जेरीजस्तै जेलियो फोरलेन

खेमराज रिजाल
दाङ, १२ फागुन । फोरलेन सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने अन्तिम समय भुक्तान हुन अब करिब ३ महिना मात्रै बाँकी छ । अर्थात कारोना भाइरसको संक्रमणको कारण देखाउँदै थपिएको म्याद सन २०२२ मे २१ हो । तर चारलेन सडक स्तरोन्नतिको काम केही महिनादेखि ठप्प छ । कुनै पनि स्थानमा कामदारको उपस्थिति छैन । यस्तो अवस्थामा पनि यहाँ न नागरिकका तर्फबाट विरोधका आवाज सार्वजनिक भइरहेका छन् नत सरकारी निकायले यसको विषयमा केही बोल्न सकेको छ ।

एकपछि अर्को विवादमा फस्दै आएको क्र सडक परियोजना जेरीजस्तै भएको छ । जेरीमा कुन प्वालबाट रस पस्छ, फेद कहाँ ? टुप्पो कहाँ ? पहिचाननै गर्न सकिँदैन । फोरलेन सडक स्तरोन्नतिको काम पनि जेरीजस्तै भएको छ । जेरीको गुलियो स्वादको परिकल्पना गर्दै परियोजनामा छिरेका निर्माण व्यवसायी उम्कन नसक्ने अवस्था भएको छ । काम लगाउने सरकारी निकायलाई पनि जेरीको स्वाद निल्नु न ओकेल्नु भएको छ ।

‘फोरलेन जेरीजस्तै बन्नुमा जति ठेकेदारको दोष छ, त्यत्तिकै दोष सरकारी विषयगत कार्यालयको पनि छ । दुवैको बेइमानीका कारण हामी स्थानीयबासीले सडकमा यो सास्ती व्यहोर्दै आएका छौं’, तुलसीपुर उपमहानगरपालिका–१८ का स्थानीय नागरिक अगुवा डिल्ली डाँगी भन्छन् । उनको भनाइमा समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरेर नयाँ प्रक्रिया सुरु गर्न नसक्ने सरकारी अधिकारीहरु पनि यो परियोजनामा उत्तिकै दोषी रहेका छन् ।

घोराहीको कुइरेपानीबाट तुलसीपुरको हात्तीखौवासम्म करीब १४ किलोमिटर सडकलाई फोरलेन बनाउने काममा खनिएका खाडलहरुले पछिल्लो एक बर्षमै एक दर्जनभन्दा बढीको ज्यान लियो, दुर्घटनामा । दिनदिनै दुर्घटनाको जोखिम बढिरहेको छ । घोराही—तुलसीपुर २३ किमि सडक पार गर्न सार्वजनिक यातायातलाई दुइ घण्टा लाग्ने अवस्था सिर्जना भएको छ । तर फोरलेनको काम सुरु गरिनुको साटो एकपछि अर्को चक्रब्यूहमा फस्न थालेको छ ।

‘हामीले यस परियोजनामा काम नभएको पाएपछि ठेक्का तोड्ने प्रक्रियामा ठेकेदारको बैंक खाताबाट पैसा खिच्दै थियौं, तर अदालती प्रक्रियाका कारण रोकिएको छ, यो विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ’, फोरलेन सडक स्तरोन्नति परियोजना लमही फिल्ड कार्यालयका प्रमुख डिई अर्जुन बमले गोरक्षलाई भने । फोरलेन सडक निर्माणका लागि निर्माण कम्पनीलाई सरकारले १२ करोड रुपैयाँ मोविलाइजेशन खर्चस्वरुप पेश्की उपलव्ध गराएको थियो ।

यसबीचमा जम्मा २ करोडको मात्र बिल पास भएकाले परियोजना कार्यालयले बाँकी रकम खिचेर ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको थियो । पेश्की रकम खिच्न निर्माण कम्पनीको बैंक ग्यारेन्टी बसेको नेपाल बंगलादेश बैंकलाई फोरलेन परियोजनाले पत्र पठाएको थियो । तर बैंकले पैसा पठाउन मानेको छैन । बैंकले अदालती प्रक्रियामा रहेकाले आफूले पैसा खिच्न नसक्ने बताएको छ ।

आज उच्च अदालत पाटनमा छलफल

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर प्रोजेक्ट, नेपाल सरकार फोरलेन परियोजना फिल्ड कार्यालय लमही, तथा परियोजनाको निर्देशनालयलाई समेत विपक्षी बनाएर सुवास श्रेष्ठले उच्च अदालत पाटनमा धरौटी रकम नखिच्न अन्तरिम आदेश जारी गरी पाऊ भनी मुद्दा दिएका छन् ।

यसपछि पेश्की खिच्ने काम रोकिएको परियोजनाका डिई बमले बताएका छन् । यो विषयमा उच्च अदालत पाटनले आज (बिहीवार) दुवै पक्ष–विपक्षलाई छलफलका लागि बोलाएको छ । अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने बिहीवारको छलफलपछि मात्रै जानकारी हुने परियोजनाका प्रमुख बमले गोरक्षलाई बताए । बंगलादेश बैंकमा निर्माण व्यवसायीका तर्फबाट धितो राख्ने व्यक्ति सुवास श्रेष्ठ रहेको पनि परियोजना श्रोतले बताएको छ ।

करीब १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का भएको परियोजनामा काम ठप्प भएपछि ठेक्का तोड्ने प्रक्रियाअनुरुप पेश्की रकम खिच्नका लागि बैंकलाई परियोजनाले पत्राचार गरेको थियो । ‘पटक–पटक तथ्य इन्जिनियरिङका प्रतिनिधिसँग छलफल भए पनि काम सुरु भएकै छैन, यो अवस्थामा ठेक्का तोड्नुको हामीसँग अब कुनै विकल्प छैन’, परियोजना प्रमुख बम भन्छन्– ‘समस्याको जालो जेरीझै जेलिएको छ ।’ परियोजनालाई राजनीतिक संरक्षण हुन नहुने भन्दै अब दाङबासीले यसमा खवरदारी गर्नुपर्ने पनि उनको सुझाव थियो ।

फोरलेन सडक निर्माणका क्रममा आधिकारिक तथ्य इन्जिनियरिङका प्रतिनिधि एकपटक मात्रै दाङ आएर एक बर्षको कार्यतालिका बनाएर निर्माणको काम सक्ने उद्घोष गरेका थिए । उनले तत्काल काम सुरु हुने पत्रकार, नागरिक समाज, प्रशासन प्रमुख र राजनीतिक दलका प्रमुखहरुबीच पनि बोलेका थिए । त्यो बेला उनले त्यसका लागि क्षमा माग्दै अघिल्ला पेटी ठेकेदार अनुप पाण्डेलाई हटाएको र नयाँ पेटी ठेकेदारबाट काम गराउने उद्घोष गर्दै ती ठेकेदारहरुको परिचयसहित प्रतिवद्धता समेत व्यक्त गराएका थिए ।

तर यसबीचमा ती तीनजनामध्येका एकजना ठेकेदारको शव मृत भेटिएको छ । लेनदेनकै कारोवारका कारण हत्या भएको हुनसक्ने भन्दै प्रहरी अनुसन्धान जारी रहेको छ । अरु दुई जना ठेकेदार अहिले कहाँ छन् कुनै पत्तो छैन । अनुप पाण्डेले आफू बाहिरिएको उद्घोष गरिसकेका छन् । तर अनुप पाण्डे बाहिरिँदै गर्दा उनले गरेको कामको मूल्यांकन, लेनदेनको काम र स्वामित्व अन्य ठेकेदारलाई हस्तान्तरणको काम पनि जोलोमै जेलिएको छ ।

लेनदेनकै कारोबार नमिल्दा नयाँ ठेकेदारहरु पनि कार्यक्षेत्रमा आउन सकेका छैनन् । सडक स्तरोन्नतिको काम सुरु नहुँदा दुवै तर्फका किनारासम्म कटिङ गरिएको घोराही–तुलसीपुर सडक एम्बुसजस्तै भएको यातायात व्यवसायीले बताउँदै आएका छन् ।