गोरक्ष समाचारदाता
दाङ, १ चैत नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा प्रतिगमनको खतरा रहिरहेकोे बताएका छन् । प्रगतिशील पत्रकार संघ नेपाल दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले यस्तो बताएका हुन् ।
राजावादीहरू गणतन्त्रलाई निस्तेज पार्दै राजतन्त्रलाई मलजल गर्ने दाउमा लागेकाले देश खतरामा पर्न लागेको बताए । प्रतिगमनकारीहरू संसदीय चुनावमा नआउने तर बाहिरबाट टाउको उठाउने काम गरिरहेको हुँदा जनता बेलैमा चनाखो भइ उनीहरूको भण्डाफोर गर्नुपर्ने उनको भनाइ थियो । हिजोका राजावादी शक्तिहरूको विरूद्ध देशमा लामो समय आन्दोलन भएको स्मरण गराउँदै उनले अहिले संसदीय व्यवस्थामा रहेर राजनीति गर्नेहरूबाटै बढी खतरा बढेको तर्क गरे ।
‘खासगरी यो काम केपी ओलीबाट सुरु भयो, आफ्नै गलत कामले उनी आफै पछि संसद्मा अल्पमतमा परे, केन्द्रदेखि प्रदेशसम्म यसको क्षति व्यहोर्नु प¥यो’, महामन्त्री सिंहले भने, ‘अहिले पनि उनको गलत काम जारी छ, धर्म निरपेक्षता, गणतन्त्रमा बारम्बार प्रहार गरिरहेका छन् । पशुपति नाथ मन्दिरमा सुन चढाउनदेखि, राममन्दिर पूजा गर्ने काम जसरी उनीबाट भयो यो देशलाई हिन्दू राष्ट्र बनाउन लागेको स्पष्ट हुन्छ ।’
बेतुकका कुरामा अल्मल्याएर देशमा राजावादीलाई ल्याउन खोज्नुले भारत पनि यो अभियानलाई सघाउन अदृश्य रूपमा लागेको उनको आरोप छ । नेपालका राजावादी र भारतका कट्टर हिन्दूवादीबीच साँठगाठ बढ्नु राम्रो संकेत नभएको बताउँदै उनले ओलीको प्रतिगमन विरूद्ध लड्न पाँचदलीय गठबन्धन बनेको जिकिर गरे ।
यस्तै ओलीको प्रतिगमन विरूद्ध लड्न पाँच दलीय गठबन्धन बने पनि पछिल्लो समय संसद्बाट एमसीसी पास भएपछि आफूहरू सरकारबाट अलग भएको बताए तर सरकारलाई दिएको समर्थन फिर्ता नलिएको उनको भनाइ छ । ‘एमसीसी देशमा गम्भीर खतराका रूपमा रहेको छ तर कांग्रेसले देश विकासको आधारका रूपमा रहेको भन्दै जनतालाई भ्रम छर्ने काम गर्दैछ, जति प्रचार गरे पनि यो देशको बाधकको परियोजना हो । नेपालको राजनीतिसँगै अर्थतन्त्रमा पनि अमेरिकाले हस्तक्षेप गरिरहेको उदाहरणका रूपमा यसलाई लिनुपर्छ’, उनले भने ।
यसैगरी आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले कांग्रेस भित्रको ठूलो शक्ति निर्वाचनमा एक्लै लड्ने दाउमा रहेको बताउँदै गठबन्धनमा रहेका माधव नेपाल, प्रचण्ड भने मिलेर अघि बढ्ने पक्षमा रहेको बताएका छन् । आफ्नो पार्टी भने निर्वाचनका विषयमा खुला नीतिमा रहेको स्पष्ट पारेका छन् ।
‘तालमेल भएन भने एक्लै पनि चुनाव लड्छौँ, एक्लै लडेर पनि चुनाव जितेको इतिहास हामीसँग छ तर कोशिस तालमेल हुनुपर्छ भन्ने हो’, उनले भने, ‘जितका लागि मात्रै चुनाव होइन, देशको अग्रमन र निकासका लागि निर्वाचन अपरिहार्य हो ।’ चुनावका माध्यमबाट जनताको बीचमा जान सकिने हुँदा यो बाटोमा मसाल अघि बढेको उनले बताए । त्यस्तै उनले आफ्नो पार्टीबाट फुटेर गएकाहरू प्रतिगमन उन्मुख दिशामा लागेको आरोप लगाए ।
उनीहरूको बाटो राष्ट्र हितविपरीत रहेकाले सच्चिएर आउन अपील गरे । गणतन्त्र र बहुदलीय व्यवस्थालाई समर्थन गरेका कारण आफूहरूलाई अहिले दक्षिण पन्थीको आरोप खेपे पनि देशको परिस्थितिअनुसार पार्टी अघि बढेको जानकारी गराए । संघीयता खारेजीको नारालाई हिजोका दिनबाट उठाउँदै आएको र आसन्न निर्वाचनमा पनि संघीयता खारेजीको नारा यथावत रहेको स्पष्ट पारे ।
महामन्त्री सिंहले रुस र युक्रेनबीचको युद्ध विश्वयुद्धको रूपमा अघि बढ्नसक्ने हुुँदा शान्तिका पक्षमा सबै राष्ट्रले आवाज उठाउनु पर्ने बेला आएको बताए । पत्रकार सम्मेलनमा जनमोर्चाका प्रथम उपाध्यक्ष जनकराज शर्मा, जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, जनमोर्चा दाङ अध्यक्ष गणेश आचार्यलगायत जिल्ला स्थित नेता कार्यकर्ता उपस्थित भएका थिए । प्रगतिशील पत्रकार संघका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृष्ण आचार्यले गरेका थिए ।