खेमराज रिजाल
दाङ, २३ माघ । चिम्नीमा फायरका लागि सुकिसकेका इटाका चाङहरु गल्र्याम्म भुँइमा ढलेर पग्लिएका छन् । मजदुरहरुले पग्लेका इटा पोखिएको भुँइ सफा गरिरहेका छन् । मालिकहरु बेचैन छन् । कति क्षति भो, हिसाव–किताव निकालिसकेका छैनन् । यो मौसममा माघ महिनामा मात्र बेमौसमी बर्षातले दुईपटक सुकेको इटालाई यसरी नै पगालेको छ । इटा पकाउन फायर गरिएका चिम्नीहरु विस्तारै निभ्दै जान थालेका छन् । किनकि आगोलाई निरन्तरता दिनका लागि पोल्नका लागि तयारी इटा नै माटो बनिसकेको छ ।
पहिलो लटको फायरको मौसम सुरु हुनासाथ एकाएक काँचो इटा बेमौसमी बर्षातले माटो बनाइदिएपछि इटा व्यवसायीहरु निकै मारमा परेको अभिव्यक्ति दिएका छन् । ‘एउटै लाइन पनि जोगाउन सकिएन, पोलिथिनले ढाक्ने प्रयासले पनि काम गरेन, हावाहुरीले उडायो त्रिपाल पनि’, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित जय हनुमान इटा उद्योगका सञ्चालक लालविक्रम बुढाले भने । उनले पोल्ने बेला भएको इटालाई बर्षातबाट जोगाउन कम्तीमा पनि २ लाख खर्च गरेर त्रिपालले छोप्ने प्रयास गरे पनि त्यो सफल हुन भने सकेन । उनको भनाइमा करीब बिहीवार र शुक्रवारको बर्षातले करीब १० लाख पिस काँचो इटा नोक्सान भएका छन् ।
बिजौरीकै शिव इटा उद्योगमा पनि श्रमिकहरु बेचैन देखिएका छन् । उद्योग सञ्चालकले पग्लिएका इटा नियालिरहेका छन् । एक पिस इटा पनि काम लाग्ने अवस्थामा थिएन, त्यहाँ । अब मजदुरहरुलाई कसरी टिकाउने भन्ने चिन्ता इटा उद्योग सञ्चालकलाई छ । तर फेरि इटा बनाउन कम्तीमा एक साता कुर्नुपर्ने छ । भर्खरै फायर सुरु भएको चिम्नी धिपिक–धिपक भएको छ । चिम्नीलाई निभ्न नदिने अब कुनै उपाय नरहेको उद्योगका म्यानेजर प्रेम बस्नेतले भने । चिम्नी जोगाइराख्न कोइला र दाउरा थपिरहनुपर्छ । तर बलेको चिम्नीलाई काम दिनका लागि पोल्न लायक एक पिस पनि इटा बचेका छैनन् ।
‘अब एक दिन पनि चिम्नी बचाइराख्न सक्ने अवस्था रहेन’, व्यवस्थापक बस्नेतले भने । उनको भनाइमा त्यो उद्योगमा मात्रै करीब २० लाख काँचो इटा बर्षातमा गलेर माटो भएको छ । यसले करीब एक करोड रुपैयाँ बराबरको क्षति भएको बस्नेतले आँकलन गरे ।
नारायणपुरको गोल्ड ब्रिक इण्डस्ट्रिजको अवस्था पनि त्यस्तै हृदयविदारक छ । बर्षातका कारण सबै तयारी काँचो इटा पग्लिएर माटोमा परिणत भएपछि सो उद्योगको चिम्नी निभिसकेको छ । ‘अब चिम्नीमा कोइला थपिरहेर व्युताइरहनुको कुनै अर्थ छैन’, उद्योग सञ्चालक तथा इटा व्यवसायी संघ दाङका निवर्तमान अध्यक्ष रोम वलीले पत्रकारहरुमाझ बताए । यसअघि उनले हरेक बर्ष कम्तीमा पनि एक चक्कर पूरा फायर गर्थे ।
तर यो बर्ष एक चक्कर पनि पूरा फायर हुन सकेन । उद्योग सञ्चालक वलीका अनुसार त्यहाँ करीब १६ लाख तयारी काँचो इटा बर्षातमा पूर्णरुपमा नोक्सानी भएको छ । वलीले नारायणपुरमा करीब २० बिगाहा जग्गा प्रतिविगाहाको बार्षिक १ लाख रुपैयाँ तिर्ने गरी जग्गा लिजमा लिएर उद्योग सञ्चालन गर्दै आएका छन् । भर्खरै फायर गरेको चिम्नी पनि शनिवार निभेको छ । सुकेको इटा नै नजोगिएपछि चिम्नी निभ्न दिनुको कुनै विकल्प नरहेको वलीले बताए ।
अब फेरि चिम्नी बाल्नका लागि प्रत्येक व्यवसायीलाइ कम्तीमा ४ लाख रुपैयाँ बराबरको कोइला, दाउरा र श्रमको जोहो गर्नुपर्ने अवस्था देखिएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१६ स्थित सम्राट इटा उद्योगले पनि बर्षातका कारण कम्तीमा ६ लाख काँचो इटा नोक्सानी भएको सो उद्योगका सञ्चालक टेसीराज पोख्रेलले बताएका छन् । यी उद्योगहरु त नमुना उद्योगहरु मात्रै हुन् । १० देखि २० बिगाहासम्म जग्गामा इटा निर्माण गर्दै आएका कुनै पनि व्यवसायीहरुको इटा बर्षातमा जोगिन सकेको छैन ।
सबैभन्दा पहिले गोल्डव्रिक इण्डस्ट्रिजको चिम्नी निभेको दाङ देउखुरी इटा उद्योग व्यवसायी संघले जनाएको छ । संघका अनुसार अबको तीन दिनभित्र प्रायः सबै उद्योगका चिम्नीहरु निभिसक्ने छन् । नयाँ इटा तयार नहुँदासम्म जिल्लामा कुनै पनि चिम्नी पुनः सञ्चालनमा आउन नसक्ने संघका अध्यक्ष प्रेमनाथ योगीले बताएका छन् । दाङ जिल्लामा ३५ वटा इटा उद्योगहरु सञ्चालनमा छन् । यो बेमौसमी बर्षातका कारण हरेक उद्योगबाट ५ देखि १६ लाखसम्म काँचो इटा पानीमा पूरै नष्ट भएको छ ।
अब नयाँ इटा बनाएर सुक्नका लागि कम्तीमा पनि १० दिन लाग्ने छ । १० दिनसम्म इटा तयार नहुँदा जिल्लामा इटाको अभाव हुने पनि संघले जनाएको छ । जिल्लाभरी बेमौसमी बर्षातका कारण ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका काँचो इटा नोक्सानी भएको संघको प्रारम्भिक तथ्यांक छ । ‘बर्षेनी इटा नोक्सान हुँदै गर्दा हामीले इटाको बीमा नीतिका विषयमा पनि तीनै तहका सरकारसमक्ष प्रस्ताव र छलफल ग¥यौंै, तर हाम्रो समस्या सुन्न तीनै तहका सरकार तयार छैनन्’, संघका अध्यक्ष योगीले भने ।
यो विषयमा प्रदेश सरकारसमक्ष धेरैपटक वार्ता र संवाद भैसकेको पनि योगीले बताएका छन् । अब फेरि व्यवसायीहरु एकताबद्ध भएर इटा उद्योगीहरुको व्यावसायिक सुरक्षाका सन्दर्भमा छलफल गर्ने पनि उनको भनाइ थियो । ‘हामीलाई राजश्वमा केही सहुलियत तथा कोइलालगायतका कच्चा पदार्थमा केही अनुदान दिए पनि केही राहतको अनुभूति गर्ने थियौं’, अध्यक्ष योगीले भने ।