नाममात्रको सुब्बिनी, के खाएर उभ्भिनी ?

मधुसूदन सुवेदी
यतिबेला हाम्रो देश नेपालको नौलो परिवर्तन राजनीतिक अवस्थालाई लिएर जनताको र देश विकासको आधारलाई केन्द्रमा राखेर भन्ने हो भने केवल नाममात्रको भन्दा हुन्छ । अर्थात् यो देशको लोकतन्त्र नाममात्रको हो । यो देशको गणतन्त्र नाममात्रको हो । यो देशको प्रजातन्त्र नाममात्रको हो । यो देशको समाजवाद नाममात्रको हो ।

यो देशको नौलो जनवाद नाममात्रको हो । यो देशको माक्र्सवाद नाममात्रको हो । यो देशको लेनिनवाद नाममात्रको हो । यो देशको नयाँ नेपाल नाममात्रको हो । यो देशको समृद्ध देश नाममात्रको हो । यो देशको सुखी जनता नाममात्रको हो । यो देशको क्रान्तिकारी परिवर्तन नाममात्रको हो । यो देशको जनसंविधान नाममात्रको हो । यो देशको राज्य संरचना नाममात्रको हो । यो देशको संघीयता नाममात्रको हो । यो देशको २१औं शताब्दीको प्रगतिशील व्यवस्था नाममात्रको हो । खाली शब्दजालको भ्रम र खेतीबाहेक अरु केही पनि छैन यहाँ ।

जनताले परिवर्तित नयाँ व्यवस्थाको प्रत्यक्ष उपलब्धि देख्न, सुन्न र हावादारी गफले हुंकार, अहंकार, घमण्ड, ईष्र्या, घमण्ड, द्वैष, भ्रम, आशंका, रिस–राग, क्रोधको भारी मात्र देख्न पाइएको छ । खाली जनतालाई सुनाउने र नेताले भोग्ने काममात्र भएको छ । जनता राणाकालको भन्दा बढी उकुस–मुकुस अवस्थामा छन् । जनता राजतन्त्रको बेलाभन्दा बढी तनावको अवस्थामा छन् । जनता बहुदलीय व्यवस्थाभन्दा बढी महंगीको दलदलमा छन् । समयमा खानु छैन, समयमा सुत्नु छैन ।

एक पेट पाल्नलाई हम्मे–हम्मे, एक शरीर ढाक्नलाई तछाडमछाड छ । के छ सुविधा ? के छ व्यवस्था ? के छ आनन्द ? के छ शान्ति ? खाली खोक्रो गफ गरेरमात्र हुन्छ । देश आज आत्मनिर्भरको बाटोमा हिँड्नसमेत सकिरहेको छैन । आकाशको फल खस्ला र खाउँला भनेझैँ वैदेशिक ऋण र अनुदान झर्ला र विकास गरौँला भन्ने आशा पालेका देशले नामका नाम कुरा गरेर हुन्छ ? पहिले–पहिले गाउँघर, छरछिमेक तथा समाजमा मुख्खे–मुख्खिनी, जिम्वाल–जिम्वाल्नी, प्रधान–प्रधान्नी, सुब्बा–सुब्बिनीभन्दा निकै मान, मर्यादा, सम्मान, इज्जत, प्रतिष्ठा हुन्थ्यो । किनभने त्यतिबेला यो र यस्ताका घरमा नांगाले एकजोर लुगा फेर्न पाउँथे, भोकाले एकछाक पेटभरि खान पाउँथे र परिश्रमीले काम गरेर भए पनि परिवार पाल्न पाउँथे ।

आज त्यति समानको अवस्था पनि छैन । केही कुराको गुनासो गर्ने हो भने र दुःखेसो पोख्ने हो भने हाम्रा नेताले के भन्छन्, थाहा छ ? बोल्न पाएका छौ, बिरोध गर्न पाएका छौ, लेख्न पाएका छौ, बिरोध जनाउन पाएका छौ भनेर । के यसैका लागि मात्र यो सबथोक भएको हो त ? यो परिर्वतन खाली बोल्नकै लागि मात्र भएको परिवर्तन हो त ? बोलेको भरमा, कराएको भरमाा, विरोध गर्न पाएको भरमा, लेख्न पाएको भरमा जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारलाई नजरअन्दाज गर्न पाइन्छ ? बोल्न पाएको अवसरमा अब जनताले योभन्दा उप्रान्त केही पनि नखोज्ने ? यो कुनै तर्क हो ? यसरी देश चल्छ ?

२०६० सालदेखि आजका मितिसम्म नेपालमा राजनीतिका नाममा होस् वा देश सुधार्ने नाममा होस् वा जनतालाई सुख–सुविधा दिने नाममा होस् के के आयो थाहा छ ? सबथोक आयो भनेर नसकिने, गनेर नसकिने र सुनेर नसकिने परिवर्तनहरु आए । तर ती सबै परिवर्तन के भए ? नाममात्रको काम नलागे निकम्मा भए । साना–साना कुराको र साना–साना समस्याको हल, समाधान र सम्बोधन गर्न नसक्नेले ठूला–ठूला कुरा गर्न मिल्छ ? नाम केका लागि ? खाली नाममात्र बदल्ने, अवस्था नबदल्ने ? खाली गफ मात्र लगाउने, व्यवहारमा नउतार्ने ? राजनीतिमा यस्तो छुट कसले कसलाई किन र कहिले दियो ? प्रमाण छ ? तथ्य छ ? आधार छ ?

जनतालाई आफै बाठो बनाउने र जनतालाई आफैले ठग्न खोज्ने ? जनतालाई बाधक बनाएको कसले हो ? जनतालाई सिकाएको कसले हो ? जसले जनतालाई सुसूचित ग¥यो आज उसैले जनता झुक्याउने ? यस्तो गर्न पाइन्छ ? आज देशमा एक प्रकारको गाईजात्रा हुँदैछ । त्यो पनि जनताले गरेको भए सुहाउँथ्यो । स्वयं राजनीतिक दल, पार्टी, संगठन, समूह, मोर्चाले यस्तो गर्न सुहाउँछ ? के हो यो ? कसको स्वार्थ केमा लुकेको छ ? देश र जनतालाई फर्केर नहेर्ने ? खाली सङ्लो पानीलाई होडलेर धमिलो बनाउने र स्वार्थी माछा छोप्ने काम गर्ने ? केहो यो रमिता ?

राष्ट्रका लागि सबै एउटा कित्तामा उभिन सकिन्न भने बहुदललाई किन स्वीकार्ने ? कित बहुदलीय व्यवस्था यो देशमा टिक्दैन र बिक्दैन भनेर घोषणा गर्नुप¥यो कि त बहुदल एउटै थलोमा उभिएर राष्ट्रिय समस्या हल गर्नुप¥यो । धेरै दल एकआपसमा धेरै समय टिक्न पनि नसक्ने र बहुदलीय संसदीय व्यवस्था भन्न पनि नछाड्ने , के चरित्र हो यस्तो ? संसदीय व्यवस्था यो देशमा टिक्नै नसकेको, संसदीय व्यवस्था यो देशमा बिक्नै नसकेको अवस्था हो ? भोकभोकै र नाङ्गै सडकमा भौतारिँदा समेत किन नेताहरु खाली आदर्शका शब्द र शब्दजाल रचेर गफ गर्न माहिर छन् ? यी सबै नाममात्रका सुब्बिनी त होइनन् ? यिनीहरुको देश र जनताको जिउधनको रक्षा गर्ने कुनै बल, तागत, हिम्मत, साहस, जोश, जाँगर, ऊर्जा, उत्साह, उमंग छ कि छैन ? सबैमा चेतना भया ।