दाङ, १३ माघ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गठबन्धनमा रहेका दलहरुलाई जनतामाथि भरोसा नभएकाले जनतामा जाँदा दण्डित हुने डरले निर्वाचनमा जान डराएको बताएका छन् ।
‘संसदले बनाएको कानूनमा सरकारले प्रश्न उठाउने काम गरिरहेको भन्दै संविधान, संघीयता र लोकतन्त्र खतरामा पार्ने काम अहिलेको गठबन्धन सरकार लागिपरेका छन्’, प्रेस चैतारी दाङले बुधवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले भने– ‘संविधानको जगमा संसदले बनाएको कानूनका आधारमा स्थानीय तहको जुन ऐन नियम बनेको छ त्यो बाध्यात्मक दायित्वबाट सरकार पछि हट्न खोज्दैछ, यो निःशर्तरुपमा कानून पालना गर्नुपर्छ र निर्वाचनको मिति तत्काल घोषणा गरिनुपर्छ ।’
महासचिव पोख्रेलले गठबन्धनमा सामेल राजनीतिक दलहरु आफूहरुको स्वार्थसिद्धि हुने कुरामा मिलेर अघि बढ्ने तर, जोखिम हुने कुरामा यो वा त्यो बहाना बनाउँदै राष्ट्रलाई गुमराहमा पार्ने दाउपेँचमा लागेको बताए । ‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई बलियो आधार मिलेको छ भन्दै चुनाव गराउन अघि सर्ने तर स्थानीय चुनावको मिति तोक्न र निर्वाचनमा जान संविधानको व्याख्याकारमा रुपमा अघि सर्ने काम गठबन्धन दलहरुले गरिरहेका छन्,’ महासचिव पोख्रेलले भने– ‘कोरोनाको यो बेलामा राष्ट्रियसभा सदस्यको चुनाव हुनसक्छ भने स्थानीय तहको चुनाव गर्न आखिर के ले छेक्यो ?’ महासचिव पोख्रेलले गठबन्धन दल एमालेसँग चुनाव लड्न डराएको समेत बताए ।
उनले हार्ने डरले संविधानको अपव्याख्या गर्ने काम अहिलेको परमादेशी गठबन्धन सरकारले गरिरहेको बताउँदै कानूनले तोकेको कुरामा गलत अभ्यास गरे स्वीकार नगर्ने बताए । वर्तमान सरकार नेपाल र नेपाली जनताको हितका पक्षमा नरहेको समेत उनको आरोप छ । उनले राष्ट्रियताको सवालमा इतिहासकै असफल रुपमा देखापरेको गठबन्धनको सरकारले भारतले नेपालको सीमा मिच्दा पनि अन्तर्राष्ट्रिय समुदायमा आफ्ना आवाज लैजाने सवालमा पूर्णरुपमा असफल भएको समेत बताए ।
महासचिव पोख्रेलले जति लामो समय यो गठबन्धन जान्छ, त्यति नै धेरै समय देश र जनताको अहित हुने काममा यो गठबन्धनले भूमिका खेल्ने बताए । ‘यो गठबन्धनको सरकार नेपाल र नेपाली जनताको पक्षमा उभिन सकेन, देशमा भएका काम र गतिविधिका बारेमा अन्तर्राष्ट्रिय समुदायसामु आफ्ना कुरा राख्न सकेन, त्यसैले जति लामो समय यो गठबन्धनको सरकार रहन्छ, त्यति नै राष्ट्रको जीवनमा खेर जान्छ । यो गठबन्धन राष्ट्रको अभिसापका रुपमा छ ।’ उनले अहिलेको गठबन्धन केवल नेकपा एमालेको बढ्दो लोकप्रियता र जनमतलाई रोक्न निर्माण गरिएको गठबन्धन मात्रै भएको बताए ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेलले लोकतन्त्रका पक्षमा नकारात्मक प्रभाव, विकास र समृद्धिका प्रश्नमा र मुलुकको स्वाधिनता र समृद्धिको प्रश्नमा पनि यो सरकार असफल भइसकेको बताए । ‘मेरो आग्रह के हो भने, अब समय बेकारको खेर नफालौँ, खण्डित भएको जनादेशलाई पुुनःस्थापित गर्न देशलाई नयाँ जनादेशमा लैजान आवश्यक छ,’ उनले भने । सत्तामा जान गठबन्धन कायम गर्ने दलहरु चुनावबाट भाग्न नमिल्नेसमेत बताए ।
‘नेकपा एमालेलाई पराजित गर्न गठबन्धनको बाटो भएर चुनावको बाटोमा जान तयार हो भने नेकपा एमाले चुनावमा जान तयार छ,’ उनले भने– ‘अब देशमा केवल दुईटा ध्रुवमा राजनीति ध्रुवीकृत गर्न जरुरी रहेको बताउँदै एउटा ध्रुवको नेतृत्व र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गर्नेछ र ती ध्रुवमा रहेका दललाई छान्ने जिम्मा जनताको हो ।’ नेकपा एमालेको नेतृत्वमा समाजवादको यात्रामा अघि बढ्ने कि नेपाली कांग्रेसको पूँजीवादको यात्रामा अघि बढ्ने भन्ने नै अबको गन्तव्य भएको उनले बताए ।
माधव नेपाल र प्रचण्डहरु भनेको पूँजीवादका हिमायतीमा रुपमा समर्पित भइसकेका खलपात्र भएको टिप्पणीसमेत गरे । ‘कुरा कम्युनिष्ट र समाजवादको गर्ने तर व्यवहार पूर्णरुपमा पूँजीवादको उनीहरुमा छ,’ उनले भने– ‘यस्तो अवस्थामा जनताले चिन्ने बेला आएको छ ।’ वर्तमान सरकारले ६ महिनामा गरेको कामको भूमिका शून्यप्रायःको अवस्थामा रहेको दाबी गरे ।
गठबन्धनको यो समय राष्ट्रको जीवनमा असफल भएको बताउँदै मन्त्रिपरिषद पूर्णतामै सय दिन लगाउनुले काम गर्ने गति कस्तो थियो भन्ने प्रष्ट हुने तर्कसमेत गरे । अहिले देश चरम आर्थिक संकटको अवस्थामा गुज्रिएको बताउँदै बितेको ६ महिनालाई आधार मान्ने हो भने मूल्यवृद्धि उच्च विन्दुमा पुगेको, मुलुकमा महंगी बढेको, विकास खर्च हुन नसकेको, मौद्रिक तरलता बढेको, विदेशी मुद्रा सञ्चिती अत्यन्तै कमजोर अवस्थामा पुगेको तथा व्यापार घाटा निरन्तर उकालो लागेको हुँदा देश निकै चुनौतीपूर्ण र सकसपूर्ण अवस्थामा रहेको पुष्टि भएको दावीसमेत गरे ।
सरकारले सर्वाधिक ध्यान खोप भए पनि यही खोप अभियानबारे पनि सरकार बेखबर अवस्थामा रहेको बताए । २६ लाख खोपको अभिलेख नभएको कुरालाई स्मरण गराउँदै कोभिड नियन्त्रण र उपचारका सन्दर्भमा सरकार पूर्णरुपमा विफल भएको दावी गरे । महामारीका रुपमा रहेको कोरोना नियन्त्रणमा सरकार चुक्दै गएकाले भविष्यमा भीषण मानवीय संकट ल्याउनसक्ने चु्नौती देखा परेको उनले बताए । पत्रकार सम्मेलन चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको थियो । चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष प्रेम राम्जाले गरेका थिए ।