गाउँलेहरूले के पाए ?

युवराज शर्मा
नेपाल गाउँ–गाउँले भरिएको समाज छ । गाउँघरको सामाजिक वातावरण शान्त र प्रकृतिप्रेमी छ । प्राकृतिक सुन्दरता, वातावरणीय अवस्था मानव स्वास्थ्यका लाग लाभप्रद छ । वास्तवमा प्रकृतिप्रेमीहरुका लागि गाउँ सुन्दरको प्रतीक पनि हो । प्रकृतिसँग रमाउनेवर्गका लागि गाउँले बसोबास र गाउँघरको जीवनशैली सरल पाइन्छ । यसले मानिसलाई जिउने कला सिकाउँछ । त्यसैले होला गाउँलेहरुको जीवनशैली साधारण छ ।

स्वच्छ मनोभावनाका छन् । मिहिनेती, काम, कार्यप्रति जुझारु छन् । आफ्ना इष्टमित्र, पाहुनाहरुप्रति आदरभाव गर्छन् । उनीहरुमा घृणाभाव पाइन्न । आफ्नो आय स्रोतमा निर्भर छन् । देशमा जति पटक सरकार फेरबदल भए पनि गाउँलेहरुले कुनै प्रकारको सामाजिक परिवर्तन पाएनन् । उनीहरु परम्परावादी अवस्थाबाट माथि उठ्ने वातावरण पाएनन् । शिक्षा, स्वास्थ्य, रोजगार पाएन् । निजी क्षेत्रमा रोजगारको वातावरण भएन । सरकारी क्षेत्रमा रोजगारको वातावरण पनि देखिएन ।

यदाकदाका रोजगार देखिए पनि सहरबजार केन्द्रित व्यक्तिको लागि भए, जो पहुँच र सम्बन्धका थिए । गाउँलेहरुको रोजगार पनि वैदेशिक क्षेत्रहरुमा दलालमार्फत् गन्तव्य देश जाने अवस्था छ । त्यो पनि मोटो रकम लिएर भिजिट भिसामा पठाउने कामका लागि रोजगार विभाग दलालहरुको इसारामा चलेको गुनासो गर्छन् । अत्यधिक दुःख, कष्ट र यातना भोग्नु परेका घटनाहरु सुनाउँछन् । कतिपय व्यक्तिहरुका आफन्तहरुले आफ्नो मान्छे जेलमा परेको र मृत अवस्थामा लाश बुझ्न हवाई मैदानमा बोलाइएको दुःखद् समाचार गाउँघरमा सुनिन्छ ।

गाउँघरमा भएका शिक्षण संस्थाहरुमा पठन–पाठन कार्य प्रभावकारी छैन । विद्यार्थीहरु विषयगत ज्ञानको अभावमा र सीपको प्रयोग गर्न नसकेर पछुताइरहेका छन् । उनीहरुको पढाइ कमजोर भएकोले प्रतिस्पर्धात्मक जाँचमा पछि पर्छन् । विद्यार्थीहरुले पढेको विषयवस्तुहरुलाई अभ्यास र प्रयोगमा ल्याउन सक्दैनन् । गाउँलेहरुका छोराछोरीहरुले गाउँको स्कूलको पढाइबाट जीवनशैलीमा परिवर्तन पाएनन् ।

जबसम्म शिक्षामा गाउँ स्तरका विद्यालयहरुको पढाइमा सुधार हुँदैन तबसम्म गाउँलेहरुले पाए र के गुमाए ? सोधियो भने शिक्षामा पछि परेको जीवनशैली पाए भन्छन् । त्इसैले होला गाउँ छोडेर सहर बजारका शिक्षण संस्थाहरु गाउँलेहरुका रोजाइमा परेका छन् । स्थानीय तहको सरकारले गाउँलेहरुका शिक्षण संस्थाहरुमा सुधार ल्याउन नसकेपछि सहर केन्द्रित पठनपाठन भएको हो । गाउँघरमा भन्दा पढाइ राम्रो सहरमा हुन्छ, भनाइलाई स्थानीय सरकारले सार्थकता दिएको भनाइ गाउँलेहरुको आवाज छ ।

देशमा राजनीतिक परिवर्तन भएको छ तर नागरिकको जीवनशैली सरल भएन, कष्टकर र पीडाबोध भयो । त्यसमा पनि गाउँलेहरुको जीवनशैली दिन प्रतिदिन ओरालो लागेको छ । उनीहरुका छोराछोरीहरुको ज्ञान र सीपको विकास हुन सकेन । गाउँले केटाकेटीहरु, सहर बजार बसेका मानिसहरु गाउँमा अएपछि डराउने प्रवृत्ति छ । सोधेको कुराहरु भन्न सक्दैनन् । अभिव्यक्त गर्नेहरुमा डरको भावना यद्यपि छ ।

विश्व परिवेशलाई हेर्दा मानिसहरु चार प्रकारका प्रवृत्तिहरु भएका पाइन्छन् । जसमा बौद्धिकवर्गका, पेशागत कर्म गर्नेहरु, व्यावसायिक कार्यमा भएकाहरु र राजनीतिक कर्म क्षेत्रमा दलीय भावना भएकाहरु देखिन्छन् । यिनीहरुमा उच्चवर्गका बोद्धिक व्यक्तित्वहरु हुन् । अवसर र मौकामा चौकाको समय ताक्नेहरु राजनीतिज्ञहरुहुन् । उनीहरुले सहरकेन्द्रित राजनीति गर्छन् । निर्वाचनका समयमा गाउँघरमा घुम्छन्, उनीहरु मतदातालाई आफ्नो पोल्टोमा पार्न धेरै जालझेल पनि गर्छन् ।

त्यसैले होला राजनीति एउटा फोहरी खेल हो पनि भन्छन् तर राज्य चलाउनेहरु नै राजनीतिज्ञहरु हुन् । उनीहरुले सहरलाई सुन्दर बनाउने गर्छन् । गाउँको सुधार गर्दैनन् । उनीहरुको जीवनशैलीमा परिवर्तन ल्याउने काम गर्न सकेको पाइन्न । यो ज्यादै दुःखपूर्ण व्यवहार पनि हो । गाउँमा हुर्केको केटोले गाउँको विकास गर्ने कार्य गरेको धेरै ठाउँमा पाइन्न ।

उसले गाउँलेहरुलाई के दियो ? भन्न सकिन्छ । गाउँलेहरुका लािग शिक्षाको विकास गरिदिएर बालबालिकाको भविष्य उज्ज्वल पारिदिने, स्वास्थ्योपचारका लागि सरल र सहज वातावरण बनाइदिने, रोजगारको वातावरण बनाइदिएर आर्थिक स्रोतको मुहान बनाइदिने । तब मात्र गाउँलेहरुले गणतन्त्र अनुभुति गर्ने थिए । सरकारले गाउँलेलाई केही दिएको र आफूहरले केही पाएको अनुभूति गर्ने थिए ।

नेपालमा तीन तहका सरकार भए पनि गाउँलेहरुको सरकार स्थानीय तह हो । जहाँ गाउँलेहरुका जनप्रतिनिधिहरु हुन्छन् । जसले गाउँलेहरुका समस्याहरु बुझेका हुन्छन् । उनीहरुले समस्याको पहिचान गर्न सक्छन् र पारदर्शीता अपनाउँछन् । जनप्रतिनिधिहरुमा जवाफदेही भएन र काम गर्ने दक्षता देखिएन भने पदासिन व्यक्तिको व्यक्रित्व जनमानसमा भिज्न र मिल्न सक्दैन । यसले गाउँ तहमा प्रभावकारिता ल्याउन जनप्रतिनिधिहरु सफल हुँदैनन् ।

त्यस्तो वातावरण भयो भने जनप्रतिनिधिहरुको कार्यलाई गाउँलेहरुले प्रशंसा गर्ने हुँदैन । त्यस समयमा गाउँलेहरु निराश बन्छन् । उनीहरुलाई नैराश्यता मात्र हात लाग्छ । त्यस्ता जनप्रतिनिधिहरुले नागरिकलाई सान्त्वना दिन सक्दैनन् । उनीहरुलाई घृणाबोध हुन्छ । गाउँलेहरुले जीवनमा आर्थिक, सामाजिक, शैक्षिक, नैतिक र पारिवारिक समस्यालाई सुधार गर्न सकेको अवस्था छैन ।

आर्थिक समस्याका अवस्थामा सुधार गर्न विदेशी भूमिमा पसिना बगाउनुपर्ने वाध्यता छ भने विद्यालयको पढाइ छोडेर आर्थिक जोहो गर्न विदेशीहरुको शरण पर्नुपर्ने वाध्यता युवावर्गलाई छ । कसरी गरिब परिवारको छोराछोरी प्रतिभाष्शाली बन्न सक्छन् ? उनीहरुले आफ्नो जीवनशैली कसरी सुधार गर्न सक्छन् ? अनुमान गर्न सकिन्न । जब सामाजिक वातावरण स्वच्छ हुँदैन तब युवावर्गमा नैतिकताको विकास गर्न सक्दैनन् । पारिवारिक समस्या सुल्झँदैन । युवाहरुमानसिक रुपमा पीडित बन्छन् ।

गाउँलेहरु दिन प्रतिदिन आर्थिक र सामाजिक अवस्थामा कमजोर बन्दैछन् । उनीहरुमा पारिवारिक समस्या बढेको छ । त्यस्ता समस्यामा खाद्य, लुगाफाटो, उपचार खर्च र शिक्षाको शुल्कबाट पीडित छन् । सरकारले सार्वजनिक स्थलमा भएका सामुदायिक विद्यालयहरुलाई निःशुल्कसरकारले भने पनि गाउँलेहरुले छोराछोरीको शुल्क तिर्न नसकेर पढाइ छोड्नु परेको अवस्था छ । यसतर्फ सरकारको ध्यान पुगेको छैन ।

गाउँले विद्यार्थीहरुको पढाइ वैदेशिक रोजगारमा सीमित भएको छ । उनीहरुले स्वास्थ्य शिक्षाको पढाइ प्रतिस्पर्धा गर्न स्क्दैनन् । उनीहरुको लागि डाक्टर विषय पढ्नु आकाशमो फल आँखा तरी मर भन्ने उखानमा सीमित भएको छ । सहरबासी विद्यार्थी र गाउँमा बस्ने विद्यार्थीबीचमा प्रतिस्पर्धात्मक जाँच गराउँदा डाक्टर बन्ने अवसर गाउँले विद्यार्थीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सकेको अवस्था छैन ।

जतिसुकै प्रतिभाशाली भए पनि गाउँको विद्यार्थीले स्थान पाउन सक्दैन । उसको पहुँच र सम्बन्ध पनि पुग्दैन । उसमा भएका प्रतिभाहरु निराशमा परिणत हुन्छ । त्यसैले होला, गाउँलेहरु भन्छन्– राजनीतिक परिवर्तन जति भए पनि गाउँको परिवर्तनमा मानवीय, सामाजिक, शैक्षिक अवसर र वातावरणीय सुधार गर्ने गरिएन ।

यस्ता विषयमा सुधार हुनु पर्दथ्यो तर राज्य सत्ता चलाउनेहरु व्यक्तिगत स्वार्थमा गएका दृश्यहरु देखिएको अवस्था छ । गाउँ–गाउँले भरिएको नेपालमा गाउँकेन्द्रित राजनीति नहुनु दुःखलाग्दो छ । त्यसैले गाउँलेहरुले के पाए, के गुमाए ? बुझ्नुपर्छ । उनीहरुले आफ्ना सन्तानहरुको भविष्य अन्धकार भएको पाए ।