कोरोना डायरी : कोभिड परास्तगर्न नो–भीड

खेमराज रिजाल
तुलसीपुर, २९ पुस । शंकास्पद ओमिक्रोनको संक्रमण फैलिएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरु बन्द गरिरहँदा विद्यार्थीहरुको भीड भने बन्द विद्यालय नजिकैको शान्तिपार्कमा देखिन्छ । मंगलवार तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा पुग्दा त्यहाँ कम्तीमा पनि ९० प्रतिशत उपस्थिति विद्यार्थीहरुकै देखिन्थ्यो । उपमहानगरपालिकाले शान्तिपार्कको पिकनिक स्पट र मनोरञ्जन हवलाई कोभिड सावधानीका नाममा खलबल्याउन चाहेको छैन ।

अहिले तुलसीपुरका मात्र नभएर मुलुकभरका विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा राप्ती शान्ति उद्यान मात्र होइन, घोराहीको धारापानी र बाह्रकुनेमा पनि उत्तिकै भीडमा विद्यार्थीहरु रुमल्लिइरहेका छन्, अर्थात रमाइरहेका छन् । त्यहाँको उपस्थितिको ठूलो हिस्सा पनि विद्यार्थीकै छ । सार्वजनिक यातायातमा अटाउने जति यात्रु गुन्द्रुकजस्तै खाँदेर बोकिन्छन्, मानैं उनीहरु यात्रु नभएर कन्टेनरका सामान हुन्, मिलाएर अटाउन सक्नेजति खाँदिन्छन्, कण्डक्टरको निर्देशनमा । बस चढ्नेहरुले पनि कहिल्यै धैर्य गरेर कुर्दैनन्, मानौं अर्को बस आउने छैन । सामान जस्तै स्वीकार्छन्, आफूलाई ।

तुलसीपुरतर्फ नै फर्कौ । तुलसीपुर यस्तो बजार हो, जब कोरोनाको संक्रमणको ग्राफमाथि उक्लिदै जान्छ, बजारमा सुनसान हुनुको साटो भीडभाडको दर पनि माथि उक्लदै जान्छ । अहिले त्यस्तै देखिएको छ । अघिल्लो साता बंैकहरुमा बृद्धबृद्धाको भीडले अन्य सेवाग्राहीलाई पालो पाउनै निकै कुर्नुपर्ने अवस्था थियो । सायद वडा कार्यालयहरुले बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ता पनि सल्लाह गरेर एउटै साता बैंकमा हालिदिने रहेछन् । बालबालिका र बृद्धबृद्धाहरुमा बानी उस्तै हो, धैर्य गर्न नसक्ने, खबर पायो कि भत्ता लिन भोकै पेट बैंकमा । गृहिणीहरुलाई कोरोना बढेपछि भीड हुन्छ भन्ने त्रासले सामान स्टक गर्ने हतारोले किराना पसलहरुमा पनि उस्तै भीड बढेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधवार तुलसीपुरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको एउटा सचेतना कार्यक्रममा कोभिड परास्त गर्न नोभिड (कतै पनि भीडभाड नहुने)को व्यवस्थापन गर्न सबै सरोकारवाला निकायलाई आग्रह गरिरहँदा तुलसीपुरको मात्र होइन, जिल्लाभरीकै अवस्था यस्तै छ । ‘जिल्लाको समग्र परिस्थिति हेरेर कडाइँ र लचकता अपनाउने हो तर समग्र अवस्थाका विषयमा छलफल गर्न बोलाउँदा पालिका प्रमुखहरु पोर्टफोलियोमै अल्झेर उपस्थिति हुन पनि रुचाउनुहुन्न’, कार्यक्रममै प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

वास्तविकता तथ्यांकले नै देखाउँछ कि पछिल्ला धेरै सिएमसीका बैठकमा पालिका प्रमुखहरुको उपस्थिति नगन्य छ । अहिले सरकारले खासमा पहिल्यै विद्यालय बन्द गर्नुको कारण अरु नभएर बालबालिकाहरुलाई सुरक्षित राख्नका लागि हो । किनकि सरकारले अझै आम बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सकिरहेका छैन । तर यसरी विद्यालय बन्द भएपछि विद्यार्थीहरु फेरि अर्को भीडमा जानुलाई स्थानीय सरकारले दायित्वका रुपमा लिनुपर्ने होइन र ?

‘नागरिकहरुलाई मास्क लगाइदिनुस् भन्दा झगडा गर्नुपर्ने अवस्था छ’, सोही कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले भनेका थिए । उनले हुक्किएरै भनिरहेका थिए, कृपया प्रहरीलाई देखाउनकै लागि हो भने त्यस्ता एक्टिभिटी नगरिदिनुहोला । जब प्रहरीलाई देख्यो अनि मात्र मास्क लगाउने नागरिक प्रवृत्ति अहिले हावी छ । आफ्नो सुरक्षाका लागि मास्क लगाउने हो भन्ने सचेतनासमेत आउन सकेको छैन ।

मानवअधिकार तथा शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत, तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन संयोजक तथा वडाध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सरसफाई अभियन्ता विमल रिजाल, जिल्ला स्वास्थ्य कार्यालयका डम्बरबहादुर कुँवर, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसी, तुलसीपुर चेम्बरका महासचिव ऋषि भण्डारी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कोरोना इकाईका व्यवस्थापक दोर्ण वली, पत्रकार शरद रेग्मी, नारायण खड्कालगायतले कोरोनाबाट जोगिने सल्लाह र सुझाव राखे ।

सम्भवतः आज (बिहीवार) जिल्ला कोरोना संकट केन्द्रको बैठक हुने कार्यक्रम छ । फेरि पनि जनप्रतिनिधिहरुले आफ्नो पोर्टफोलियो बिग्रने भन्दै सिडिओले बोलाएको बैठकमा पुगेनन् भने भावी योजनाहरु कसरी बन्लान् भन्नेमा आम नागरिक अन्योलमा छन् । किनकि यसअघिका धेरै यस्ता बैठकमा जनप्रतिनिधिले महत्व दिएका थिएनन् । विश्व स्वास्थ्य संगठनले भने अनुसार कुनै पनि सरुवा रोगको संक्रमण समुदायमा ५ प्रतिशतभन्दा माथि छ भने त्यसलाई महामारीकै रुपमा लिनु उपयुक्त हुनेछ । किनकि यो निकै भयावह अवस्था हो । तर तुलसीपुरको पछिल्लो एक साताको तथ्यांकमात्रै हेर्ने हो भने ।

तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले दिएको तथ्यांकअनुसार तुलसीपुरमा पछिल्लो पटक ५ सय १० जना नागरिकको कोरोना संक्रमण परीक्षण गर्दा १ सय ८७ जनालाई पोजेटिभ देखिएको छ । यो कम्तीमा ३६ प्रतिशत हुन आउँछ । यो संक्रमणको भयावह अवस्था होइन र ? नागरिक अगुवाहरु भन्छन्– ‘उपमहानगरपालिकाले विद्यालय बन्द गरिरहँदा पार्कमा उनै विद्यार्थीहरुको भीड हुन्छ भने पार्क पनि बन्द गर्नुपर्ने होइन र ?’

कोरोना संक्रमणको पहिलो झड्काले अस्पताल निर्माण र बेड व्यवस्थापन गर्न सफल बनाएको छ । दोस्रो संक्रमणले अक्सिजनको व्यवस्थापन, अस्पतालहरुमा एचडियु बेड, आइसियु, एनआइसियु र पिआइसियु युनिट निर्माण गर्न सफल बनाएको छ । तुलसीपुरको प्रादेशिक अस्पतालमा मात्रै कम्तीमा २० बेड गम्भीर अवस्थाका बालबालिकालाई उपचारका लागि एनआइसियु बेड तयार भैसकेका छन् । जिल्लामै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सोनापुर सिमेन्ट उद्योग प्रालि, तुलसीपुर प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गराउन पनि कोरोनाको दोस्रो लहरले सिकाएको छ ।