दाङ,२० पुस । द्वन्द्वपीडिको अवस्थासँगै पीडित परिवारकालागि वडा कार्यालयले गरेका कामहरुका बारेमा घोराही–११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेसँग संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालले वान–टु–वान बैठक गरेको छ ।
महिला कानुन र विकास मञ्च, इन्टरनेशनल अलर्ट र टिपिओ नेपालकोे संयुक्त आयोजनामा संचालित कार्यक्रम अन्तर्गत संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जालले घोराही उपमहानगरपालिका–११ का वडा अध्यक्ष लामिछानेसँग मंगलवार खैरामा वान–टु–वान बैठक गरेको हो ।
सञ्जालले वडामा द्वन्द्व पीडितहरुको अबस्था, द्वन्द्व पीडितहरुको लागि वडा कार्यालयले दिएका सेवा सुबिधा, आगामी योजनाका बारेमा बैठकमा छलफल गरेको थियो । बैठकमा वडा अध्यक्ष कुलबहादुर लामिछानेले अहिलेसम्म वडा कार्यालयले द्वन्द्वपीडितका लागि घोराही उपमहानगरपालिका र माथिल्लो निकायबाट आएका सेवा सुविधाहरुका प्राप्त गर्नका लागि सहजीकरण गर्ने काम गरेको भएपनि वडाकातर्फबाट छुट्टै कुनै प्रकारको कार्मक्रम गर्न नसकेको बताए ।
वडा अध्यक्ष लामिछानेले द्वन्द्वपीडित परिवारहरुलाई छुट्टै लक्षित कार्यक्रम गर्न नसकेपनि विभिन्न कार्यक्रम मार्फत भने समेट्दै आएको बताए । ‘कोरोना संक्रमसँगै सम्वन्धीत द्वन्द्वपीडित परिवारबाट कुनै माग नआउँदा पीडित परिवारका लागि कार्यक्रम गर्न सकेका छैनौ’,वडा अध्यक्ष लामिछानेले भने,‘तर द्वन्द्वपीडित परिवारलाई विभिन्न कार्यक्रममार्फत समेट्दै भने आएका छौ ।’ उनले माग भएमा कार्यक्रमका लागि बजेट बिनियोजन गर्न सकिने बताएका थिए ।
संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा भएको बैठकमा महिला कानुन र विकास मञ्चकी प्रतिनिधि गोमा महरा, सञ्जालका सदस्य श्रीमन न्यौपाने, सदस्य सीता चौधरी, द्वन्द्वपीडित परिवारका तर्फबाट सितली चौधरी,सुशीला विकको सहभागिता रहेको थियो ।