जथाभावी उत्खनन्ले सिँचाईमा समस्या

शिवराज खनाल
दाङ, ७ चैत । दाङमा जथाभावीरुपमा नदीजन्य वस्तुको उत्खनन् भएपछि सिँचाईमा समस्या पर्न थालेको छ । राप्ती नदीको प्रगन्ना तथा बड्कापथ कुलो सिँचाई आयोजनालाई प्रभावित हुनेगरी उत्खनन् गरिएको भन्दै सिँचाई सुविधा उपभोग गरिरहेका किसान चिन्तित बनेका छन् ।

प्रगन्ना कुलो सिँचाई आयोजनाको मुहान नजिक राप्ती नदीमा ढुंगाजन्य वस्तुको उत्खनन् गरिएको छ । शितगंगा नगरपालिकाले ठेक्का लगाएर ढुंगाजन्य वस्तु उत्खनन् थालेपछि प्रगन्ना कुलो सिँचाई आयोजनाको मुहान जोखिममा परेको प्रगन्ना कुलो सिँचाई प्रणाली जल उपभोक्ता संस्थाका मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरी बताउँछन् । ‘यसै क्रमले उत्खनन् गर्दै जाने हो भने भोलि देउखुरीका खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुनसक्छ, यसमा सम्बन्धित निकायको ध्यान चाँडै पुगोस्’, चौधरीले भने ।

अहिले भैरहेको उत्खनन्ले बड्कापथ कुलो सिँचाई आयोजनाको नवनिर्मित संरचनामा समेत असर पर्ने देखिएको छ । ८० सेन्टिमिटर मात्रै गहिरो बनाउनुपर्ने भए पनि राप्ती नदीमा दुई मिटर गहिरोगरी नदीजन्य वस्तु उत्खनन् गरिएको र नदीले दक्षिणतर्फ धार बदल्ने जोखिम बढेको बड्कापथ कुलो सिँचाई प्रणाली जल उपभोक्ता मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीको भनाइ छ । हरेक बर्ष प्रगन्ना तथा बड्कापथ सिँचाई आयोजनालाई असर पर्नेगरी नदीजन्य वस्तुको उत्खनन् भइरहेको छ ।

तत्कालको मात्रै फाइदा हेरेर नदीजन्य वस्तु उत्खनन् गर्न अनुमति दिइने गरिएको छ । तर, यसरी जथाभावी गरिने उत्खनन्ले भविष्यमा पानीको संकट उत्पन्न हुने जोखिम बढेर गएको छ । प्रगन्ना कुलो सिँचाई आयोजनाअन्तर्गत राप्ती नदीको पानीबाट करिब ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाई सुविधा पुग्दै आएको छ ।

तर, बेलाबखत हुने अनियन्त्रित उत्खनन्ले बर्षेनी सिँचाईको समस्या थपिदै गएको स्थानीयको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन् जथाभावी हुँदा त्यसले सिँचाई प्रणालीमा असर गर्ने भएकाले यस्ता जनसरोकारको बिषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।