अत्यासलाग्दो महंगी, भान्सामा मन जान छाड्यो गृहिणीको

खेमराज रिजाल
तुलसीपुर, २८ चैत । तुलसीपुर उपमहानगरपालिका–१७ फोर्टिनाइनकी पार्वती पौडेल टमाटरको भाउ प्रतिकिलो १ सय रुपैयाँ पुग्दा एकपटक जिब्रो नोकिन् । अस्ती भर्खर तीन किलोको १ सय रुपैयाँ तिरेकी पार्वती चैते दशैको अघिल्लो दिन प्रतिकिलो तेब्बर मूल्यबृद्धि भएको बताउँछिन् । तुलसीपुर उपमहानगरपालिका–१८ की गृहिणी देवा केसीलाई खाने तेलको भाउले पिरोलेको छ ।

महिनैपिच्छे ५÷५ लिटरका दरले खाने तेल किन्ने देवा पछिल्लो चार महिनायता हरेक पटकको खरिदमा कम्तीमा ५ लिटरमा १ सय रुपैयाँ भन्दा कम मूल्यबृद्धि भएको छैन । अघिल्लो महिना उनले पाँच लिटर तोरीको तेलको स्थानीय मिलमा १७ सय रुपैयाँमा खरिद गरेकी थिएन् तर एक महिनाकै अवधिमा यो मूल्यवृद्धि भएर २ हजार १ सय रुपैयाँ पुगेको छ ।

स्थानीय तोरीको तेलमा मात्र होइन, आयातित सोयाबिनको तेल पनि दुई सय रुपैयाँ प्रतिलिटरबाट ३ सय रुपैयाँ प्रतिलिटर पुगेको देवाले बताइन् । पसलेहरुले उतैबाट महंगिएर आएको बताउँदै आएका छन् । तुलसीपुर–१८ कै जनप्रतिनिधि धनबहादुर बस्नेतले पनि तेलदेखि चामलसम्मको मूल्य बढेको बताए । सबै उपभोग्य सामानको मूल्य इन्धनको मूल्यवृद्धिका कारण भएको र स्थानीय सरकारले यसलाई सन्तुलनमा ल्याउन नसक्ने पनि उनको अभिव्यक्ति थियो ।

खाने तेल मात्र होइन, स्थानीय उत्पादन मन्सुली चामलको मूल्य पनि प्रतिकिलो ८० रुपैयाँबाट बढेर दुई महिनाको बीचमै प्रतिकिलो ९० रुपैयाँ पुगेको तुलसीपुर–१७ की गृहिणी पुष्पा रिजालको भनाइ थियो । सुख्खा मौसमको सुरुआतसँगै हरियो तरकारीको भाउ पनि छोइसक्नु छैन । गत बर्ष यो समयमा देउखुरीको हरियो तरकारी बोडी, भाण्टा, तितेकरेला, लौका, भिण्डी प्रतिकिलो ३० देखि ४० रुपैयाँको हाराहारीमा उपभोक्ताले पाउथे, तर यसपाली हरियो तरकारीको भाउ प्रतिकिलो एक सय रुपैयाँभन्दा कम छैन । यसले सबैभन्दा बढी भान्सामा काम गर्ने गृहिणीहरुलाई अत्यासलाग्दो बनाएको छ । महंगीले भान्सामा मन जान छाडेको छ, गृहिणीको । महंगो भान्साले मन दुखाएको छ, उनीहरुको ।

डिजेलको भाउ प्रतिलिटर १ सय ४३ पुग्दा टमाटर प्रतिकिलोको मूल्य १ सय रुपैयाँ पुगेको छ । तेल चामलमा मात्र होइन, नेपालमै उत्पादन भएका जंकफुडमा पनि कम्तीमा १५ प्रतिशतसम्म मूल्यबृद्धि भएको पुष्पाले बताइन् । तरकारीको मूल्य पनि अत्यधिक बृद्धि भएको छ । हरियो तरकारीसँगै लसुन, प्याजसम्मको मूल्य अत्यासलाग्दो रुपमा बृद्धि भएकाले गृहिणीहरुले भान्सा उतार्न गाह्रो भएको बताएका छन् । लसुनको मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ पुगेको छ । यसअघि १ सय ५० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले पाउँथे । प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ त बोडी, भिण्डी र तिते करोलाको प्रतिकिलो मूल्य प्रतिकिलो २ सय रुपैयाँ पुग्दा उपभोक्ताहरु महंगीको मारमा प्रताडित भएका छन् ।

अघिल्लो वर्ष यही सिजनमा बोडी, भिन्डी, तितेकरेलालगायतका हरियो तरकारी प्रतिकिलो ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म पथ्र्यो । टमाटरको मूल्य पनि एक महिनाकै अवधिमा ३० रुपैयाँ प्रतिकिलोबाट वृद्धि भएर प्रतिकिलो ७० रुपैयाँसम्म पुगेको तरकारी व्यवसायी शंकर रेग्मीले बताए । स्थानीय उत्पादन नै अझै नआइसकेको तथा बाहिरी जिल्लाबाट मगाउनुपर्ने भएकाले तरकारीको मूल्य अत्यधिक बढेको रेग्मीले बताएका छन् ।

भान्साका सामान मात्र होइन, निर्माण सामग्रीमा समेत अत्यधिक महंगी बढेकाले केही नागरिकले भौतिक निर्माणको योजनालाई नै थाती राखेका छन् । ‘यसै महिना नयाँ घरको जग बसाउने कार्यक्रम थियो, तर पसलमा सोचेअनुसारको साइजमा छड नै पाइएको छैन, पाए पनि निकै महंगो भएको छ’, तुलसीपुर–१७ झिंगैका मानबहादुर बस्नेतले भने– ‘केही महिनापछि मात्रै घर बनाउने योजना बनाएको छु ।’

निर्माण व्यवसायीहरुले पनि छडको अभाव र इन्धनको मूल्यवृद्धिसँगै ढुवानी भाडामा पनि बृद्धि भएका कारण हार्डवेयरका सबै सामानको मूल्य १० देखि २५ प्रतिशतसम्म बढेको बताएका छन् । त्यस्तै सिमेन्टको मूल्य पनि ढुवानी भाडा बढेकै कारण प्रतिबोरा ४५ रुपैयाँसम्म महंगो भएको पनि हार्डवेयर व्यवसायीले बताएका छन् । ‘मूल्यवृद्धि मात्र होइन, खोजेको साइजमा फलामे छडसमेत बाहिरबाट आउन छाडेको छ’, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित खड्का हार्डवेयरका सञ्चालक रेश्मीराज खड्काले भने ।

एक महिनाअघि प्रतिकिलो ९५ रुपैयाँमा बिक्री गर्ने छडको मूल्य बढेर प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको खड्काले बताएका छन् । हरेक निर्माण सामग्रीको मूल्य यसरी नै बढिरहँदा व्यापार व्यवसायसमेत उत्साहजनक नभएको खड्काले बताएका छन् । त्यसैगरी शौचालयमा प्रयोग गरिने पिभिसी पाइपमा समेत प्रतिपिस १ सय रुपैयाँ वृद्धि भएको छ ।

मूल्यबृद्धिको कारण रसिया–युक्रेन लडाइ

अर्थ विश्लेषकहरुले पछिल्लो एक महिनायताको मूल्यबृद्धिलाई रसिया–युक्रेन लडाईको कारण भनेका छन् । युद्धको प्रभावले जहाँ जे उत्पादन भएका छन्, ती सामानलाई सहजरुपमा अन्यत्र निर्यातमा रोक लगाइएको छ । त्यसमा पनि पेट्रोलियम पदार्थको निर्यात रोक्दा यसको प्रत्यक्ष असर अन्य बजारमा पनि परेको छ । मूल्य बृद्धिको प्रमुख कारण ढुवानी भाडामा बृद्धि पनि भएको ती विश्लेषकले बताएका छन् ।

निर्माण व्यवसायीले फलामे छड बनाउन चाहिने आवश्यक आइरन र रसियालगायतका समुद्रपारका मुलुकहरुबाट आउने, सनफ्लावर तेल पनि उतैबाट आउने तथा पेट्रोलियम पदार्थ पनि रसियालगायतका मुलुकबाट आउने बताएका छन् । रसिया र युक्रेनबीच लगातार एक महिनादेखिको सशस्त्र युद्धको प्रभावले ती सामानहरुको अभाव हुन थालेको व्यवसायीको भनाइ थियो ।

अभावसँगै मूल्य समेत बढेको उनीहरुको भनाइ रहेको छ । मूल्यवृद्धिको जड इन्धनको मूल्यवृद्धि भनिएको छ । यही कारण सार्वजनिक यातायात भाडामा पनि १५ प्रतिशत वृद्धि नेपाल सरकारले गरेको छ । नेपाल सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनमा मूल्यवृद्धि गर्न सहमति दिए पनि यातायात व्यवसायीहरुले भने स्थानीय रुटमा पनि भाडा वृद्धि भएको भन्दै थप भाडा लिन थालेको यात्रुहरुले बताएका छन् ।

दुई महिनाको बीचमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३५ रुपैयाँ थियो । अहिले १ सय ५५ रुपैयाँ प्रतिलिटर पुगेको छ । डिजेलको मूल्य पनि त्यही अनुपातमा बढेपछि नेपाल सरकार यातायात विभागले सार्वजनिक यातायात भाडामा समेत वृद्धि गर्न सहमति दिएको हो । तर ढुवानी भाडामा कति वृद्धि भएको भन्नेमा सरकार अलमलमा परेको छ । ढुवानी व्यवसायीहरुले आफूखुसी भाडा बढाएका कारण अन्यत्रबाट आयातित कुनै पनि सामानको मूल्य स्वतः रुपमा वृद्धि भएको व्यवसायीहरुको तर्क छ ।

कतिपय व्यापारीहरुले सामानमा अंकित मूल्य भन्दा पनि बढी लिएर सामान बेच्ने गरेका छन् । यसमा स्थानीय सरकारबाट अर्थपूर्ण अनुगमन हुन सकेको छैन । पहिलो निर्वाचित सरकारको कार्यकाल सकिन करीब एक महिना मात्रै बाँकी रहँदा स्थानीय सरकारका उपभोक्ता हितका कार्यक्रम समेत अलपत्र अवस्थामा रहेका छन् । युक्रेन र रसिया युद्धका कारण दाङमा उत्पादन भएको तोरीको तेलको मूल्य किन वृद्धि भयो भन्ने उपभोक्ताहरुको प्रश्न अनुत्तरित रहेको छ ।

इन्धनको मूल्यबृद्धिका कारण ढुवानी भाडा कति बढाउनु परेको छ, त्यसले सामानको मूल्यबृद्धि कतिसम्म गर्न सकिन्छ भनेर आँकलन गर्ने कुनै सरकारी निकाय छैन । यो अवस्थाले मूल्यबृद्धि अत्यासलाग्दो देखिएको आम उपभोक्ताहरुको भनाइ थियो ।