सहज सरल र मिजासिला व्यक्ति उनी सधैँ कर्ममा तल्लीन छन् । चाहे त्यो राजनीतिक दलका कार्यक्रममा होस् वा संघसंस्थाका कार्यक्रममा । पेसाले यातायात व्यवसायी तथा राजनीतिमा तल्लीन तुलसीपुर–१९ निवासी एक व्यक्ति हुन्, गौरव आचार्य । उनले जीवनमा आफू सधैँ खुसी हुने गरेको बताए ।
उनका खुसीहरू मैले खोतल्दै गर्दा उनी मुस्कुराउँदै भने, ‘म सधैँ खुसी छु, जीवन संघर्ष भित्रका धेरै खुसीहरू छन् । त्यसमा पनि मेरो पहिलो खुसी काठमाडौँ स्थित पशुपति क्याम्पसमा नेविसंघको इकाई समितिमा रहेर काम गर्न पाउँदा पहिलो खुसी प्राप्त गरेका थिएँ । मेरो पहिलो खुसी नेविसंघको सदस्य हुँदाको हो’, उनले भने ।
पशुपति क्याम्यसमा तत्कालीन विद्यार्थी नेता कुन्दनराज काफ्लेसँग सम्पर्क भएको र नेविसंघको राजनीतिमा आफू लागेको बताए । उनले विसं २०६० सालमा क्याम्पसमा भर्ना भएसँगै राजनीति र पढाइलाई सँगसँगै लगेको बताए । आचार्यले पशुपति क्याम्पसमा इकाई सदस्य हुँदै कोषाध्यक्ष, सचिवजस्तो जिम्मेवार पद रहेर काम गर्ने अवसर दिएकोमा पनि खुसी व्यक्त गरे ।
साविक बिजौरी–८ बाँसगडीमा पिता वंशिधर आचार्य र माता मेनका आचार्यका छोरा आचार्यले घरमा बामपन्थी राजनीतिको माहोल हुँदा पनि आफूलाई कहिल्यै त्यसतर्फ लाग्न दबाब नभएको भन्दै वीपीको सिद्धान्त बोकेको पार्टी कांग्रेसमा राजनीति गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । नैतिक रूपमा देशको सेवा गर्नु राजनीति सेवा भावले गर्नु भनेर पिताको भनाइ रहेको उनले बताए ।
आफ्नो पिता बामपन्थी राजनीति गर्ने गरे पनि राष्ट्र, राष्ट्रियताको सवालमा वीपी आदर्श व्यक्तिको रूपमा सुनेकोमा आफू वीपीको आदर्शलाई आत्मसात गर्दै पार्टीमा सेवा गर्नु पर्छ भनेर लागेको भन्दै खुसी व्यक्त गरे । त्यो बेला कांग्रेस नेता खुमबहादु खड्का, बलदेव मज्गैयाँको पनि नाम सुनेको बताए ।
आचार्यले भने ‘विसं २०६४ सालमा काठमाडौंमा एउटा कार्यक्रम थियो, त्यहाँ नेता खुमबहादुरलाई प्रमुख अतिथिका रूपमा निम्त्याएका थियौँ, त्यो बेला उहाँले यसले पश्चिम नेपालको राजनीति गर्न सक्छ भनेर प्रशंसा गर्नुभयो, त्यो दिन मलाई निकै खुसी लागेको थियो । त्यो दिन म खुसीले गदगद भएको थिएँ ।’ त्यो उत्साहले पनि मलाई राजनीतिमा लाग्न प्रेरित गरेको हो ।
त्यस्तै विद्यार्थी राजनीतिबाट ११औँ महाधिवेशनबाट पार्टीको राजनीति सूरु गरको आचार्यले १४औँ महाधिवेशनमा जिल्ला सदस्यमा चुनाव जित्दा अर्को खुसी प्राप्त भएको उनले सुनाए । कांग्रेसजस्तो ठूलो पार्टीको जिल्ला सदस्यमा जित्दा म निकै खुसी भएको थिएँ । सबै साथीभाइ नेताहरूले मलाई सहयोग गरेकोमा पनि म खुसी छु’, उनले भने ।
त्यस्तै उनले राजनीतिसँगै २०७० सालदेखि यातायात व्यवसायमा लागेका आचार्यले यातायात क्षेत्रमा लागेर व्यावसायिक हकहितमा काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको सदस्य हुँदै हाल समितिको सहसचिव पदमा रहेर काम गरिरहेका आचार्यले यातायात व्यवसायीहरूको समस्या मजदुरलगायत सबैको लागि काम गर्न पाउँदा खुसी भएको सुनाए ।
प्रारम्भिक शिक्षा राप्ती बोर्डिङ स्कूल र दीप बोर्डिङ स्कूल बुटवलबाट विसं २०५७ सालमा एसएलसी पास गरेका आचार्यले एसएलसीमा प्रथम डिभिजनमा पास हुँदाको दिन निकै खुसी भएको सुनाए । उनले त्यतिबेला एसएलसी पास गर्नु संसार जितेजस्तो भएको सुनाए ।
त्यस्तै आचार्यले विभिन्न समयमा विभिन्न असहाय, गरिब, दुःखीलाई सहयोग गर्न पाउँदा अर्को खुसी प्राप्त हुने उनले बताए । आचार्यले सामाजिक विभिन्न संघसंस्था लायन्स क्लवको सदस्य भएर समाज रूपान्तरणमा सेवा गर्न पाउँदा खुसी लाग्ने गरेको बताए । उनले अन्य पढेलेखेका व्यक्तिहरू विदेशिने गरेको भन्दै स्वदेशमै सेवा गर्न पाउँदा आफु खुसी भएको सुनाए । ‘मेरो विदेशको मोह कहिल्यै भएन म स्वदेशमै केही गर्नुपर्छ भनेर व्यवसायदेखि राजनीतिमार्फत् सेवामा लागेको छु, त्यसमा म खुसी छु’, उनले भने ।
आचार्यले राजनीति तथा व्यवसायीमा साथीभाइ घरपरिवारले सहयोग पाउँदा निकै खुसी लागेको सुनाए । उनले सकारात्मक सोच र विचारका साथ सामाजिक सेवामा लाग्न पाउनु नै आफ्नो खुसी भएको सुनाए । त्यस्तै घर परिवार श्रीमती आफन्तहरूले सहयोग गर्दा र सहयोग पाउँदा आफूलाई खुसी लागेको सुनाए ।
उनले मानिस खुसी हुने विभिन्न बहाना हुने भदै आफूले समाज सेवा गर्न पाउँदा खुसी हुने बताउँछन् । तुलसीपुर—१९ निवासी गौरव आचार्य नेपाली कांग्रेस दाङका जिल्ला सदस्य एवं राप्ती अञ्चल संयुक्त ट्रक यातायात समितिका सहसचिव हुन् ।
प्रस्तुती : बालाराम खड्का