गोरक्ष समाचारदाता
तुलसीपुर, २८ माघ । दाङको तुलसीपुरमा जुत्तापसलमा भीषण आगलागी हुँदा पाँचजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४ जना बालबालिकाहरु रहेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगलागी भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा करिब ५–६ वर्षका अबिददिन अली, करिब १३–१४ वर्षीया सजिता खातुन, करिब १४–१५ वर्षीय हसन बकस, करिब १५–१६ वर्षीय मसिन बकस र करिब ४०–४२ वर्षीय नजरदिन अली छन् । आगलागी घटनाबाट ३८ बर्षीय अमर डाँगीको भने सकुशल उद्धार गरिएको छ । आगजनीस्थल इलाका प्रहरी कार्यालय तुलसीपुरबाट करीब ३ सय मिटरको दुरीमा भए पनि सुरक्षाकर्मी घटनाको दुई घण्टापछि मात्र आगजनीस्थल पुगेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो । तुलसीपुर उपमहानगरपालिकाको दमकलमा प्राविधिक समस्याका कारण एकतर्फको पाइपबाट मात्रै पानी फाल्न सक्ने भएकाले तत्काल घोराहीको दमकल झिकाइएको थियो । बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । क्षतिको अन्य विवरण र घटनाबारे थप जानकारी आउन बाँकी छ ।
छोराछोरी बचाउन भित्र पसेका बुबा पनि जीवित फर्कन सकेनन्
शुक्रबार बिहान करिब १ बजेतिर सुतिरहेका ४० बर्षीय नगरदिन अली धुँवाको गन्ध ब्यापक भएपछि ब्यूँझिए । त्यसपछि सँगै सुतेकी श्रीमती र आफ्नो बुवालाई उठाए । के भएको रहेछ ? भनेर हेर्न भनी बाहिर निस्किए । धुँवा ब्यापक भइसकेको थियो । त्यतिखेर उनले पछाडिको कोठामा सुतिरहेका ५ बर्षीय छोरा अबिददिन अली र १३ बर्षीया छोरी सुजिता खातुनलाई सम्झिए । श्रीमती र बुवालाई सडकमै बस्न लगाएर उनीहरुलाई लिएर आउँछु भन्दै भित्र दौडिए ।
नगरदिन र उनकी श्रीमती अगाडि तथा बच्चाबच्ची पश्चिम तिर पछाडि अन्तिम कोठामा सुतेका थिए । तर, छोराछोरी बचाउन गएका नगरदित आफै धुँवाको मुस्लोमा फसे । निसास्सिए । उनी बाथरुममा मृत अवस्थामा शुक्रबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । नगरदिनको पुख्र्याैली घर अर्घाखाँची भएपछि लामो समयदेखि उनीहरु तुलसीपुरमा घरमा भाडामा बस्दै आएका थिए । त्यो आगलागीमा परी दुई परिवारका पाँचजनाको मृत्यु हुन पुग्यो ।
सुर्खेत पुख्र्यौली घर भई हाल सोही घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ को तुलसी बोर्डिङ चोक नजिकैको रोडमा बस्दै आएका सहोदर दाजुभाइ १६ बर्षीय मसिन बकस र उनका भाइ १४ बर्षीय हसन बकसको पनि धुँवामा निसास्सिएर मृत्यु भयो । गहिरो निन्द्रामा रहेका उनीहरुलाई धुँवामै निशास्सिएर मृत्युको मुखम पुगे ।
शोकमा तुलसीपुर बन्द
यसैबीच भीषण आगलागीमा ५ जनाको दुःखद् निधन भएको शोकमा शुक्रवार तुलसीपुर बजार बन्द गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसीले शुक्रवार शोक विज्ञप्ति प्रकाशित गरी आगलागीमा परी मृत्यु हुने मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि स्थानीय प्रशासन, स्थानीय पालिका, प्रदेश सरकार तथा संघीय सरकारसँग माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानबिन गरी सत्यतथ्य विवरण बाहिर ल्याउन र घाइतेको उपचार तथा आगजनीमा भएको क्षतिपूर्ति उपलव्ध गराउन पनि विज्ञप्तिमा माग गरिएको छ ।
त्यसैगरी बिजौरी उद्योग वाणिज्य संघले तुलसीपुरमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष प्रेमनाथ योगी र महासचिव विदुर गौतमले शुक्रवार तुलसीपुरस्थित ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागीमा पाँचजनाको निधनले ठूलो मानवीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिन गरी आवश्यक क्षतिपूर्ति, राहत र पुनःस्थापनका लागि पनि आग्रह गरिएको छ ।
दाङ कांग्रेसद्वारा शोक व्यक्त
यसैबीच नेपाली कांग्रेस दाङले तुलसीपुरमा भएको आगजनीप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यही मिति २०७८ साल माघ २७ गते राति तुलसीपुर उपमहानगरपालिका—५ (ङ) लाइनस्थित इरम फुटवेयर पसलमा आगजनी हुँदा सोही घरमा डेरा गरी बस्ने ५ जनाको दुःखद् निधन भएको घटनाले नेपाली कांग्रेस दाङ स्तब्ध भएको उल्लेख गरिएको छ ।
‘मुख्य बजारमै भएको भीषण आगजनी नियन्त्रणमा स्थानीय सरकार र प्रशासनको अर्थपूर्ण जागरुकता नदेखिएको पनि नेपाली कांग्रेसले ठहर गर्दछ, स्थानीय सरकारले तत्काल आगजनी नियन्त्रणमा पहल गर्न सकेको भए क्षति कम हुने विश्वास पनि नेपाली कांग्रेसको छ’, विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विज्ञप्तिमा इलाका प्रहरी कार्यालयको ३ सय मिटर दूरीमै भएको आगजनी नियन्त्रणमा स्थानीय पालिका र प्रहरी प्रशासनको उपस्थिति दुई घण्टापछि मात्रै देखिएकाले पनि घटनामा ठूलो धनजनको क्षति हुन पुगेको उल्लेख गर्दै यस्ता कमजोरी नदोहो¥याउन पनि नेपाली कांग्रेसले सबैमा अपिल गरेको छ ।
‘भीषण आगजनीबाट अपूरणीय धनजनको क्षति भएको यस दुखद् घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ, साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गर्दै क्षतिको बास्तविक मूल्यांकन गरी पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्थापन, उनीहरुका परिवारको पुनःस्थापना एवं राहत उपलब्ध गराउन स्थानीय, प्रदेश तथा संघीय सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछौं’, विज्ञप्तीमा जनाइएको छ ।
त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्का र सचिव शोभाकर सापकोटाले पनि आगलागीको दुःखद् घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् । साथै विज्ञप्तिमा आगलागीको घटनाको सत्यतथ्य छानबिन गरी मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको स्वास्थ्य उपचार र पुनःस्थापनाका लागि पनि आग्रह गरिएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिले पनि भीषण आगजनीमा बालबालिकाले ज्यान गुमाउँदा तुलसीपुरलाई अपूरणीय क्षति भएको भन्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष सुरेश हमाल र सचिवद्वय विमल पौडेल र सुशील वलीले जारी गरेको विज्ञप्तिमा मृतकका परिवारलाई पुनःस्थापना एवं आवश्यक क्षतिपूर्ति तत्काल उपलव्ध गराउन तीनै तहका सरकारसँग अपिल गरिएको छ । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
एमाले दाङद्वारा दुःख व्यक्त
नेकपा एमाले दाङले तुलसीपुरमा भएकोे आगलागी घटनाप्रति दुःख व्यक्त गरेको छ । तुलसीपुरमा जुत्तापसलमा भिषण आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइन स्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रवार बिहान २ बजेतिर आगलागी भएको थियो ।
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले शुक्रवार शोक विज्ञप्ति जारी गरेर आगलागीबाट ठुलो धनजनको क्षति भएको भन्दै भविष्यमा सुरक्षित हुने उपाय खोजी गर्न तथा जोगाउन सरकार, राजनीतिक दल, व्यवसायी, नागरिक संघ÷संस्था सबैमा अपील गरिएको छ । विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
दाङ उवासंघद्वारा दुःख व्यक्त
तुलसीपुरमा भएको घटनाप्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । संघले शुक्रवार एक विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेको हो ।
शुक्रवार विहान करिब १ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ५ (ङ) लाइनमा रहेको इरम फुटवेयरमा आगलागी हँुदा सञ्चालक नजरुदिन अलिसहित ५ जनाको मृत्यु तथा व्यवसायीको व्यवसायमा पुगेको क्षतिप्रति दाङ्ग जिल्ला उद्योग वाणिज्य संघ मर्माहत भएको संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा दुःखको यस घडीमा संघ परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारण गर्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरिएको छ ।
यसैविच प्रजातान्त्रिक उद्योग बाणिज्य संघले पनि घट्नाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । प्रजातान्त्रिक उद्योग बाणिज्य संघ तुलसीपुरका अध्यक्ष जनक खरालले एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रवार विहान तुलसीपुरमा भएको आगलागीको घट्नाबाट भएको क्षतिप्रति दुख व्यक्त गरेका हुन ।