दाङ, २४ चैत । घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक उपकरण वितरण गरेको छ । कृषि उत्पादनमा लागत र जनशक्ति घटाउँदै कृषिको उत्पादन बढाउनका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण सहयोग गरेको हो ।
आर्थिक बर्ष २०७८÷०७९ सालमा बिनियोजित ७९ लाख ७५ हजार रुपैयाँबाट ३२ वटा पावर टेलर, १४ वटा मिनी टेलर, २ वटा धान कुट्ने रिपर टेलर, २ वटा रोटा बेटर, एक वटा थ्रेसर, २ वटा पम्पसेट र ३ वटा समूहलाई मोटरलगायतका सामग्री सहयोग गरेको घोराही उपमहानगरपालिका कृषि विकासका शाखाका प्रमुख चोपनारायण धितालले बताए । उनले ४७ जना किसान र पाँच वटा कृषि समूहलाई कृषि उत्पादनमा सहयोग गर्ने उद्देश्यले सहयोग गरेको बताए ।
कृषि सामग्री घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, नगर उपप्रमुख सीता सिक्देल न्यौपाने र कृषि विकासका शाखाका प्रमुख चोपनारायण धिताललगायतले किसानलाई वितरण गरेका थिए । किसानलाई वितरण गर्दै नगर प्रमुख चौधरीले यन्त्रीकरणका माध्यमबाट कृषि उत्पादनलाई बढाउनका लागि घोराही उपमहानगरपालिकाले सहयोग गरेको बताए । उनले बास्तविक किसानलाई कृषिमा सहयोग गर्ने उद्देश्य अनुसार सहयोग गरेको बताए ।
कृषिको आधुनिकरण गर्दै आर्थिक समृद्धिका लागि हरेक किसानले प्रविधिको प्रयोग गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले परम्परागतरुपमा गरिने कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने उद्देश्य अनुसार उपमहानगरपालिकाले किसानलाई कृषि उपकरण सहयोग गरेको बताइन् । यसले कृषिमा लागत घटाउनका लागि उत्पादन बढाउनका लागि सहयोग गर्ने समेत बताइन् ।
उनले यान्त्रिकरणको सही सदुपयोग गर्न समेत आग्रह गरेकी थिइन् । ८० लाख ८१ हजारको टेण्डर भएकोमा ७९ लाख ७५ हजारमा कैलाली जिल्लाको डिकाम कम्पनीमार्फत कृषि उपकरण खरिद गरिएको थियो । कार्यालयले कम्तीमा एक बिगाहा जमिनमा खेती नियमित गरिरहेका किसानहरुलाई यान्त्रिकरण सहयोग गरेको बताएको छ ।