बालाराम खड्का
तुलसीपुर, २७ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको सहज आपूर्तिका लागि विभिन्न योजनाहरु अगाडि सारेको जनाएको छ । तुलसीपुरमा खानेपानी अभाव हुन नदिन सहलगानी आयोजनादेखि पानीको मुहान संरक्षण पाइपलाइन मर्मतदेखि विभिन्न कार्यहरु सुरु गरेको अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए ।
उनका अनुसार सर्वदलीय, सर्वपक्षीय निर्णयसहित खानी तथा भूगर्व विभाग, बन विभाग, बन मन्त्रालय, खानेपानी मन्त्रालय, खानेपानी विभागमा डेलिगेशन गएको बताए । त्यस्तै खानेपानीले बबईको पानी तुलसीपुरमा ल्याउने तयारी समेत गरेको छ । खानेपानी विभागको सहलगानी आयोजनाअन्तर्गत बबईको पानी तुलसीपुरमा लिफ्टिङ गरी ल्याउने काम अन्तिम चरणमा पुगेको बताएको छ । जसअन्तर्गत करिब ७५ करोडको प्रपोजल तयारी गरी पेश गरेको र सो स्वीकृत हुने प्रक्रियामा रहेको अध्यक्ष भण्डारीले बताए ।
खानेपानी विभागको ७० प्रतिशत र खानेपानी संस्थाको ३० प्रतिशत लागत सहभागितामा सहलगानी आयोजना सञ्चालन हुन लागेको बताएको छ । जसअन्तर्गत आयोजना स्वीकृत भएपछि ६५ करोडभन्दा बढी रकम विभागले दिने र आफूहरुले ३० प्रतिशत थप गरी आयोजना सञ्चालन हुने उनले बताए । ‘आयोजना सञ्चालनका लागि सबै प्रक्रिया पूरा गरेका छौं, अब चैतसम्ममा त्यसको सम्झौता गरी योजनाहरु सुरु गर्ने छौ’, भण्डारीले भने । उनले सह–लगानी आयोजनाअन्तर्गत संरचना निर्माणका लागि आवश्यक जग्गाको टोल विकास समिति तथा वडा कार्यालयको सिफारिसमा व्यवस्था गरेको बताए ।
उनले सम्झौता भएसँगै बैशाखबाट काम सुरु हुने बताए । बबईको पुलदेखि पूर्व ढाई सय मिटर को स्थानदेखि लिफ्टिङ गरी पानी तुलसीपुर ल्याउने तयारी गरेको बताएको छ । त्यसका साथै तुलसीपुर बजार तल विभिन्न आकाशे ट्याङकीहरु बनाउने र डिप बोरिङसमेत खन्ने योजना रहेको सचिव सेवकराम भण्डारीले जानकारी दिए । उनका अनुसार सहलगानी योजनाले करिब ८ हजारभन्दा बढी धाराहरुमा पानी आपूर्ति गर्न सकिने बताए ।
‘सहलगानी खानेपानी आयोजनालाई खानेपानी विभागमा गई लामो छलफलद्वारा प्रक्रिया अगाडि बढाई सम्झौताको अन्तिम चरणमा छ यो आयोजना लागू भए खानेपानीको लागि सहज हुनेछ’, उनले भने । सचिव भण्डारीले बबईको पानी लिफ्टिङबाट तुलसीपुरमा ल्याएपछि तुलसीपुर बजारको तल्लो भेगलाई पानी प्राप्त हुने र माथि तिरको भेगलाई अन्य मुहानबाट पानी वितरण गर्न सकिने बताए ।
हाल ८ हजार १ सय ४४ वटा धाराहरु वितरण गरेको संस्थामा अब पुराना निवेदन दिएकाहरुको धारा जडान भइरहेको र नयाँ करिब ३ हजार धाराका लागि निवेदन आएको जनाएको छ । ‘सहलगानी योजना सञ्चालन भए अब पानीको अभाव हुने छैन् सहजरुपमा खानेपानी आपूर्ति हुन्छ’, सचिव भण्डारीले भने । त्यस्तै खानेपानी संस्थाले सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल, विद्यालय तथा मठमन्दिरलाई तत्कालै धारा स्वीकृत गरिदिने व्यवस्था, पूर्ण अपांगहरुलाई पानी महशुलमा २५ प्रतिशत छुटको व्यवस्था र पानीको अभाव झेल्दै आएकाहरुलाई पानी वितरणमा सहज लतायत धेरै सुधारका कामहरु गरेको दाबी गरेको छ ।