चुनढुङ्गा उत्खनन् नरोकिए खानेपानी संकटमा

गोरक्ष समाचारदाता
तुलसीपुर, १६ माघ । बाटो निर्माण, सडक स्तरोन्नतिका नाममा होस् वा अन्य विकास निर्माणसँगै जिल्लाको चुरेपहाड उत्खनन्मा पर्ने गरेको छ । त्यससँगै पछिल्नो समयमा खानेपानीका मुहानहरू पनि दिन प्रतिदिन सुक्दै गएका छन् । पहिरो जाँदा होस् वा बाटो निर्माण गर्दा खानेपानीका पाइपहरूमा क्षति हँुदै आएको छ । मापदण्ड विपरीत हुने उत्खनन् तथा विभिन्न उद्योगहरूका लागि आवश्यक कचापदार्थअन्तर्गत् चुनढुङ्गा खानीको उत्खनन्ले गर्दा पानीको स्रोत पनि सुक्दै गएको भन्दै सरोकारवालाहरूले त्यसलाई रोक्न माग गर्दै आएका छन् ।

जिल्लाका धेरैजसो खानेपानीका स्रोतहरू चुरेपहाडअन्तर्गत् नै छन् । त्यसमा हजारौँ बासिन्दाको खानेपानीसँग विषय जोडिएको छ । जिल्लामा भूमिगत पानीसँगै चुरेपहाडमा रहेका मुहानहरू कसरी जोगाउने भन्ने चिन्तामा रहेको बेला चुनढुङ्गा उत्खनन्का लागि अनुमति सुनगाभा माइनिङ प्रालिलाई लाइसेन्स प्रदान गर्ने कार्य अन्तिम अवस्थामा रहेको भन्ने जानकारी आएको छ ।

तुलसीपुर खानेपानीले भने त्यसलाई रोक्न सरोकारवालाहरूसँग गुहार मागको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले चुनढुङ्गा खानीको अनुमति रोक्का गरिदिने बारेको सार्वजनिक सूचना समेत काटेको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौंलाई खानेपानीले सो पत्र माघ १४ गते पठाएको खानेपानीले जनाएको छ । खानेपानीले बोद्धार्थ आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र सम्बन्धित वडाहरू वडा नंं ३ र ४ लाई पनि पठाएको बताएको छ ।

खानेपानीले २०७८ असोज ५ गते चुनढुङ्गा खानीको उत्खनन् रोक्का गरिदिन पटक–पटक अनुरोध गर्दा समेत खानेपानीजस्तो निर्विकल्प, अति संवेदनशील क्षेत्रमाथि तथा ७० हजार उपभोक्ताको जीवनसँग जोडिएको कुरा समेत अनभिज्ञता देखाई दाङ जिल्लाको तुलसीपुर–३ र ४ अन्तर्गत राप्ती राजमार्गको सडकसँग जोडिएको संस्थाले २०२८ सालदेखि उपभोग गर्दै आइरहेको मुलकोट, राम्री धैरेनी, छरछरे मुहान क्षेत्रको एरियामा चुनढुङ्गा उत्खनन् गर्ने कार्यका लागि सुनगाभा माइनिङ प्रालिलाई लाइसेन्स प्रदान गर्ने कार्य अन्तिम अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएकाले सो कार्य रोक्का गर्न संस्थाले पत्र लेखेको अध्यक्ष यमकान्त भण्डारीले बताए ।

यसले पानीको मुहानलाई प्रत्यक्ष असर पार्ने बताएका छन् । संस्थाबाट गरिएको अनुरोधलाई वेवास्ता गर्दै उत्खनन् कार्य गर्न र गर्न दिने कार्य भएमा यसबाट पर्न जाने असरहरूको जिम्मेवारी स्वयम् लिनुपर्ने भन्दै संस्थाले चेतावनी समेत दिएको छ । ‘हजारौँ जनतालाई खानेपानी पु¥याउँदै आएको मुहान क्षेत्रमा उत्खनन्का लागि लाइसेन्स लिने काम भएको सुन्नमा आएको छ, हामीले यसलाई रोक्न पत्रमार्फत् जानकारी गराएका छौँ’, अध्यक्ष भण्डारीले भने । उनले यस्ता कार्यहरू समयमै नरोकिए भविष्यमा खानेपानीको हाहाकार हुने भन्दै सबै गम्भीर हुनुपर्ने बेला आएको बताए ।

यस्तै संस्थाका उपाध्यक्ष सिताराम शर्मा आचार्यले पनि आफूहरू कसरी खानेपानीको मुहानलाई संरक्षण गर्न सकिन्छ भन्नेतर्फ लागेको भन्दै यस्तो कुराले भविष्यमा असर पर्ने बताए । निश्चित व्यक्ति र राज्यलाई कर आउँछ भन्ने वहानमा खानेपानीको स्रोत नै मासिने गरी हुने कृयाकलापप्रति सबै जिम्मेवार हुनुपर्ने स्थानीय बताउँछन् । पछिल्लो समयमा खानेपानीको सबैभन्दा बढी स्रोत त्यही भएकाले पनि समयमै यसलाई रोक्न नसकिए तुलसीपुरमा खानेपानीको हाहाकार हुने निश्चित नै छ ।