नारायणप्रसाद श्रेष्ठ
सामाजिक रीतिरिवाज, संस्कृति, संस्कार र परम्परा मानव जीवनलाई उत्कृष्ट आचरणतर्फ अभिप्रेरित गर्ने आधार मानिन्छ । समाजमा विद्यमान संस्कार र आचरणबाट नै जीवनले सहज गति निर्धारण गरेको हुन्छ । समाज जुन गति र परिस्थितिअनुकूल परिचालन भएको हुन्छ सोही अनुरुप मानवीय आचरण मुखरित भएको पाइन्छ । जस्तोसुकै कठिन परिस्थिति वा सहज वातावरणमा जीवनलाई गतिशील गराउँदै लगे पनि समाजमा विद्यमान परिवेशले उसलाई सामाजिक रीतिरिवाजअनुसार चल्न प्रेरित गरिरहेको हुन्छ ।
समाजमा जस्ता व्यवहार, गतिविधि प्रदर्शन भइरहेका हुन्छन्, त्यही अनुकूल मानव जीवनले सोही व्यवहार र आचरण गर्दै गतिशील गर्न वाध्य पनि भएको हुन्छ । मानिस सामाजिक प्राणी भएकोले उ न त समाजबिना बाँच्न सक्छ न त समाजबाटै अलग रहन सक्छ । मानिसको बाँच्ने आधार भनेको सामाजिक रीतिरिवाज, कर्म र व्यवहार नै हुन् । किनकि मानिसले समाजबाटै आदर्श जीवनको पाठ सिकेको हुन्छ । समाजका हरेक गतिविधिबाट ऊ प्रभावित भएको हुन्छ । सामाजिक रहनसहन, रीतिरिवाज र परम्पराले बोकेको संस्कारबाट नै मानिसले जीवन निर्वाहको वातावरण सिकेको हुन्छ ।
समाजबाटै प्राप्त ज्ञान र संस्कारबाट उसले आफूलाई सामाजिक अभियन्ता बनाउन सक्षम भएको हुन्छ । तसर्थ, मानवीय गुणभित्र लुकेको सामाजिक आदर्शता र व्यावहारिक गतिविधिबाट उसले आफ्नो स्तर र मर्यादा स्थापित गरेको सत्यलाई मनन् गरेर समाजमा स्थापित हुने जति पनि रीतिरिवाज, संस्कृति र संस्कार तथा सामाजिक परिवेश छन्, तिनलाई आदर्शउन्मुख बनाउने कार्यमा सबै गम्भीर हुनुपर्छ । विचार र भावनामा शुद्धता ल्याउने प्रवृत्तिको सुरुवात गर्नुपर्छ ।
त्यसैले सामाजिक परिवेशबाट निर्मित मानिसको बुद्धि, विवेक परिस्कृत हुने सत्यलाई बुझी समाजमा विद्यमान संस्कृति र संस्कारलाई जीवनोपयोगी रीति कायम गर्नेतर्फ सधैँ सचेत रहनुपर्छ । जीवन शुद्ध रहे जगत शुद्ध रहन्छ । समाजमा विद्यमान गलत मानसिकतालाई हटाइ त्यहाँ भएका विकृति र विसंगतिलाई हटाउन सदैव सकारात्मक सोच र चिन्तन अगाडि बढाउनु पर्छ । मानिसको सफलता र असफलता एवं सामाजिक प्रतिष्ठा सबै समाजमा विद्यमान रुपरेखाबाट परिस्कृत हुने भएकाले यसलाई बुझी समयको गतिशीलतासँगै समाजलाई आदर्श र स्वच्छ बनाउनु जरुरी हुन्छ ।
समयको गतिलाई हेर्ने हो भने अहिले समाज विविध ध्रुवमा गतिशील भएको पाइन्छ । एउटा निःस्वार्थ चिन्तनभित्रको सामाजिक सहयोगी भावनातर्फ आकर्षित छ भने अर्को स्वार्थपरक चिन्तनभित्र रहेको बनावटी वातावरणतर्फ आकर्षित भएको देखिन्छ । तेस्रो धार आफू पनि स्वार्थी बन्ने, अरुलाई पनि स्वार्थभित्र परिचालन गर्ने गरेको पाइन्छ । यसरी विभिन्नथरि विचारले परिपोषित भावना समाजको संस्कार बन्नेतर्फ उद्यत हुने भएकाले यसतर्फ सावधान हुन जरुरी छ ।
यसरी मानिस सामाजिक प्राणी भएर पनि समाजमा विद्यमान परिवेशलाई उसले आफ्नो मुठीमा पार्ने गलत चिन्तन प्रवाह गरेको अवस्था छ । मानिसका राम्रा, नराम्रा आचरण मुखरित भइरहेका छन् । मानिसभित्र रहेको स्वच्छता र स्वतन्त्रतालाई आफ्नो भावना र विचारसँग गाँस्न स्वार्थपरक भावना मुखरित गरिरहेको अवस्था पनि छ । सामाजिक विकृतिलाई अनुशरण गर्दाको परिणाम मानिस स्वयम्ले भोग्नुपर्ने सत्यलाई बुझ्दाबुझ्दै पनि मानवीय स्वभाव क्षणिक स्वार्थमा अल्मलिइ त्यतैतिर आकृष्ट भइरहेको छ ।
मानिस स्वयम्ले विभिन्न प्रलोभन देखाइ अरुलाई विकृतउन्मुख गराइँदै गरेको अवस्था पनि देखिन्छ । वास्तवमा यस्तो प्रवृत्तिको विकास गर्नु भनेको समाजलाई बिथोल्नु हो । समाजमा विकृतिको भावना बढाउनु हो । जब विकृति र विसंगतिले मानवीय स्वभावमा गलत चिन्तन बढ्न थाल्छ तब समाजको वातावरण समेत धमिलो बन्न गइ सोच र चिन्तनमा नकारात्मक भाव जागृत हुन पुग्छ । यस्तो हुनु भनेको मानिसले आफूले आफैलाई आफ्नो संस्कृति र संस्कारलाई अधोगति उन्मुख गराइ आफै पतीत हुनु हो ।
किनकि हामीले स्थापना गर्ने परम्परा, संस्कृति र आचरण नै नयाँ पिढीको लागि मार्गनिर्देश हुने र सुन्दर र शान्त एवं समुन्नत आदर्श समाज स्थापना हुने हुँदा यसतर्फ बढी गम्भीर हुनु जरुरी छ । भविष्यलाई उज्यालो वा अँध्यारो कुन गतिमा लैजाने त्यो हामै्र सोच, चिन्तन र व्यवहारबाट प्रष्टिने हुँदा हामीले समाजमा स्थापना गर्न खोजेको संस्कृति तथा संस्कारतर्फ बढी चिन्तित र गम्भीर हुनु जरुरी छ । पौराणिक इतिहासलाई केलाएर हेर्ने हो भने त्यसबेलामा मानवीय बुद्धि र विवेकले जुन संस्कृति र संस्कार बसालेका थिए, त्यही रीति र परम्पराले अहिले समाज गतिशील भएको छ ।
फेरि हामीलाई सिकाउने एवं गोरेटो देखाउने अन्तरवस्तुलाई नियालेर हेर्ने हो भने यो हाम्रो जीवनको गतिशीलतामा सामाजिक संस्कार नै प्रमुख भएर अगाडि अइरहेको देखिन्छ । भनिन्छ– सत्संग र व्यवहारबाट नै मानिसको विचारमा शुद्धता देखापर्दछ । गर्न हुने र नहुने कर्मको जानकारी हुन्छ । त्यसैले विविध ध्रुवमा विभाजित मानवीय सोच र चिन्तनले समाजमा पर्ने प्रभावको समयमै मूल्यांकन गरी समाजको आदर्शता, हाम्रो जिम्मेवारी, हाम्रो आचरण र परिवेश, हाम्रै सोच र चिन्तन भनी आफूले आफैलाई समाजको अभिन्न अंग बनाइ इतिहासले दोष नदिने गरी आफ्नो प्रवृत्तिमा सकारात्मक भाव बढाउनु पर्छ ।
अहिलेको समय विज्ञानको समय छ । यस बेला विज्ञानले नयाँ–नयाँ आविष्कार मात्र गरेको छैन, मानवीय सोच र चिन्तनलाई विलाषीतिर पनि त्यत्तिकै मोडेको छ । यसले हाम्रो सामाजिक जीवनलाई समेत असर नपर्ने कुरै भएन । त्यसैले आध्यात्मिक चिन्तन र भौतिक विज्ञानको परिवेशलाई समायोजन गर्दै समाजलाई आदर्श गतिउन्मुख बनाइ भविष्यका आशलाग्दा पालुवालाई असल संस्कार सिकाउन जरुरी रहेको छ । मानिसले व्यावहारिक जीवनमा गरेका कर्मका आधारबाट नै सामाजिक सद्भाव बढ्ने र इतिहास रचिने हुँदा हाम्रो परम्परागत संस्कृति र मान्यतालाई क्षणिक स्वार्थमा प्रयोग नगरी युगान्तरसम्म दिगो रहने स्थायी किसिमले गतिशील हुने सामाजिक आदर्श गतिविधि बनाउनु पर्छ ।
क्षणिक स्वार्थले निम्त्याउने गलत चिन्तनबाट मानव स्वभावमा विकृति देखापर्ने र यही विकृतिका कारण सोच र चिन्तनमा समेत नकारत्मक भाव जागृत भइ समाज दूषित हुने हुँदा हामीले स्थापना गर्ने सामाजिक मान्यतालाई गम्भीर भएर चिन्तन, मनन् गर्नु पर्छ । विकृति आफै जन्मने होइन, यो त मानव चरित्र र सामाजिक संस्कारले ल्याउने परिणति हो । समाजमा देखिने जति पनि गलत चिन्तन र भावना छन्, ती सबै केही गलत सामाजिक तत्वबाट आफ्नो स्वार्थ पूर्तिका लागि सोचेको पाइन्छ । व्यक्तिको अहंकारी सोच र चिन्तन भनेको विकृतिको मुहान हो । यही मुहानबाट अभिप्रेरित स्वार्थी दृष्टिकोणले उब्जाउने मनस्थिति समाजलाई विकृत बनाउने तत्व मानिन्छ ।
तसर्थ, यस्ता तत्वबाट सावधान रही गलत सोचाइका नायिकेको शब्दजालमा नपरी समाजलाई शुद्ध र आचरणयुक्त परिवेशबाट हुर्काउनु जरुरी छ । रीतिरिवाज र संस्कार कायम गर्न मानव स्वयम् जिम्मेवार हुनुपर्छ । समाज मानव निर्मित झुण्ड हो । यो उसको आवश्यकताअनुसार विकसित भइरहेको हुन्छ । त्यसैले समाज निर्माण गर्ने क्रममा मानव आचरणले ल्याउने परिवर्तनबाट समाज गतिशील हुने कुरालाई मनन् गरी खराब आचरणलाई पन्छ्याउँदै सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाको सिद्धान्त अँगाल्दै अगाडि बढ्नु पर्छ ।
समाजमा विकृति बढाउनु भनेको आफैलाई पतन गराउनु हो । त्यसैले इमानदारीपूर्वक समाजको गतिशीलता हाम्रो जिम्मेवारी हो भन्ने भावना जागृत गर्दै सामाजिक रीतिरिवाज र संस्कृति एवं संस्कार स्थापनातर्फ सबै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । आफू उदाहरण बनेर आचरण र व्यवहारमा परिस्कृत गर्दै समाजलाई आदर्श गतितर्फ ल्याउने रीति र थिति कायम गराउनु पर्छ । वर्तमान यही खोजिरहेछ ।