विद्यार्थीका लागि आएन खोप, विद्यालय खोल्ने कार्यतालिका अनिश्चित

खेमराज रिजाल
दाङ, १३ माघ । यसै साता खोप लगाउने र माघ १६ गतेदेखि विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यार्थीहरुलाई खोप नै आएको छैन । कहिले मंगलवार त कहिले बुधवार आउने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले भाका सार्दै आएको छ । यसले विद्यालय खुल्ने कार्यतालिका पनि अनिश्चित बनेको छ । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालयले फाइजर कम्पनीको खोप कुर्दाकुर्दै ढिला भएको भन्दै अब मोडर्ना कम्पनीको खोप ल्याउने तयारी भएको जनाएको छ ।

फाइजर आयात गर्ने कम्पनीले भाका सार्दै गएकाले लुम्बिनी प्रदेश सरकारले अर्को कम्पनी मोडर्नाको खोप ल्याउन थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । ‘हामीले पहिले फाइजर कम्पनीको खोप ल्याउन प्रक्रिया अघि बढाएका थियौं, तर सो कम्पनीले धोका दिएपछि अब मोडर्ना कम्पनीको खोप आउँदैछ’, जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्शन कमल चन्दले भने ।

उनले बुधवार बिहानसम्म सो कम्पनीको खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइपुग्ने बताएका थिए तर बुधवार पनि गाडी फेरि खोप लिन काठमाडौँ गएकाले अझै एक÷दुई दिन ढिलो खोप आउने उनले बताए । दाङ जिल्लामा घोराही उपमहानगरपालिकामा केही विद्यालयका विद्यार्थीबाहेक सबै पालिकाका विद्यार्थीहरुका लागि खोप कार्यक्रम सुरु भएको छैन । कार्यालयमा पालिकाहरुले पठाएको तथ्यांकअनुसार करीव ७० हजार विद्यार्थीहरुलाई खोप उपलव्ध गराउनुपर्ने छ ।

‘सत्तरी हजार बालबालिकालाई पुग्ने खोप आउने निश्चित भएको छ, सिरिन्ज पनि क्रमशः आउने छ’, फोकल पर्शन चन्दले भने । उनको भनाइमा सम्भवतः माघ १६ गतेदेखि सबै पालिकामा बालबालिकाहरुका लागि खोप कार्यक्रम सुरु हुनेछ । तर काठमाडौँबाटै खोप अझै यहाँका लागि आएको छैन । मंगलवार बुटवलमा आएका विद्यार्थीका खोपहरु दाङबाहेकका जिल्लामा पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुईवटा डोज लगाउनुपर्ने सो खोप १२ बर्षदेखि १८ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप नलगाएकै कारण विद्यार्थीहरु असुरक्षित भएको भन्दै सबैभन्दा पहिले सरकारले माघ १५ सम्मका लागि निजी तथा सामुदायिक विद्यालय बन्द आह्वान गरेको थियो । यो अवधिमा सबै विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएर संक्रमणको अवस्था हेरि पुनः विद्यालय सञ्चालन गर्ने स्थानीय सरकारले तयारी गरेका थिए तर विद्यालय खुल्न तीन दिन बाँकी हुँदा पनि विद्यार्थीहरुका लागि खोप कार्यक्रम अनिश्चित भएको छ । स्थानीय सरकारले भने विद्यार्थी खोप अभियानको भाका सार्दै आएको छ ।

‘हामीलाई विद्यालय बन्द गराउनुअघि स्थानीय सरकारले माघ १५ अघि नै सबै विद्यार्थीहरुलाई खोप लगाइसक्ने र त्यसपछि पठनपाठन सुरु गर्ने भनेको थियो तर खोप कहिले आउने भन्ने विषयमा स्थानीय सरकारले अझै स्पष्ट अभिव्यक्ति दिएको छैन’, तुलसीपुरस्थित गोरखा माविका प्राचार्य विजय जीएमले भने ।

कहिले खोप छैन त कहिले सिरिञ्ज छैन भन्दै स्थानीय सरकारले विद्यार्थीहरुलाई खोप उपलव्ध गराउने सन्दर्भमा कुनै गम्भीरता नदेखाएको पनि प्राचार्य जीएमको भनाइ थियो । उनका अनुसार लुम्बिनी प्रदेशमा दाङ मात्रै एक्लो जिल्ला हो, जहाँ विद्यार्थीहरुका लागि खोप कार्यक्रम सुरु भएकै छैन । लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा १२ देखि १८ बर्षसम्मका विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम सुरु भएसकेको उनको अभिव्यक्ति थियो ।

राप्ती बाल एकेडमीका प्राचार्य ठाकुर डिसीले पनि स्थानीय सरकारले विद्यार्थीलाई खोप लगाउने विषयलाई प्राथमिकतामा नराखेकोमा आक्रोश व्यक्त गरेका छन् । सबै क्षेत्र खुल्ला रहेको अवस्थामा विद्यालय मात्रै बन्द गराएर विद्यार्थीहरु सुरक्षित हुन नसक्ने उनको भनाइ थियो । ‘कोरोना भाइरसको संक्रमणको चेनब्रेक गर्ने हो भने त सबै भीडभाड हुने क्षेत्र बन्द गर्न आवश्यक छ, विद्यालय बन्द गरेर त्यहाँका विद्यार्थीहरु विभिन्न पार्क र क्याफेहरुको भीडमा गइरहँदा विद्यार्थी सुरक्षित हुन्छन् भन्न सकिन्न’, प्राचार्य ठाकुरले भने । उनको भनाइमा तत्काल विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय सञ्चालनको वातावरण स्थानीय सरकारले मिलाउनुपर्छ ।

त्यसैगरी फोर्टिनाइन माध्यमिक विद्यालयका प्राचार्य वामदेव पोख्रेलले पनि विद्यार्थीहरुलाई तत्काल खोप लगाएर विद्यालय सुचारु गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । सबै क्षेत्र जसोतसो चलिरहेको भए पनि संक्रमणका कारण दुईवटा शैक्षिक सत्र भने पूरै खेर गएको उनको भनाइ थियो । यसमा सरकार अलि गम्भीर भएर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न नहुने पनि उनको तर्क थियो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा तथा जनस्वास्थ्य शाखा पनि विद्यार्थीहरुलाई खोप लगाउने सन्दर्भमा गम्भीर नदेखिएको विद्यालयहरुले आरोप लगाएका छन् भने अभिभावकहरु पनि विद्यार्थीहरुलाई खोप लगाउन नपाउँदा त्रसित बनेका छन् । ‘कम्तीमा पहिलो डोज खोप उपलव्ध गराए त विद्यार्थीलाई केही ढुक्क भएर स्कुल पठाउन सकिन्थ्यो, तर सरकार विद्यार्थीको भविष्यमा कत्ति पनि गम्भीर देखिएन, जहिल्यै पनि विद्यार्थीलाई नै तारो बनाइन्छ’, तुलसीपुर उपमहानगरपालिका–१७ कि अभिभावक युवा पाण्डेले भनिन् ।

विद्यार्थीहरुलाई संक्रमणबाट सुरक्षित बनाउन भन्दै सरकारले मुलुकका ५६ जिल्लामा विद्यार्थी खोप कार्यक्रम सुरु गरिसकेको छ । तर दाङ जिल्लामा भने खोप ल्याउन नसक्दा अभिभावकहरुले यहाँको स्वास्थ्य कार्यालय, प्रदेश सरकार र स्थानीय सरकारप्रति आक्रोश पोख्न थालेका छन् । तर स्थानीय सरकारका जनस्वास्थ्य अधिकारीहरुले विद्यार्थीहरुका लागि खोप अझै अन्योलपूर्ण रहेको बताएका छन् ।

‘हामीले पटक–पटक माग ग¥यौं, सबै विद्यार्थीहरुको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रदेश सरकारलाई समेत माग गरेका छौं’, तर खोप आउने अझै निश्चित छैन’, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोरोना फोकल पर्शन विमल केसीले भने । अग्रपंक्तिका नागरिकहरुका लागि बुस्टर डोजसमेत धमाधम लगाइँदै गर्दा विद्यार्थीहरुलाई खोप अनिश्चित हुनु भनेको अत्यन्तै खेलवाड भएको पनि सर्वत्र गुनासो हुन थालेको छ । खोप नै उपलव्ध हुन नसकेपछि विद्यालय कहिलेदेखि सञ्चालन हुने भन्ने पनि अन्योलमा छ । कोरोनाको संक्रमण दैनिकजसो उकालोमा रहँदा खोप नलगाई विद्यालय खोल्ने अवस्था नभएको शिक्षाका अधिकारीहरुले बताएका छन् ।