता र वडा सहइञ्चार्ज गणेश दाहालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

सो अवसरमा अध्यक्ष पदका उम्मेदवार विष्णु सुवेदी, जिल्ला सदस्यहरू जितबहादुर केसी, किरण रेग्मी, रामप्रसाद शर्मा, डिल्ली पण्डितलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरूले घोराहीको मुख्य बजार क्षेत्र रहेको वडा नं. १५ लाई व्यवस्थित, सुन्दर, हराभरा सहरका रूपमा विकास गर्न एमालेका उम्मेदवारहरूलाई विजयी बनाउनु पर्ने धारणा राखेका थिए ।

प्रतिबद्धता पत्रमा घोराहीलाई सुन्दर सहर बनाउने योजना, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र सञ्चारको विकास, खेलकुद, पर्यटन, कला र संस्कृति, व्यवस्थित तरकारी बजार, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा योजना, सार्वजनिक जमिनको संरक्षण, वस्ती विकासको व्यवस्था, अपाङ्गमैत्री समाजलगायतका योजनाहरू समेटिएको छ ।