के.पी. सुवेदी
नेपालका ठूला राजनीतिक दलहरुले अधिवेशन गरेर आफ्नो दल कानूनी वैधता अध्यावधिक गर्ने काम सम्पन्न गरेका छन् । यसक्रममा उनीहरुले पार्टीभित्र प्रतिनिधित्व प्रणाली कस्तो अपनाए ? नेपाली जनता जो सामान्य राजनीतिक चेतना राख्छन् उनीहरुले नजिकबाट हेर्ने र भ्रम तथा यथार्थबारे प्रस्ट हुने अवसर पनि मिल्यो । भिन्न–भिन्न दर्शनका अनुयायीहरुको आ–आफ्नै सांगठनिक संरचना र गठन प्रक्रिया हुनु स्वाभाविक हो ।
हाम्रोमा विशेषगरि दुईवटा दर्शनमा विश्वास गर्ने राजनीतिक दलहरु भए पनि नेतृत्वमा रहने महत्वाकांक्षा र व्यक्तिगत स्वार्थकानिम्ति दल विभाजन गर्ने खराब राजनीतिक चिन्तन स्थापनाकालदेखि सुरुवात भइसकेको हुन्छ । दुईवटा दर्शनबाट आफ्नो विचार एवं नीतिलाई परिभाषित गर्न चाहाने नेपाली का‘ंग्रेस र नेपाल कम्युनिष्ट पार्टीको नाममा गठन भएको सबै पार्टीहरुको कहानी उस्तै–उस्तै भए पनि पार्टी फुटाएर नेतृत्वमा रमाउने नेपाली कम्युनिस्ट पार्टी हुन् र अहिले यो मुलुकको राष्ट्रिय राजनीतिमा हालीमुहाली गरिरहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायतका कम्युनिस्ट पार्टीहरुले महाधिवेशन गरेर अध्यावधिक गरेका छन् ।
क्रान्तिका बहानामा मान्छेका टाउको छिनाएर होस् वा निहत्था मानिसहरुको खुलेआम हत्या गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गरेका पार्टीहरु अहिले बडो लोकतान्त्रिक हुने कसरतमा लागेका छन् । त्यही कसरत उनीहरुले भर्खरै सम्पन्न गरेको महाधिवेशनमा देखिएको छ । नेपालमा कम्युनिष्ट पार्टीहरुको कम्युनिष्ट विचार, नीति र कार्यपद्धति अरु क्षेत्रीय पार्टीहरुको जत्तिकै मात्र भए पनि आफूलाई जनवादी अथवा जनताको हितमा काम गर्ने कम्युनिष्ट मात्र हुन् भन्ने भ्रम अहिले पनि दिने कोशिस गरिरहेका छन् तर सत्तामा नजाँदासम्म परिक्षण हुने सम्भावना नभएकोले भ्रमले सफलतापूर्वक सत्तामा सवार हुने अवसर दिलाई दिएको कुरा सबैमा जगजाहेर नै छ । यतिखेर उनीहरुलाई या त नयाँ बहाना चाहिन्छ या त प्रमुख प्रतिस्पर्धी गम्भीर विभाजनको संघारमा पुगेको हुनुपर्छ । साँच्चै भन्ने हो भने नेपालका कम्युनिष्टहरु नत कम्युनिष्टजस्ता न त लोकतान्त्रिक पार्टीजस्ता । उनीहरु अहिले पनि दुवै नाउमा खुट्टा राखेर सागर तर्ने दाउमा रहेको देखिन्छ ।
सत्तामा पुगेपछि, राज्यको आर्थिक स्रोतहरुमा हात बढाउन पाएपछि, सुविधा उपलब्ध गरेर उपभोगमा लिप्त भइसकेपछि आफ्नो आधारभूमि बिर्सिदिने, चरम उपभोक्तावादी तर सत्ताबाट ओर्लिएपछि समाजवादी, जनवादी आदि–इत्यादि । वास्तवमा नेपालका कम्युनिस्ट पार्टीहरु व्यक्ति हत्यालाई क्रान्ति भन्ने संज्ञा दिन सफल भए । यथार्थमा उनीहरु चरम अवसरवादी रहेछन् । ढोंग पनि कति खतरनाक गर्दारहेछन् अवसरका लागि ? यता कथित जनयुद्धको नाममा निर्दोष र निहत्था नागरिकको प्राण लिने र उता तत्कालीन निरंकुश शासकसँग अधिनायकवादी सत्ताको भागवण्डा गर्न वार्ता गर्ने । आजका पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रका लागि गरेको ढोंग कति खतरनाक थियो ।
अलिकति बलियो भयो भने कम्युनिष्ट भयो क्रान्तिकारी भयो, कमजोर भयो लोकतन्त्रवादी हुन पनि बेर लगाउँदैनन् । पार्टी त मुलीहरुकै कब्जामा जाने रहेछ, लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा त देख्नप¥यो भने कम्युनिष्टमा त सिद्धान्ततः यही नै हो । तलबाट अधिकार माथि पठाएर केन्द्रीकृत गर्ने । नमरुञ्जेल पार्टी प्रमुख नफेरिने । नेकपा भन्ने एमाले र माओवादी मिलेर बनेको पार्टी बहुकेन्द्र जस्तै बन्न पुग्यो । सिद्धान्तका हिसावले बाझिएको कारणले अन्तिममा बिघटन हुनपुग्यो । यो कठोरता केबल नेतृत्व कसरी हात पार्ने भन्ने दाउपेचले उत्पादन गरेको देखिन्छ ।
अधिवेशनको मौसम फेरिएको छ । त्यसैले त्यसको विवेचनात्मक टिप्पणी असान्दर्भिक हुन थालिसक्यो, त्यसैले अबको निर्वाचनमा कस्तो अवसर छोपेर फेरि सत्ताको फन्को मार्न पाइन्छ भन्ने चटारो उठिसकेको छ । कम्युनिस्टको लोगो समातेर सत्तामा जाने अवसरको खोजीमा प्रचण्ड –माधवहरु लागिरहेका देखिन्छन् । उता नेकपा एमालेको नेतृत्व एकलौटी गराउन पाएकोमा दंग परेका अहंकारी नेता केपी ओली सरकार छोड्न परेको पीडाले बेला–बेला उत्ताउलिन्छन् । अरुबाट सिक्नै नपर्ने आफूले जे गर्दा पनि हुने कुन्ठाले ग्रस्त बनेका ओलीले एक सिजन संसद अवरुद्ध गरेर प्रतिपक्ष भूमिकामा पनि सर्वसत्तावादी सिद्ध भएका छन् ।
केपी ओलीले सत्तामा रहेर के–के गरेछन् भन्ने घटनाहरु सार्वजनिक हुन थालेका छन् । तर पनि ओलीलाई अलिकति लाज वा नैतिकता बोध हुन नसक्नु दुखद् कुरा हो । ओलीले बिक्री गरेका सांस्कृतिक धरोहरहरु पक्कै पनि मोटो कमिसनको लोभमा गरिएका हुन सक्छन् तर यथार्थ पत्ता लगाउन अहिलेको सरकारलाई आफ्नो औचित्य सिद्ध गर्न मात्र पनि जरुरी छ । यति धेरै बिकृति बोकेर सत्ताबाट बाहिरिएका ओलीलाई अझै पनि आउँदो निर्वाचनमा बहुमत ल्याउने दुःस्वप्ना छ ।
संसदीय व्यवस्थाको सबैभन्दा ठूलो दल सरकारमा बसेका बेला सरकारी सम्पति हिनामिना गरेको छ, तैपनि भनिरहेको छ– हाम्रो पार्टीमा कोही भ्रष्टाचारी छैन । आफूले टिका लगाएर छानेका मानिस राखेर पार्टी चलाउँछन् । भन्छन्– यो महाधिवेशन हो र हामी लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौ । एक सिजन संसद अवरोध गरेर आफूलाई संसदवादी भनेर मजाक गरिरहन्छन् । त्यसैले छद्मभेषी राजनीति गर्दछन् ओली, प्रचण्ड, माकुने । फेरि कुनै दिन उनीहरु एकैठाउँ हुन सक्छन् । कांग्रेस सतर्क नभए जहिले पनि धोका दिनेछन्, अघिल्लो चुनावमा प्रचण्डले धोका दिए, त्यसअघि पनि धोका कांग्रेसले नै पाएको छ ।