एमाले दाङको अधिवेशन
दाङ, २४ पुस । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजनमा लाग्नेहरु ढिलो–चाँडो पछुताउनुपर्ने बताएका छन् । नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनलाई शुक्रवार घोराहीमा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पदको पछि लागेर पार्टीलाई कमजोर बनाउँदै पार्टी विभाजन गर्नेहरु छिट्टै पछुताउनुपर्ने दाबी गरे । ‘देशको ठूलो पार्टी एमाले हो । एमालेबाटै देश र जनताले विकासको अनुभूति गर्नेछन्’, उपाध्यक्ष ज्ञवालीले भने– ‘पदलोलुपतामा लागेर पार्टी बिभाजन गर्नेहरु पछुताउनुपर्नेछ ।’
पार्टीभित्रको विचारलाई विवादको रुपमा खडा गरी एमालेबाट भागेर जानेले कुनै उपलब्धि गर्न नसक्ने उनले बताए । उनले रिसको झोकमा घर छोड्दा दुःख पाएझैँ एमाले छोडेर जाने माधव–झलनाथको पछि लाग्नेले दुःख पाउने बताए । ‘रिसको झोगमा घर छोड्दा दुःख पाइन्छ । घर छोड्नु हुँदैन’, उनले भने– ‘मिलेर बस्ने ठाउँमा घर छोड्दा दुःख पाइन्छ । अहिले एमालेबाट छुट्टिनेहरुले पनि दुःख पाउनेछन् ।’ उनले जनताको समृद्धि र देशको विकासका लागि एमालेबाटै सम्भव भएको भन्दै पार्टी छोडेर जानेहरुलाई फर्किन समेत आग्रह गरे ।
कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य तथा दाङ इन्चार्ज नरुलाल चौधरीले एजेण्डाविहीन पाँच दलीय गठबन्धनले जनताको हित गर्न नसक्ने बताए । देश र जनताको लागि काम गर्ने सरकारसँग भिजन आवश्यक छ’, उनले भने– ‘पाँच दलीय गठबन्धनसँग कुनै भिजन र दृष्टिकोण नै छैन । यस्तो तरिकाले जनताको समृद्धि कसरी सम्भव छ ? यो गठबन्धन एमालेका विरुद्ध बनेको हो ।’ उनले आफूलाई शक्तिशाली भन्ने कांग्रेस पनि माओवादीको एजेण्डामा अघि बढेर पतनको दिशातिर लागेको दाबी गरे ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरीले एमाले आफैमा सक्षम भएको भन्दै एक्लै हिँड्न सक्ने पार्टी भएको बताइन् । एमालेको लोकप्रियता देखेर अत्तालिएर विपक्षीले पाँच दलीय गठबन्धन गरेको टिप्पणी गर्दै उनले गठबन्धन लामो समय नटिक्नेसमेत दाबी गरिन् । ‘देशभर एमालेको लोकप्रियता छ । जसले गर्दा गठबन्धन आत्तिएका छन्’, उनले भनिन्– ‘एमालेविरुद्धमा बनेको यो गठबन्धन लामो समय टिक्दैन ।’ उनले एमालेले ल्याएका विकासका एजेण्डाहरुलाई गठबन्धन सरकारले खारेज गरी जनघाती काम गरेकोसमेत आरोप लगाइन् । उनले अदालतबाट बनेको सरकारले जनघाती काम गर्न नपाइने भन्दै चर्काे विरोध गरेकी थिइन् ।
नेकपा एमाले दाङका जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले एमालेको लोकप्रियतालाई देखेर विदेशी र प्रतिक्रियावादीहरु रोक्नका लागि परेको बताएका थिए । उनीहरुले एमालेलाई रोक्नका लागि गठबन्धन बने पनि जनताले एमालेलाई आगामी निर्वाचनबाट पुनः प्रमुख शक्तिका रुपमा स्थापित गर्ने बताए । एजेण्डाविहीन सरकार र दलहरुले एमालेलाई प्रमुख शक्ति बन्नबाट रोक्न नसक्ने बताएका थिए । उनीहरुले चुनौतीलाई सामना गर्नका लागि एमालेभित्र एकता आवश्यक रहेको बताएका थिए ।
उनीहरुले आन्तरिक, बैचारिक, सांगठनिक एकताले मात्रै एमालेको भविष्य जीवन्त हुने भएकाले पार्टीभित्र व्यक्तिवाद शैलीलाई हावी हुन दिन नहुने बताएका थिए । अधिवेशन उद्घाटनसत्रमा केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीलगायतले सम्बोधन गरेका थिए । पार्टी उपाध्यक्ष हुकुमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए । अधिवेशनमा जनसांस्कृतिक महासंघका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्यक्ष गरी १ सय २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । जिल्ला कमिटीमा १० जना मनोनीत गर्नेछ । अधिवेशनमा झण्डै १ हजार ५ सय प्रतिनिधि सहभागी छन् । अधिवेशनले पार्टीको सांगठिनक, आर्थिक र राजनीतिक प्रतिवेदनमा समेत छलफल गर्ने र पास गर्ने छ ।