गोरक्ष समाचारदाता
दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका एकजना अभिभावकले आफ्नो बच्चालाई स्कुल पठाइरहेका छन् । तर छिमेकीले भने आफ्नो बच्चालाई स्कुल पठाएनन् । नजिकैको निजी विद्यालयमा पढाउनेले विद्यार्थी स्कुलमा पठाए भने सरकारी स्कुलमा पढाउनेले आफ्ना सन्ततिलाई स्कुल पठाएनन् । निजी स्कुल खुलेको थियो भने सामुदायिक विद्यालय खुलेको छैन ।
घोराही उपमहानगरपालिकामा पनि अवस्था यस्तै छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरका अधिकांश निजी विद्यालयहरु सञ्चालन भइरहेका छन् तर सामुदायिक विद्यालयहरु भने बन्द छन् । विद्यार्थीहरुलाई पनि खोप लगाइसकेकाले विद्यालय भौतिक उपस्थितिबीच सञ्चालन गरेको निजी विद्यालयहरुले बताएका छन् यद्यपि करिब आधा बढी विद्यार्थी खोप लगाउने उमेर समूहमा पर्दैनन् र लगाएका पनि छैनन् । यी दुई उपमहानगरपालिकाबाहेक पश्चिम दाङका शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा पनि यस्तै अन्योल छ । कतै विद्यालयहरु सञ्चालन भएका छन् भने कतै बन्द छन् । केही खुलेका स्कुलहरुलाई प्रहरी पुगेर बन्द गराएको पनि विद्यालय सञ्चालकहरुले बताएका छन् ।
सरकारले चालु सातालाई विद्यार्थी खोप अभियानका रुपमा चलाइरहँदा विद्यालय सञ्चालकहरु अन्योलमा छन् । सरकारले माघ मसान्तसम्म विद्यालयहरु बन्द गर्न निर्देशन जारी गरेकै अवस्थामा दाङ जिल्लामा भने आधा जति विद्यालयमा पूर्ववतरुपमा भौतिक उपस्थितिबीच पठन–पाठन सुरु भएको छ भने आधा जति विद्यालयहरु बन्द रहेका छन् । तुलसीपुरमा भने विद्यार्थीहरुलाई खोप लगाउने अभियान चलिरहेको छ । ‘स्कुल खुलेका हुन् कि होइनन्, हामीलाइ बुझ्नै गाह्रो भएको छ, कतै खुल्ने कतै बन्द यो के भएको हो’, तुलसीपुर उपमहानगरपालिका–१७ का अभिभावक श्रवण चौधरीले भने । स्थानीय सरकारको स्पष्ट नीति नहुँदा आफूहरु अन्योलमा परेको पनि उनको अभिव्यक्ति थियो ।
सरकारले सिएमसीको सिफारिसमा माघ मसान्तसम्म विद्यालयहरु भौतिक उपस्थितिबीच सञ्चालन नगर्न निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय दाङले पनि यस्तै प्रकृतिको सूचना जारी गरेको छ । सूचनामा विद्यालयमा भौतिक उपस्थितिबीच पठन–पाठन नगर्न निर्देशन दिइएको छ । तर विद्यालय खुलिरहँदा स्थानीय सरकारहरु भने बेखवर छन् । यसले सरकारको उपस्थिति नै नभएको जस्तो देखिएको अभिभावकहरुको गुनासो छ ।
मंगलवार घोराहीका अधिकांश विद्यालय र तुलसीपुर उपमहानगरपालिकामा पनि केही विद्यालयहरु भौतिक उपस्थितिबीच सञ्चालनमा आएका छन् । प्रहरीले भने विद्यालय बन्द गराउने जिम्मा स्थानीय सरकारको भएको बताएको छ । कतै सरकारको निर्णयलाई अटेर गरेको अवस्थामा सुरक्षा माग भएको खण्डमा सुरक्षाकर्मी त्यहाँ पुग्ने एकजना प्रहरी अधिकारीले बताए ।
स्थानीय पालिकाले भने संघीय सरकारको निर्णयबमोजिम नै स्थानीय पालिकाले निर्णय कार्यान्वयन गर्ने बताएका छन् । ‘अझै कोरोना संक्रमणको जोखिम घटेको छैन, त्यसैले माघ मसान्तसम्म सबै विद्यालयलाई भौतिक उपस्थितिबीच पठन–पाठन नगर्न भनेका छौं’, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले भने । उनले अहिले विद्यार्थीहरुलाई सुरक्षित गर्न सम्बन्धित विद्यालयमै खोप अभियान चलेकाले विद्यार्थीहरुको उपस्थिति देखिए पनि त्यो उपस्थिति पठन–पाठनका लागि नभएको दावी गरे ।
‘खोप कार्यक्रम पनि स्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न भनेका छौं, भौतिक उपस्थितिबीच पठन–पाठन हुने सम्वन्धमा अझै केही दिन प्रतिक्षा गर्नुपर्ने भएको छ’, भण्डारीले भने । त्यसैगरी घोराही उपमहानगरपालिकाले पनि भौतिक उपस्थितिबीच पठनपाठन नगर्न शिक्षा शाखाले सबै विद्यालयहरुलाई निर्देशन दिएको जनाएको छ । सरकारले सबैतिर खुकुलो बनाए पनि अधिकांश विद्यार्थीहरु खोप नै नलगाएका कारण उनीहरुलाई खोप लगाएपछि अवस्था हेरेर विद्यालय सञ्चालनको प्रक्रियामा जाने बताएको छ ।