नारायणप्रसाद श्रेष्ठ
मानव जीवन खुला किताब हो । आस्था र विश्वासको धरोहर हो । विश्वास र भरोसा भएर नै मानव जीवनले आफूलाई समय सापेक्ष आदर्श गतिउन्मुख बनाउन सक्षम छ । तसर्थ, निरन्तर गतिशील भइरहने जीवनको उद्देश्यलाई बुझेर आफू र आफ्नो परिवेश अनुकूल सकारात्मक सोच र चिन्तनका साथ खुलापनको आभास हुने गरी चिन्तन प्रदर्शन गर्नु सबैको जिम्मेवारी हो ।
जीवन के हो र किन र कसका लागि भनि चैतन्य आत्माको यथार्थलाई बुझी नैतिक र आचरणयुक्त जीवनशैली वर्तमानको आवश्यकता मानिन्छ । त्यसैले सृष्टिको इतिहासदेखि वर्तमान समयसम्मको इतिहासले औल्याएको गतिशीलतालाई र भौतिक सत्यले ल्याउने परिवर्तनलाई बुझी ज्ञान चछु खोली पारदर्शी र खुलापनको आभास गरी प्रत्येकले आफूलाई समर्पण गर्नु परेको छ ।
हरेक आत्माभित्रको तमो गुणको कारण वर्तमानमा जुन अवस्था सिर्जना भएको छ, त्यसले ल्याउने परिवर्तनलाई बुझी व्यर्थ संकल्पबाट उब्जने अप्ठ्यारो परिस्थिति आउनु पूर्व नै सोच र चिन्तनमा आउने साँघुरोपनलाई परित्याग गर्नु सबैको जिम्मेवारी र दायित्व पनि हुन्छ । तसर्थ, भौतिक विलाषीले भड्किएको मनलाई एकाग्र र सगुनसाकार मनको दैलो उघारी मानिसले आफूभित्रको क्षमता र शक्तिलाई सन्तुलित ढङ्गले परिचालन गर्नु परेको छ ।
जीवनले जस्तो गति निर्धारण गरी सामाजिक परिवेशमा आफूलाई प्रदर्शन गर्दछ, सोही अनुसार सामाजिक रुपरेखा र उद्देश्य पनि निर्धारण हुने हुँदा विचारमा साँघुरोपन र व्यवहारमा स्वार्थपरक चिन्तन राख्नु हुँदैन । प्रकृतिको नियमभित्र बाँचेको मानव अस्तित्वलाई प्रकृतिकै नियमानुसार गतिशील गराउँदै धर्म र संस्कृति तथा अन्तरमनको सत्यले खोजेको खुला वातावरणमा रमाउन सिक्नुपरेको छ ।
विचार जबसम्म निर्मल, स्वच्छ र पवित्र भएर देखापर्दैन तबसम्म जीवनको उद्देश्य अधुरै रहन्छ । तसर्थ, यस सत्यलाई हृदयंगम गरी आफूलाई सबैको प्रेरणाको स्रोत बनाउन हरेक कर्म र व्यवहारमा सत्यता र फराकिलो चिन्तन गर्ने प्रण गरौँ, आवश्यकतालाई बोध गराँै ।
प्राकृतिक सत्यमा हुर्केको मानव जीवन अहिले निकै साँघुरो दायरामा चलायमान भइरहेको छ । सृष्टिको सर्वोत्कृष्ट ज्ञानी र विवेकी भएर पनि वर्तमानमा मानिसले आफूलाई हुर्काउने प्रकृतिप्रतिको दृष्टिकोणमा साँघुरिएको विचार प्रवाह गरिरहेको अवस्था छ । सोच र चिन्तनमा आएको स्वार्थपरक चिन्तनले मानवीय जीवनको क्षमता र कुशलता समेत साँघुरिएको छ ।
जन्म मरणको इतिहास बुझेको विवेकशील प्राणी भएर पनि जीवनको उद्देश्यलाई केवल स्वार्थपरक चिन्तनभित्र लैजाने प्रवृत्ति बढ्नु वास्तवमै जीवनले प्राप्त गर्न खोजेको स्वतन्त्रता गुम्नु हो । हिजो जुन परिवेश र परिस्थितिको मुकाबिला गर्दै अनुशासित र मर्यादित जीवनशैली थियो त्यसमा कताकता कमजोरी प्रदर्शन भइरहेको छ । नीति र नैतिकतामा ह्रास भइरहेको छ । अनुशासनलाई जीवनको उद्देश्यभित्र नभई वर्गस्वार्थभित्र केन्द्रीकृत गरिँदै छ ।
राजनीतिक क्षेत्र होस् वा सामाजिक, आर्थिक अथावा सांस्कृतिक क्षेत्र किन नहोस्, त्यसमा हुनुपर्ने खुला चिन्तन कमजोर भएको छ । शक्रि हत्याउने दाउँमा मानिसको विचार सीमित भएको छ । मानव–मानव बीचको सम्बन्धमा चीसोपन देखापर्दै छ । विश्वासको संकटले एकले अर्कालाई हेर्ने दृष्टिकोण र समझदारीमा फरकपन देखापर्दै छ । घर, परिवार, समाजमा हुने विविध घटनाले मानिसलाई केही क्षण सतर्क गराउन खोजेजस्तो देखिए पनि त्यस्तो सकारात्मक चिन्तन क्षणिक प्रदर्शनमा सीमित हुन पुगेको छ । परिवार साँघुरिएको छ ।
एकल परिवारको अवधारणाले सामूहिक परिवारको चिन्तन हराउँदै गएको छ । घरका जेठाबाठा मानिस वृद्धाश्रममा बस्ने परिस्थिति स्वयम् घरपरिवारबाट नै सिर्जना भएको छ । क्षणिक स्वार्थ र सम्मानले मानिस आफूलाई सर्वेसर्वा ठान्दै छ । सूर्य बिहान उदाउँछ र साँझ अस्ताउँछ । यो प्राकृतिक नियमभित्रको सत्य हो । त्यसरी नै जीवन पनि उदाउने र अस्ताउने प्राकृतिक नियममा बाँधिएको छ ।
यो कुरा घामजस्तै छर्लङ्ग हुँदा पनि सोच र चिन्तनमा फराकिलो दृष्टि नहुनु, तँभन्दा म के कम भनी एकले अर्कालाई पछार्न खोज्नु, ऊ होइन म योग्य छु भनी अरुको योग्यतालाई पहिचान नै गर्न नचाहनु, यी सबै वर्तमानमा मानवीय चिन्तन र सोचलाई विचलित बनाउने आधार बनेको छन् । यति कुरा बुझ्दाबुभ्mदै पनि विचार र कर्ममा स्वार्थ झल्कनु विचार साँघुरिनु वास्तवमा आफ्नो अस्तित्वमाथि आफैले प्रश्न चिह्न खडा गर्नु हो । तसर्थ, म छु र ऊ छ भन्ने पवित्र विचार लिई फराकिलो सोच र चिन्तन बढाउन जरुरी छ । यो वर्तमानले हामीलाई घचघच्याइरहेको छ ।
सृष्टिको संरचनासँगै अगाडि बढेको जीवनचक्रभित्रको इतिहासलाई हेर्ने हो भने यहाँ धेरै परिवर्तन भइरहेको छ । विचारमा आएको सुदृढीकरणले विश्वरंगमञ्च एकआपसमा सम्बन्ध बढाउन लालायित छ । के–कसरी हुन्छ आपसी सम्बन्ध बढाइ विश्व भाइचाराको सम्बन्ध बढाउन लागिपरेको पनि देखिन्छ । तर पनि सम्बन्धमा हुनुपर्ने न्यानोपनको अभाव खड्किएकै छ ।
मानिसले चाहँदा नचाहँदै पनि आपसी सम्बन्ध सुमधुर बन्न सकिरहेको छैन । विश्वासको वातावरण तयार हुन सकेको छैन । प्रकृतिक नियम, समय र परिस्थिति अनुकूल बदलिँदै गएको सत्य उजागर हुँदाहुँदै पनि त्यो सत्यलाई ग्रहण गर्ने क्षमता कमजोर भएको छ । वर्षातपछि हिउँद र हिउँदपछि वर्षा यो प्रक्रिया हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने सत्य हो । यो पृथ्वी र सृष्टिचक्रको इतिहास जबसम्म रहिरहन्छ तबसम्म यो सत्य रहेको हुन्छ ।
यति कुरा बुझ्दाबुझ्दै पनि मानव सोच निहित स्वार्थ र विलाषितातिर मोडिनु कति उपयुक्त ? जीवन छोटो छ र यो कुनै पनि बेला अस्ताउन सक्छ भन्ने बोध हुँदाहुँदै पनि विचारमा साँघुरोपन देखाउनु किन ? ज्ञान र विवेकले भरिएको जीवनको यथार्थलाई भुली अकर्मण्य र अनैतिकतातर्फ ध्यान किन आकृष्ट भइरहेको छ ? आफूभित्रको सर्वशक्ति गुणलाई नबुझी अबुझझैँ केवल स्वाथतर्फ केन्द्रित हुनु, हिरासमान जीवनको अन्तरसत्यलाई बुझने कोशिस नगर्नु वास्तवमा हामीले आफूलाई पछाडि धकेल्नु हो ।
तसर्थ, रुपलाई होइन मानव अन्तरनिहित चैतन्य र आचरणलाई पहिचान गरी आफ्नो स्मृतिलाई क्षमतावान् बनाएर अमृतरस पिउने योग्य र फराकिलो चिन्तक बन्नु परेको छ । जसरी रुखले धनी, गरिब, ठूलो, सानोको भेद नगरी समान हिसाबले आफ्नो गुण बाँडिरहेको हुन्छ त्यरी नै जीवनले पनि आफ्नो लागि नभइ अरुको लागि रचना भएको हो भन्ने युक्ति बुझी आफूलाई पहिचान दिनु परेको छ ।
प्रकृतिको नियमभित्र बाँचेको जीवतत्वलाई प्रकृतिविहीन बनाइ बाँच्छु भन्ने सोच बढाउनु हुँदैन । अहिले प्रकृति र सत्यलाई मास्ने प्रवृत्तिले निकै प्रश्रय पाइरहेको छ । यदि यसलाई यसरी नै विनाश गर्दै जाने हो भने आगामी पिढीले कसरी बाच्ने आधार तयार गर्छ ? हावा, पानी बिनाको जीवन कल्पना गर्न सकिँदैन । भौतिक विकासले जतिसुकै फड्को मारे पनि जीवनको आधारभूत तत्वप्रतिको मानवीय चिन्तन यदि सकारात्मक प्रवृत्ति उन्मुख नहुने हो भने परिस्थिति कुन मोडमा टुङ्गिने हो ? कल्पना गर्दा पनि कहाली लाग्दो हुन्छ ।
तसर्थ, प्रकृति छ त जीवन छ भन्ने सोच वृद्धि गरी साँघुरिँदै गएको हाम्रो सोच र चिन्तनलाई फराकिलो दायरातर्फ उन्मुख गराउनु जरुरी छ । अन्तरआत्माभित्र रहेको दिव्य गुणलाई सर्वे भवन्तु सुखिनको सिद्धान्तभित्र मुखरित हुने गरी जीवन र जगतलाई जान्ने कोशिस गर्नु मानवीय उद्देश्य पनि हो । यही उद्देश्य पूरा गर्नु जीवनको लक्ष्य पनि हो ।
त्यसैले मनभित्रको अशान्ति नै क्रोध, मोह, अहंकार र अविश्वास हो भन्ने बुझी प्रत्येक मानव आत्माले आफूलाई फराकिलो र सगुनसाकार चिन्तकतर्फ आकृष्ट गर्नुपरेको छ । जीवन खुला किताब हो र यसको विचार, कर्म र व्यवहार पनि खुला हुनु पर्छ । संकुचित विचार र कुण्ठित मनले मानिस कहिल्यै सफल हुन सक्तैन । त्यसैले मनको ढोका उघारी सकारात्मक भाव जगृत गर्दै मनलाई खुला राखौँ ।
सबैप्रति उत्तिकै जवाफदेही र जिम्मेवार बनौँ । हुन त कतिपय अवस्थामा खुलापनलाई केही अवसरवादीले गलत प्रयोग नगर्लान् भन्न सकिन्न । तसर्थ, यसकुरालाई समेत मध्यनजर गरी जीवनलाई खुला किताब बनाऔँ । यसैबाट जीवनले सफलता हासिल गर्न सम्भव हुन्छ र वर्तमानको आवशयकता पनि हो ।