रिहार मेलामा दर्शनार्थीलाई निशुल्क मास्क

देउखुरी,२४ पुस । दाङको देउखुरीमा रहेको प्रसिद्ध धार्मिक स्थल बगार बाबा मन्दिर रिहार धाममा माघीको अवसमा लाग्ने मेलामा सहभागीहरुलाई निशुल्क मास्क र सेनेटाइजरको व्यवस्था गरिने भएको छ ।

दाङमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि माघीका अवसरमा लाग्ने रिहार मेलामा निशुल्क मास्क र सेनेटाइजरको व्यवस्था गरिने भएको हो । मेला व्यवस्थापनको लागि शेखर पछांईको सयोंजकत्वमा समिति गठन गरिएको छ ।

माघको १गतेदेखि सञ्चालन हुने मेलामा विभिन्न स्टल, डान्स, पिङ्ग, झुला, खेल, जादुसँगै रिहारमा रहेको पोखरीमा डुंगाको व्यवस्था गरिएको मेला आयोजक समितिका सदस्य शेलैश यादवले जानकारी दिएका छन् । उनका अनुसार मेला नजिकिदै गर्दा रिहारमा स्टल निमार्णसँगै व्यवसायीहरु आउने क्रम बढेको छ ।