दाङ,२५ पुस । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ५ वडा समितिले एक कार्यक्रमको आयोजना गरी १४ औ महाधिवेशनबाट पार्टीको विभिन्न तहमा निर्वाचित व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा नं. ५ मा घरभै पार्टीको क्षेत्रीय, जिल्ला र प्रदेशका विभिन्न पदमा निर्वाचित व्यक्तिहरुलाई खादा लगाएर सम्मान गरेको हो ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ५ वडा कार्यसमितिका सभापति बिष्णुमणि दाहालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यता एव नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी र जिल्ला सचिव अर्जुनकुमार योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देश र जनताको समृद्धिका लागि नेपाली कांग्रेस पार्टी मात्र सच्चा भएको बताए थिए । उनीहरुले कम्युनिष्टका चिल्ला कुरामा पछि नलाग्न समेत जनतालाई आग्रह गरेका थिए ।

कार्यक्रममा घोराहीबाट नेपाली कांग्रेसको जिल्ला सचिवमा निर्वाचित अर्जुनकुमार योगी, लुम्विनी प्रदेश सदस्यमा निर्वाचित पवन नेपाली, क्षेत्र नं. १ को क्षेत्रीय सदस्यमा निर्वाचितद्धय खुशलराम वली र बलिराम केसी, क्षेत्र नंं १ –(ख)का उपसभापति गोपाल नेपाली, लुम्विनी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित हुमा घर्ति र पुष्पा वली, घोराही उपमहानगरपालिका नगर समितिका सदस्यमा निर्वाचित गोपाल सार्की, इन्द्ररा गिरी, सुशील केसी र श्रीधर नेपालीलाई बधाई एव सम्मान गरिएको थियो ।
त्यस अवसरमा नपाली कांग्रेसका पूर्व जिल्ला सदस्य कृष्ण गिरी, कांग्रेसका नेता गुरु नेमकान्त दाहाल,क्षेत्रीय सदस्य खुशलराम वली, दलित नेता प्रकाश नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।त्यस अवसरमा नेकपा एमाले र नेकपा माओवादी पार्टी परित्याग गरि एक सय दश जना कांग्रेसमा प्रवेश गरेका थिए ।
जसमा एमालेका स्थानीय नेता टर्कबहादुर पुन, मधु बस्नेत,कमल खनाल, छविलाल चौधरी र माओवादी दुर्गा खनालको नेतृत्वमा नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका थिए । उपसभापति कृष्ण भण्डारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सुशील बस्नेतले गरेका थिए ।