४४ औं नेत्रज्योति दिवस : आँखा सेवामा साझेदारी

बालाराम खड्का
तुलसीपुर, १३ चैत । ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने मूल नाराका साथ ४४औँ नेत्रज्योति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाल नेत्रज्योति संघले सरकारबाट विधिवत्रुपमा नियमित बजेट नपाइरहेको अवस्थामा पछिल्ला केही बर्षयता संघीय सरकार, प्रदेश सरकार, पालिका, स्थानीय दातृ निकायको सहयोग तथा विदेशी संस्थाहरुको सहयोगबाट दाङमा दुईसहित लुम्विनी प्रदेशमा तीनवटा सुविधा सम्पन्न आँखा उपचार अस्पताल सञ्चालनमा ल्याएको छ ।

नेपाल नेत्रज्योति संघले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएको छ । नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४४औं नेत्रज्योति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीरुले नेत्र रोगीहरुका लागि संघले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा सल्लाहकार उमाकान्त पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले संघले जिल्लाका लमही, तलसीपुरमा र कपिलबस्तुमा अस्पताल तथा अन्य स्थानमा उपचार केन्द्रहरु सञ्चालन गरी उपचार सेवा दिएको भन्दै गुणस्तरीय सेवा जनताले पाएको बताए ।

‘नेपालमा नेत्र ज्योति संघले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ, यहाँ पनि आँखाका बिरामीहरुले सहज र सुलभसेवा पाएका छन्’, उनले भने । त्यस्तै संघका सल्लाहकार ढुण्डीराज लामिछानेले नेपाल नेत्रज्योति संघले नेपालमा अन्धोपन न्यूनीकरणका लागि खेलेको भूमिका महत्वपूर्ण भएको बताए । ‘यहाँका जनताले संघद्वारा सञ्चालित अस्पतालहरुबाट गुणस्तरीय सेवा पाएका छन्, अन्धोपन न्यूनीकरणका लागि एउटा गैरसरकारी संस्थाले खेलेको भूमिका महत्वपूर्ण छ’, उनले भने । यदि दातृ निकायको सहयोगमा सरकारले यस्ता अस्पताल सञ्चालन गरेको भए सायद ती अस्पताल हालसम्म बन्द भैसकेका हुनसक्ने पनि लामिछानेको अभिव्यक्ति थियो ।

त्यस्तै कार्यक्रममा लायन्स क्लवका एक्जुकेटिभ चिफ लव अधिकारीले आँखाको क्षेत्रमा संघले महत्वपूर्ण भूमिका खेलको बताए । उनले अन्धोपन न्यूनीकरणका लागि आफूहरुले पनि साझेदारी गर्ने भन्दै सहयोग र साथ रहने बताए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले पत्रमार्फत सन्देश पठाएर नेपालमा नेत्ररोगीहरुको कल्याणको लागि नेपाल सरकारको नीति र राष्ट्रिय कार्यक्रममा सघाउ पु¥याउने गरी स्वदेशमै बिभिन्न प्रकारका आँखा उपचारको सुविधा पु¥याउन नेत्ररोगबाट बचाउ गर्ने र उपचारबाट ठीक नभएका न्यूनदृष्टि तथा दृष्टिविहीनहरुलाई पुनःस्थापनसमेत गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापना भएको र संघले आगामी दिनमा पनि विशेषज्ञ सेवा दिने बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले अन्धोपन न्यूनीकरणका लागि स्थानीय प्रदेश र केन्द्रीय सरकारसँग विभिन्न साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । उनले सबैको साथ र सहयोगले यस क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवा आफूहरुले दिन सफल भएको बताए । त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले नेपालमा ९० प्रतिशत जनतालाई संघद्वारा सञ्चालित अस्पतालहरुले आँखा उपचार सेवा दिएको बताए । उनले यहाँ सञ्चालन भएका अस्पताल र उपचार केन्द्रहरुले स्थापनाकालदेखि हालसम्म करिब ३१ लाख ७३ हजारलाई सेवा दिएको र १ लाख ९९ हजार बढीको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बताए ।

थापाले संघमा समाजसेवीहरुको योगदान महत्वपूर्ण भएको बताए । कार्यक्रममा लायन्स क्लवका पाष्ट एरिया चिफ युवराज थपलिया, नेत्रविशेषज्ञ डा. सन्तोष सुवेदी, समाजसेवी प्रणव खड्का, पत्रकार सुनिल पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा आँखा उपचारको क्षेत्रमा योगदान पु¥याएको भन्दै कदरपत्रसहित लमही आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. निता सुनाम, छन्द कालेबाबु नारायणी आँखा अस्पतालका नेत्र सहायक ओपेन्द्र चन्द, सुलिचौर आँखा उपचार केन्द्र रोल्पाका प्रमुख प्रविण डाँगी, लमही आँखा अस्पतालका सवारीचालक छेदुराम चौधरी, राप्ती आँखा अस्पतालकी कार्यालय सहयोगी लिलाकला सारु पुनलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा सहयोगस्वरुप लायन्स क्लवका एक्जुकेटिभ चिफ लव अधिकारीले २ हजार ३१० वटा करिब ८ लाख बढीको चश्माको फ्रेम आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई हस्तान्तरण गरेका थिए । त्यस्तै समाजसेवी प्रणव खड्का र ध्रुव गौतमले प्रत्यक बर्ष नेत्रज्योति दिवसमा एकजना विपन्न र आर्थिक अवस्था कमजोर भएकाहरुलाई फेको प्रविधिबाट निःशुल्क आँखाको शल्यक्रिया गरिदिने घोषणा गरेका थिए । नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव चिरञ्जीवी रिजालले गरेका थिए ।