दाङ, २९ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदैँ गर्दा चुनावी चहलपहल बढ्दो छ । दलहरु उम्मेदवार छनौट गरिरहदा सरोकारवालाले भने कस्ता व्यक्तिलाई उम्मेवार बनाउने भन्ने बिषयमा छलफल गर्न थालेका छन् । नागरिकहरुले भने जनताको मनोभावना बुझ्ने र विकासका काम गर्ने जनप्रतिनिधिहरुलाई भोट हाल्ने बताउछन् ।
मंगलवार घोराहीमा स्थानीय निर्वाचनका लागि राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुसँग आयोजना गरिएको अन्तरसंवाद कार्यक्रमका सहभागीहरुले निर्वाचनमा हुने विकृतिहरुलाई रोक्दै सामन्य नागरिक पनि निर्वाचनमा सहभागी हुने बातावरण बनाउन आचारसंहितमा कडाई गर्न माग गरेका थिए । समाज वातावरण शिक्षा विकास केन्द्र (सिड) मुक्त कमलरी विकास मञ्च, एनजिओ फेडरेशन दाङ, नेशनल नेटवर्क नेपाल लगाएतका संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले राजनीतिक नेताहरु इमान्दार नबन्दासम्म विकास निर्माणका कार्यक्रममा अवरोध भैरहने बताएका थिए । निर्वाचन उम्मेदवार खर्च बढ्दा भ्रष्टाचार बढ्ने र विकास निर्माणका काममा अवरोध भैरहने भन्दै नेताहरु इमान्दार बन्नुपर्नेमा जोड दिए । उनीहरुले निर्वाचन प्रणाली महांगो भएको भन्दै निम्न बर्ग तथा आयस्रोतको कमी भएकाहरु चुनाव लड्न सक्ने अवस्था नभएको बताएका थिए ।
कार्यक्रममा निर्वाचन पर्यवेक्षक समिति नेपालका राजाराम बर्ताेलाले निर्वाचित जनप्रतिनिधि तथा नेताहरुमा निम्मेवारी बोध भए मात्र विकास निर्माणको काम अगाडि बढ्ने भन्दै त्यसका लागि जनताले इमान्दार, योग्य र लोकप्रिय व्यक्तिलाई निर्वाचनमा चुन्नुपर्ने बताए । कार्यक्रममा प्रस्तुति राख्दै उनले भ्रष्टाचार कानुनको सबैभन्दा ठुलो अपराध भएपनि नेता र जनप्रतिनिधिको ध्यान त्यसतर्फ जाँदा निर्वाचन प्रक्रिया नै महंगो हुन पुगेको बताएका थिए ।
उनले बाहिरी मुलुकहरुमा प्रधानमन्त्रीदेखि सरकारमा रहेका जिम्मेवार मन्त्री नेता, सांसदहरुको जीवनशैली सामान्य भएकालेनै स्वच्छ विकास हुन सकेको बताए । कार्यक्रममा कानुन व्यावसायि मोहन आचार्यले राजनितिलाई स्वच्छ बनाउनुपर्ने धारणा राखे । हालका नेताहरुमा विकासका काम गर्छाे भन्ने तर अवरोध हटाउन नसक्ने समस्या रहेको बताए । कार्यक्रम सिड संस्थाकी अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एसिआर नेटवर्कका केन्द्रिय सदस्य पोमनारायण पौडेलले बिषय प्रवेश गराएका थिए ।
पाँच राजनीतिक दलको साझा प्रतिवद्धता निर्वाचन २०७९ को सन्दर्भमा दाङका प्रमुख राजनीतिक दलहरुले पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लास्थित गठबन्धनमा आवद्ध दलहरु र नेकपा एमालेका तर्फबाट आसन्न स्थानीय निर्वाचनलाई सभ्य, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि आज साझा प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले आगामी निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न निम्न लिखित विषयमा हस्ताक्षर गर्दै यसको कार्यान्वयनका लागि सामुहिक प्रतिवद्धता जाहेर गर्दै हस्ताक्षर पनि गरेका हुन् ।
प्रतिद्धतामा आगामी वैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्वाचन २०७९लाई नेपालको संविधान, लोकतन्त्र, मानवअधिकार र समावेशीताको मर्म र भावनालाई आत्मसाथ गर्दै निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न, आगामी निर्वाचनमा गरिव, विपन्न, पछाडी पारीएका वर्ग, लिंग, जाती, तथा समुदायको समावेशीतालाई सुनिश्चितता गर्दै मुख्य जिम्मेवारी पदहरुमा सहभागिता गराउन, आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छान्दा लोकतन्त्र, मानवअधिकार, सामाजिक प्रतिष्ठा र दलगत योगदान र स्वच्छ छवि भएका व्यक्तिहरुलाई उम्मेदवार बनाउने उल्लेख छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई नकरात्मक रुपमा प्रभाव पार्न र विभिन्न किसिमका प्रलोभन तथा झुठ्ठा आश्वासन नदिन र स्थानीय तहको निर्वाचन दलगत घोषणा पत्रमा गरिव विपन्न, गरिव तथा सिमान्तकृत समुदायका नागरिकका मौलिकहकका विषयवस्तुहरुलाई समावेश गर्दै पूर्णरुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा एमालेका विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादीका गुरुप्रसाद महरा, जनता समाजवादी पार्टीका होमप्रसाद शर्मा र राष्ट्रिय जनमोर्चाका गणेश आचार्य रहेका छन् । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक उमेश खरेलले गरेका थिए ।