आयुर्वेदका डिन बाहिरिए, उपकुलपतिलाई जानकारी छैन !

खेमराज रिजाल
बेलझुण्डी, १४ चैत । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सञ्जय पोख्रेल पदीय जिम्मेवारीबाट बाहिरिएका छन् । डिन पोख्रेलले आफू प्राध्यापन पेशामा मात्र रहने चाहनाअनुरुप डिनको जिम्मेवारीमा नरहने भन्दै गत बिहीवार आफ्नो पदबाट राजीनामा दिएको पत्रकारसामु बताएका छन् । तर उनले राजीनामा पत्र कहाँ दिए र बोधार्थ कसलाई दिए भन्ने विषयमा कुनै पनि निकायले आधिकारिक पुष्टि गरेका छैनन् ।

विश्वविद्यालयका उपकुलपति यादव लामिछानेले डिनको राजीनामा बारे आफूलाई औपचारिक र अनौपचारिक कुनै पनि रुपमा जानकारी नभएको बताएका छन् । ‘तपाईले भनेर मात्रै यो जानकारी पाएँ, यहाँ कहिँकतै पनि यो खबर सुनेको छैन, उहाँसँगको भेटमा पनि यो विषयमा कुनै कुरा भएन’, उपकुलपति लामिछानेले भने । यो अवस्थाले उनको राजीनामा पनि केही बार्गेनिङका लागि हुनसक्ने पनि आशंका उत्पन्न भएको छ ।

डा. पोख्रेल लगातार दुई कार्यकाल डिन नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल गत फागुन महिनामा सकिएको थियो । उनलाइ विश्वविद्यालय कार्यकारी परिषद्ले पुनः चार बर्षका लागि डिन नियुक्त गरेको थियो । ‘आफूले चाहेअनुसार काम गर्न सकेको जस्तो अनुभूति हुन सकेन, यो अवस्थामा धेरै समय उही पदीय जिम्मेवारीमा रहिरहन उचित ठानिनँ र राजीनामा दिएको छु’, डिन पोख्रेलले गोरक्षलाई भने ।

उनले राजीनामाबारे अन्य थप केही बोल्न चाहेनन् । उनी बाहिरिनुपर्ने राजनीतिक कारण भने होइन । उपकुलपति, रेक्टर, रजिष्टार र सेवा आयोग अध्यक्षसमेत एमालेकै निकट भएका कारण सिफारिसमा परी नियुक्त भएको कर्मचारी स्रोतले बताएको छ । स्रोतका अनुसार चारै पदाधिकारीबीच राजनीतिक बेमेल भने छैन ।

डिनले नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धित निकायमा राजीनामा दिएको र त्यसको बोधार्थ विश्वविद्यालय पदाधिकारीलाई समेत दिएको बताएका छन् । यद्यपि नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीले भने राजीनामा दिएको औपचारिक पुष्टि गरेका छैनन् । ‘उहाँको राजीनामाबारे कुनै पत्र यो सचिवालयमा आएको छैन’, उपकुलपतिको सचिवालयका अधिकारी प्रदीप गौतमले भने ।

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद संस्थान मातहतको केन्द्रीय आयुर्वेद विद्यापीठ विगत केही समयदेखि अस्तव्यस्त छ । कर्मचारीको नियमित उपस्थितिमा समस्यासँगै प्राध्यापकहरुले क्याम्पसमा नियमित हाजिरी जनाउनै इन्कार गर्दै आएका छन् । प्राध्यापकहरु क्याम्पसमा नियमित उपस्थिति नहुँदा विद्यार्थीको पठन–पाठनमै व्यापक समस्या देखिएको छ ।

यहाँ कार्यरत प्राध्यापकहरु क्याम्पसमा पढाउनुभन्दा भाइभाका लागि अन्य क्याम्पसमा दौडधुप बढी गर्ने प्रवृत्तिका कारण विद्यार्थीको पढाइमा समस्या मात्र होइन परीक्षाको सेमेस्टर पनि प्रभावित हुँदै आएको छ । साढे ५ बर्षे बिएएमएस कोर्ष पूरा हुन साढे ७ बर्षसम्म लागेको छ ।

आवश्यकताअनुसार जनशक्तिको व्यवस्थापनमा विश्वविद्यालय कार्यकारी परिषद् नै गम्भीर बन्न नसक्दा ५१ जना प्राध्यापकको दरबन्दी भए पनि १२ जना प्राध्यापकको भरमा बिएएमएस क्याम्पस चल्दै आएको छ ।

प्रयोगशालामा आवश्यक जनशक्तिको पनि व्यवस्थापनमा विश्वविद्यालय पदाधिकारीहरु कानमा तेल हालेर बसेको विद्यार्थीका अभिभावकहरुले बताएका छन् । विश्वविद्यालयका पदाधिकारी भने पछिल्लो कार्यकालमा विश्वविद्यालयका यसअघि चल्दै आएका शैक्षिक कार्यक्रमलाई कोल्यास्प पार्ने रणनीतिअनुरुप नयाँ कार्यक्रमका नाममा सिनेटबाट बजेट स्वीकृत गराउँदै आएका छन् ।

‘डिनको राजीनामा आयुर्वेद अध्ययन संस्थानले निर्माण गर्ने भनिएको बोटानिकल गार्डेनसँग पनि जोडिएको छ’, एकजना विश्वविद्यालयका अधिकारीले भने– ‘तीन बर्षअघि बोटानिकल गार्डेन निर्माणका लागि आएको करिब २ करोड रुपैयाँ हरेक बर्ष फ्रिज हुँदै आएको छ । बोटानिकल गार्डेन निर्माणको डिपिआर दुई÷दुई पटक बन्यो, तर स्वीकृत अझै भएको छैन ।

डिपिआरमा कहिले भिसीको असहमति हुन्छ त कहिले रजिष्टारको विमति, यही कारण हरेक बर्ष बजेट फ्रिज हुँदै आएको हो । ‘दुई÷दुईपटक डिपिआर बनायौं, कहिले भिसीले यो मिलेन भन्नुहुन्छ, कहिले रेक्टरले यो मिलेन भन्नुहुन्छ’, डिन पोख्रेललाई उद्धृत गर्दै विश्वविद्यालय स्रोतले भनेको छ । बजेट प्राप्त भएर पनि तीन बर्षसम्म बोटानिकल गार्डेन निर्माण हुन नसक्दा यही गार्डेनको अवलोकन गर्न आफ्नै पैसा खर्च गरेर कास्कीसम्म धाउनुपर्ने बाध्यता रहेको छ ।

हाजिरी विवाद

त्यस्तै आयुर्वेद अध्ययन संस्थानकै मातहतको आयुर्वेद केन्द्रीय विद्यापीठमा हाजिरीका विषयमा समेत विवाद सिर्जना भएको छ । क्याम्पस प्रशासनले कर्मचारी र प्राध्यापक दुवै समूहलाई क्याम्पसमा अनिवार्यरुपमा हाजिरी गर्न निर्देशन दियो । तर प्राध्यापकहरुले आफूहरुले कक्षा भएको दिन मात्रै उपस्थिति जनाउने भन्दै डिजिटल हाजिरीमा असहमति जनाएपछि कर्मचारीले पनि हाजिरी नगर्ने बताउँदै डिजिटल हाजिरीका सिस्टममै अवरोध पुराएको बताइएको छ ।

क्याम्पस प्रशासनले कार्यरत प्राध्यापकहरुलाई थप इन्सेन्टीभ समेत दिएर नियमित क्याम्पसमा आउनेगरी नियुक्त गरेको थियो तर प्राध्यापकहरुले क्याम्पसमा शिक्षणका लागि ओपिडी सेवा नचलेको र कक्षा समयभन्दा बाहेक क्याम्पसमा बसिरहनुको औचित्य नभएको भन्दै हाजिरी बहिष्कार गरेका हुन् । उनीहरुले प्राध्यापक भनेको सम्मानित पेशा भएको स्वदावी गर्दै आफूहरु आफ्नो कक्षाको पालो नपरेको दिन क्याम्पस आउनु नपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा समेत यस्तै नियम रहेको उनीहरुले दावी गरेका छन् । यद्यपि कर्मचारीहरुको भने अर्कै आरोप छ । ‘प्राध्यापकहरुलाई नियमित उपस्थितिका लागि विश्वविद्यालयले नियमित पारिश्रमिकमा ५० प्रतिशत इन्सेन्टीभ थप गरेर उपलव्ध गराउने गरेको छ, तर उहाँहरुले नियमित हाजिरी गर्नु नपर्ने हामीहरुलाई मात्र नियम किन ?’, एक कर्मचारीले भने– ‘व्यवहार र कानुन सबैलाई एकै हुनुपर्दछ ।’ यसले क्याम्पस प्रशासनलाई थप तनाब बनाएको छ ।