भट्टेबासीका समृद्ध कृषि सपना

बालाराम खड्का
भट्टे(तुलसीपुर), ६ साउन । तुलसीपुरदेखि करिब ८ किलोमिटर पर जंगलको बीचमा त्यो रमाइलो गाउँ । जुन गाउँमा विद्युत पनि छ, घर अगाडि कालोपत्रे सडक पनि पुगेको छ । मुख्य गाउँको बाटोमा कालोपत्रे भए पनि तुलसीपुरसम्म पुग्ने आधाबाटो भने कच्ची छ । त्यही गाउँमै कृषिबाट स्थानीयले मनग्य आम्दानी गरेर विदेश सरह बनाउने गाउँलेहरूको योजना छ ।

तुलसीपुर–३ भट्टेका स्थानीयले आफ्नो गाउँलाई कृषिको पकेट क्षेत्र बनाउने योजना अगाडि सारेका छन् । करिब डेढ सय घरधुरीले केही न केही खेती गरेका छन् । कसैले बाख्रा पालेका छन्, कसैले गाई फर्म, कसैले टनेल बनाएर विभिन्न किसिमका खेतीहरू गरेका छन् । प्रत्येक घर अगाडि टनेलहरू झिलीमिली छन् तर उनीहरूले राज्यले आफूहरूले अगाडि सारेको यो योजनालाई साथ दिन नसकेको गुनासो गरेका छन् । स्थानीयले प्रदेशसभा सदस्य तथा कांग्रेसका नेताहरूसँग योजनालाई साकार पार्न सहयोगको पनि अपेक्षा गरेका थिए ।

स्थानीयका माझमा पुगेका प्रदेशसभा सदस्य शंकर गिरीलगायत कांग्रेसका नेताहरूसँग गाउँलाई समृद्ध बनाउन योजना समेत माग गरेका थिए । हाल भट्टे कृषि सहकारी संस्था लिमार्फत् कृषि ज्ञान केन्द्रको सहयोगमा तरकारी खेती नयाँ ब्लक कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् गाउँमा तरकारी ब्लक कार्यक्रम सञ्चालन गरेको स्थानीयले सुरु गरेको योजना सफल भएपछि थप हौसिएका छन् ।

२०७० सालदेखि कृषि क्षेत्रको विकासका लागि गाउँलाई नमुना बनाउन लागेका स्थानीयले स्वदेशलाई नै विदेश बनाउने योजना रहेको सुनाए । ‘यो क्षेत्र कृषिका लागि पकेट क्षेत्र बनाउने हाम्रो योजना छ, त्यसका लागि हामीलाई स्थानीय तथा प्रदेश सरकारको सहयोग आवश्यक छ’, कृषि संस्थाका अध्यक्ष कर्णबहादुर वलीले भने । उनले कोही पनि नागरिक विदेश जान नपरोस्, गाउँमै विदेश बराबर कमाइ गर्न सकिन्छ भन्नेमा आफूहरू लागेको सुनाए ।

‘हामीले खरिबाख्रा पालन समूह बनाएर बाख्रा पालेर आम्दानी पनि गरेका छौँ, अहिले संस्थामा २५ लाख रकम पनि छ’, उनले भने । त्यस्तै थप सिंचाइका लागि कुलो र राज्यले बाख्रा, भैँसी पालनका लागि भकारो सुधार कार्यक्रम ल्याएमा प्राङगारिक मल पनि आफूहरूले उत्पादन गर्ने योजना बनाएको बताए । ‘बाख्रा, भैँसीको मल र मुत्रबाट पनि थप हाम्रो कृषिलाई सहयोग मिल्नेछ, सहयोग आवश्यक छ’, उनले भने । त्यस्तै अर्का स्थानीय टोपबहादुर वलीले पनि भट्टे गाउँलाई तरकारी तथा कृषिमा अब्बल गाउँ बनाउने योजना रहेको भन्दै सहयोगको अपेक्षा गरे ।

त्यस्तै उनीहरूले यस वर्ष आफूहरूले लगाएको बालीमा असिनाले क्षति गरे पनि स्थानीय सरकारबाट कुनै राहत नपाएको भन्दै दुःख व्यक्त गरे । करोडौँको लगानी लगाएर गाई पालन सुरु गरेका निर्मल खरेलले पनि आफूहरूले गरेको कृषि कार्यमा कहीँकतैबाट पनि सहयोग नपाएको गुनासो गरे । त्यस्तै शिक्षक केशरबहादुर सुनारले गाउँमा बाटो कालोपत्रे भए पनि नजिकै रहेको विद्यालयको विकास नभएको भन्दै सम्बन्धित निकायको त्यसतर्फ ध्यान दिन समेत अनुरोध गरे । गत वर्ष एक सय ४० वटा टनेल बनाएर तकारकारी खेती गरेका कृषकहरूले यस वर्ष २ सय टनेलको माग आएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए थिए ।

सो अवसरमा प्रदेशसभा सदस्य शंकर गिरीले यस क्षेत्रको विकासका लागि र कृषकले उठाएका कुराहरू जायज भएको भन्दै गाउँलाई समृद्ध बनाउने योजनाका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताए । ‘यहाँका बाटोघाटो, कुलोपानी र कृषकहरूको समस्याको विषयमा प्राथमिकताका आधारमा योजना बनाउनुहोस्, हाम्रो क्षेत्रबाट हुने सहयोग अवश्य हुनेछ’, उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता केशव आचार्यले भट्टे गाउँको विकासका लागि आफ्नो क्षेत्रबाट हुने सबै सहयोग आफूले गर्ने बताएका थिए ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव शोभाकर सापकोटा, क्षेत्र नं ३ क का सभापति देवेन्द्र रिजाल, ख का सभापति खिमबहादुर वली, कांग्रेस नेता कृष्णकुमार गिरी, फल्कुदत्त भण्डारी, पूर्व क्षेत्रीय उपसभापति प्रमोद बस्नेत, मदन वलीलगायतले यस क्षेत्रको विकासका लागि आफूहरूले पनि सहयोग गर्ने भन्दै स्थानीयले ल्याएका कृषिसम्बन्धी योजनाहरूलाई सफल गराउन सबै लाग्नुपर्ने बताएका थिए । उनीहरूले कृषि क्षेत्रको विकासबाटै गाउँको समृद्धि हासिल गर्ने योजना राम्रो भएको बताएका थिए ।