खेमराज रिजाल
तुलसीपुर, २६ माघ । तुलसीपुरको टरीगाउस्थीत विमानस्थलको धावनमार्ग थप विस्तारकालागी नागरीकस्तरबाट स्थलगत नापजांच सुरु भएको छ । तुलसीपुरमा रहेको हालको विमानस्थलको धावनमार्गको हालको ७ सय ५० मिटर लम्वाइलाइ बढाएर कम्तिमा तेह्रसय मिटर पुराउन सकेमा ठुला जहाज पनि अवतरण हुन सक्ने भन्दै धावनमार्ग बढाउने प्रक्रिया सुरु भएको हो ।
तुलसीपुर उद्योग वाणिज्यसंघको अगुवाइमा भएको सर्वदलिय÷सर्वपक्षीय भेलाले नागरीकस्तरबाटै पनि एयरपोर्टको स्तरबृद्धिमा सरकारलाइ दवाव दिने निर्णय भएको थियो । त्यसमा स्थानीय पालिकाका प्रमुख घनश्याम पाण्डे, तुलसीपुरमा क्रियाशिल ९ राजनीतिक दलका प्रमुखहरु, दाङ उद्योग वाणिज्यसंघका पदाधिकारी तथा एयरपोर्ट विस्तार क्षेत्रको सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
त्यसै अनुरुप तुलसीपुर उद्योग वाणिज्यसंघको अगुवाइमा तुलसीपुरको टरीगाउ विमानस्थलमै पुगेर सर्वपक्षिय÷सर्वदलिय टोलिले धावनमार्गको नामजांच सुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलीले मंगलवार विमानस्थलको धावनमार्गको उत्तरदक्षिण क्षेत्रको लम्वाई फिता लगेर नापजांच गरेको थियो ।
‘यो प्रारम्भिक अनुमानकालागी भएको नापजांँच हो, अहिलेकै लोकेशनमा पनि धावनमार्ग विस्तार हुने प्रसस्तै सम्भावना छ, अनि अन्य लोकेशनमा पनि विकल्प देखिएको छ’—धावनमार्ग नापजांचमा सहभागी इन्जिनियर योगीले भने । दुवै विकल्पमा नापजांच गर्दा कम्तिमा ४२ सिटे जहाजलाइ अवतरण गर्नकालागी आवस्यक १३ सय मिटर लम्वाइको धावनमार्ग निर्माण हुन ठुलो धनरासी खर्चगर्नुनपर्ने पनि उनको भनाइ थियो ।
चालु धावनमार्गलाइ लोकेशन परीवर्तन गरेमा चिरो भाट्न समेत नपर्ने नापजांचका सहभागीहरुले बताएका छन् । यद्धपि यसको अन्तिम प्राविधिक प्रतिवेदन भने एयरपोर्ट डिपिआरको अध्ययनपछि टुंगो लाग्ने इन्जिनियर योगीले बताएका छन् । यदि चिरो भाट्नैपर्ने अवस्थामा पनि स्थानिय सरकार र यहांका सरोकारवालाहरुले सहयोग गरे बांकि काम संघिय सरकारको बजेटले सहजै हुन सक्ने पनि उनको भनाइ थियो ।
बास्तवीक अवस्थाको अध्ययन विनै हचुवाका भरमा कहिले चिरोको हाउगुजि त कहिले दर्जनौं नागरीकहरुको उठिबास हुने हल्लाका कारण पनि यो विमानस्थलको स्तरबृद्धिमा ढिलाइ भैरहेको छ । यसमा यहांबाट प्रतिनिधित्वगर्ने राजनेताहरुको इच्छाशक्ति समेत नदेखिंदा संघिय सरकारलाइ दवाव सृजना हुन सकेको छैन ।
‘अव हामी एयरपोर्टको स्तरोन्नतीको मार्गमा अघि बढिसकेका छौं। स्थलगत अध्ययनको प्रतिवेदनसहित हामी केहि दिनभित्रै नागरीक उड्ययन तथा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयमा डेलिगेशन जाने तयारीमा छौं’, एयरपोर्टको स्तरबृद्धिमा अगुवाइ गर्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले भने । उनले स्थलगत अध्ययन र अवलोकनविनै केहि गलत तत्वहरुले अनावस्यक रुपमा चिरोको हाउगुजि तथा बस्ती विस्थापित हुने हल्ला चलाएको पनि चालिसेको भनाइ थियो ।
तुलसीपुरको टरीगाउ विमानस्थलको धावनमार्गको लम्वाइ होस वा चौडाइ विस्तार गर्न आवस्यक परे सामुदायिक वनको जग्गा उपलव्ध गराउन संपुर्ण उपभोक्ताहरु तयार रहेको तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेषमणि भण्डारीले बताए । अघिल्लो स्तरबृद्धिकै क्रममा गलत तरीकाले धावनमार्गको लोकेशन बनाइएकाले अहिले धावनमार्गको लम्वाइ बढाउन केहि समस्या भएको बताए ।
विसं २०११ शालदेखिनै हवाइसेवा सुरुभएको यो विमानस्थललाइ स्तरोन्नती हुन नदिनकालागी नेपालगन्ज र भैरहवाको भुःराजनितिले निमोठिरहेको बताइएको छ । यहांको विमानस्थलको स्तरबृद्धि भएर सन्चालनमा आएको अवस्थामा भैरहवा र नेपालगन्जको व्यापार उल्लेखित मात्रामा घट्ने भएकाले पनि त्यहांका राजनितिज्ञहरुबाट यो विमानस्थलको स्तरबृद्धिमा अवरोध सृजन ागर्ने काम हुंदै आएको छ ।
जग्गा प्राप्तिकालागी साविकको हवाइ विभागकै स्वामित्वको जग्गा, संगै रहेको केहि ऐलानी जग्गा, कपास विकाश समितिको जग्गा तथा आवस्यक परेको अवस्थामा सामुदायिक वनको जग्गा हुदाहुंदै पनि जग्गाको अभाव भन्दै विमानस्थलको स्तरबृद्धिमा राज्य मौन रहेकाले यहांका हजारौं नागरीकहरुले बैकल्पिक रुपमा नेपालगन्ज र भैरहवाको विमानस्थलबाट हवाइसेवा लिइरहेका छन् ।
दाङकै एमाले नेता शंकर पोख्रेल प्रदेश सरकारको मुख्यमन्त्री, दिपक गिरी संघिय सरकारको सिंचाइमन्त्री तथा हाल पनि प्रदेश सरकारमा डिल्ली वहादुरचौधरी शहरी विकाश तथा पर्यटन मन्त्री बनेपनि तुलसीपुरको टरीगाउ विमानस्थलमा उनीहरुबाट अर्थपुर्ण पहल हुन नसकेको दाङबासीहरुले बताएका छन् । यी सवै नेताहरुले पटक पटक आफैले नेपालगन्ज विमानस्थल र भैरहवा विमानस्थलको उपयोग गर्दै आएका छन् । यो आर्थिक बर्ष मुलुकका विभिन्न विमानस्थलको स्तरबृद्धिमा संघिय सरकारले बजेट विनियोजन गर्दै आएपनि यहांको विमानस्थलमा बजेट पार्न सरकारमा प्रतिनिधित्व गर्ने यहांका सांसदहरुले हैसियत राखेनन् । यो विमानस्थलको स्तरबृद्धिमा संघिय सरकार चालु आर्थिक बर्ष मौन बसेको छ ।
धावनमार्गको लम्वाइ थोरै भएकै कारण यहां नेपाल वायुसेवाको सानो जहाजमात्रै अवतरण गर्न सक्छ । सानो जहाजमात्रै यहां उडानभर्ने भएकाले भाडा पनि अन्यत्रका ठुला विमानस्थलको तुलनामा अत्यधिक महंगो छ । धावनमार्गको लम्वाइ कम भएकाकारण अन्य निजि कम्पनीका ठुला जहाजहरु यहां अवतरण गर्नसक्ने अवस्था छैन ।
धावनमार्गको लम्वाइ कम्तिमा २ सय ५० मिटर मात्रै भएपनि बढाएर स्तरोन्नती हुनसकेमा यहां बुद्धएयर, सिता एयर लगायतका निजि एयरलायन्सका ७२ सिटसम्मका जहाजहरु यहां अवतरण गर्न सक्ने छन् । ठुला जहाज अवतरण गर्ने भएकै कारण काठमाण्डौदेखि नेपालगन्जको भन्दा दाङको दुरी कम भएपनि भाडा अस्वाभाविक महंगो छ । नेपालगन्ज काठमाण्डौको भाडा करीव ३ हजारदेखि ५ हजार रुपैया मात्रै छ । तर दाङको भाडा भने बृद्धिहुंदै अव ९ हजार ३ सय रुपैया पुग्न थालेको छ ।