आज विश्व मिर्गौला दिवस, लमहीमा विभिन्न चेतनामूलक कार्यक्रम

शिव राज खनाल
लमही, २६ फागुन । विश्व मृगौला दिवसको अवशरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ । सोही अनुसार दाङको लमहीमा लमही सामुदायिक डायलाइसिस सेन्टरले रक्तदान र जनचेतना कार्यक्रम गरि मनाएको छ ।
सेन्टरले बुधवार लमहीमा रक्तदानको आयोजना गर्यो । बिहीवार लमहीमा स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा, रोगको पहिचान हाम्रो अभियान जस्ता थुप्रै जनचेतनामूलक प्ले कार्ड सहित र्याली निकालेको थियो ।

कार्यक्रमलाई बोल्दै प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले राज्यबाट यो रोगलाई नियन्त्रण गर्न सबैको सहयोग अपरिहार्य रहेको कुरा बताए । प्रदेश सरकारले जिल्लाका पचास सैयाका अस्पतालमा डायलाइसिस सेवा सुरु गर्नका लागि आवश्यक सामाग्री खरिद गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले मृगौलाका बिरामी दैनिक बढेर गएको बताए । लमही नगरपालिकाले प्रत्येक दिन दुईदेखि तीन जना मृगौला रोगका बिरामीलाई डायलाइसिसका लागि सिफारिस गर्ने गरेको जानकारी दिए । लमहीमा यो सेन्टर खोलिनु साबिक राप्ती अञ्चलका जनताका लागि बरदान साबित भएको दाबी गरे । कार्यक्रममा सनलाइट मोर्डन स्कुलका सहायक प्रधानाध्यापक खीम पुन, देउखुरी उद्योग उपाध्यक्ष केशबराज पोख्रेल, अजम्मरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजाल, लमही डायलाइसिस सेन्टरका प्रमुख डाक्टर सबुद खान लगायतले बोलेका थिए ।

जनचेतना मुलक कार्यक्रमका कार्यक्रम संयोजक लोकमान रिजालले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । सेन्टरका अध्यक्षता बसन्त कुमार भण्डारीको अध्यक्षता तथा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मंत्री इन्द्रजित चौधरीको प्रमुख आतिथ्यता र लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण रोटरी कल्ब अफ लमहीका सचिव फणाधर ढकालले गरेका थिए ।