दाङ, २५ पुस । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । कार्यसमितिमा केही नयाँ र पुराना नेताहरु समेटिएका छन् । बस्नेत निवर्तमान उपाध्यक्षसमेत हुन् । निर्वाचन समितिले शनिवार विहान नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
नयाँ नेतृत्व चयनसँगै एमाले दाङको १३औं जिल्ला अधिवेशनसमेत सकिएको छ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको छ । त्यसैगरेर उपाध्यक्षमा राममणि पाण्डे निर्वाचित भएका छन् । उपाध्यक्ष पाण्डे घोराही उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्षसमेत हुन् । त्यसैगरेर सचिवमा मनोहर बुढाथोकी निर्वाचित भएका छन् । सचिव बुढाथोकी यसअघि पनि सचिव थिए । त्यसैगरेर उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन निर्वाचित भएका छन् । उपसचिव भुसाल यसअघि पनि उपसचिव थिए भने अर्का उपसचिव पुन नयाँ अनुहार हुन् । ‘सबै भूगोल र समावेशीको आधारमा नयाँ नेतृत्व चयनको काम भएको छ’, सचिव बुढाथोकीले भने । त्यसैगरेर जिल्लाका १० वटै पालिकाबाट भूगोलका आधारमा ५६ जना निर्वाचित भएका छन् ।
त्यसैगरेर समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपांगता, महिला, पिछडिएको वर्ग अल्पसंख्यकबाट ३० जना सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ जना र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ जना गरी १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको एमाले दाङले जनाएको छ । सचिव बुढाथोकीका अनुसार निर्वाचित १ सय २१ र मनोनीत १० जना गरेर जिल्लाको कार्यसमिति १ सय ३१ सदस्यीय हुनेछ । अधिवेशनमा जिल्लाभरबाट कुल १४ सय ३७ प्रतिनिधि सहभागी भएका थिए । नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको सपथसमेत लिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । अधिवेशनमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीलगायतको सहभागिता थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पार्टी कार्यालयको एक्सन रुमबाट भर्चुअल माध्यबाट दाङ सहित ६३ जिल्लामा अधिवेशनको उद्घाटन गरेका थिए । अध्यक्ष ओलीले भर्चुअल माध्यबाट अधिवेशनको उद्घाटन गरेसँगै औपचारिकरुपमा जिल्ला अधिवेशनको सुरुवात भएको थियो ।