कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीलाई स्वागत
दाङ, १९ पुस । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले विगतका तिक्ततालाई भुल्दै हृदय सफा गरेर कांग्रेसको संगठन निर्माणमा जुट्नुपर्ने बताएका छन् । १४औं महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यमा निर्वाचित नेताहरुलाई नेपाली कांग्रेस दाङले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले पार्टीको संगठनलाई बलियो बनाउनका लागि नेता तथा कार्यकर्ताहरु सफा हृदय बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । ‘पार्टीको महाधिवेशन आन्तरिक प्रतिस्पर्धा थियो । त्यो सकिसकेको छ । अब पार्टी निर्माणमा लागौँ’, नेता गिरीले भने– ‘त्यसका लागि दिमाग मात्र सफा होइन, सफा हृदय बनाएर अघि बढौं ।’
उनले पार्टीलाई संगठित र व्यवस्थित बनाउनका लागि नेताहरुदेखि कार्यकर्ताहरुसम्मले संस्थागतरुपमा अघि बढ्नुपर्ने बताए । संस्थागतरुपमा अघि नबढ्ने हो भने पार्टी अझै कमजोर बन्ने समेत बताए । ‘पार्टीका नेतादेखि कार्यकर्ताहरु सबै संस्थागतरुपमा अघि बढ्नुपर्छ । पार्टीलाई अघि बढाउने विधि र प्रक्रिया छ’, उनले भने– ‘त्यहीअनुसार अघि बढ्नुपर्छ । संस्थागत निर्णय नमान्दा पार्टी कमजोर हुन्छ ।’ त्यस्तै उनले कांग्रेससँगै भातृ संगठनलाई समेत संगठित बनाएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले बद्लिएको समयमा कांग्रेसलाई बलियो बनाउँदै नजिकै आउँदै गरेका तीनवटै निर्वाचनमा कांग्रेसलाई बिजयी गराउने गरी पार्टीका नेता तथा कार्यकर्ताहरु अघि बढ्नुपर्ने बताए । स्व. नेता खुमबहादुर खड्कालगायतका नेताहरुले बनाएको कांग्रेस दाङमा नेताहरु दीपक गिरी र गेहेन्द्र गिरीको लडाइँका कारण कमजोर हुने अवस्था आएको भन्दै उनले दुवै नेताहरुलाई एक ठाउँमा उभिनसमेत आग्रह गरे ।
‘दाङमा तपाई दुई गिरीहरु नमिल्दा पार्टीलाई समस्या भएको छ । कांग्रेसले सजिल्यै जित्ने चुनाव हार्ने अवस्था छ’, उनले भने– ‘तपाईहरु एक ठाउँमा उभिनुस् । पार्टीले कहिल्यै कसैसँग हार्नेछैन । त्यो सन्देश तपाईहरुले दिन आवश्यक छ ।’ उनले दुई गिरी मिलेको सन्देश कांग्रेसका नेता तथा कार्यकर्तालाई दिन सके कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
अर्का केन्द्रीय सदस्य तथा पूर्व सांसद योगेन्द्र चौधरीले कांग्रेसलाई बलियो र जनताको लोकप्रिय पार्टी बनाउनका लागि कांग्रेसले विकास र समृद्धिको कार्ययोजना बनाएर जनतासमक्ष जानुपर्ने बताए । त्यसलाई पूरा गर्नका लागि केन्द्रदेखि स्थानीयस्तरमा रहेका सबै नेता तथा कार्यकर्ताहरु एक ठाउँमा मिलेर अघि बढ्नुपर्ने बताए । व्यक्तिगत स्वार्थमा नेताहरु लाग्दा लाग्नुपर्ने बताए । केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्थानीय तहदेखि केन्द्रसम्म बिजय गराउनका लागि सार्थक प्रयास गर्नुपर्ने बताए ।
त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरु तयार हुनुपर्ने बताए । विगतको इतिहासलाई हेरेर कांग्रेस बनाउन सवै लाग्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बिगतका तिक्तता र गुट–उपगुटलाई भुलेर नवीन कांग्रेस निर्माणका लागि लाग्नुपर्ने बताए । समय बदलिएकाले अब बिपीको सिद्धान्त, समाजबाद, राष्ट्रियता र प्रजातन्त्रले मात्रै नपुग्ने भन्दै उनले जनताका आवश्यकता बुझेर अघि बढ्नुपर्ने बताए । अहिलेको आवश्यकता दलभित्रको प्रतिस्पर्धा नभएर कम्युनिस्ट तथा अवसरबादीका विरुद्धमा भएकाले त्यसका लागि सबै गुट–उपगुट बिर्सिएर पार्टी निर्माणमा जुट्नुपर्ने बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले आगामी दिनमा आउन थालेका तीनवटै निर्वाचनमा कांग्रेसलाई स्थापित गर्ने गरी लाग्नुपर्ने बताए । देशको समृद्धि, लोकतन्त्र र संविधानको रक्षा कांग्रेसले मात्र गर्न सक्ने भएकाले कांग्रेसलाई बनाउन बस्ती–बस्तीसम्म सबै लाग्नुपर्ने बताए । प्रदेशसभा सदस्य शंकर गिरीले केन्द्र र प्रदेशमा निर्बाचित शक्ति दाङमा कांग्रेस निर्माणका लागि मजबुत भएको भन्दै अब सबै मिलेर मूल्य र मान्यतामा रहेर काम गर्नुपर्ने बताए ।
बक्ताहरुले दाङ कांग्रेसले महाधिवेशनबाट ५ जना केन्द्रीय सदस्यसहित प्रदेशमा पदाधिकारीसहित ७ जनालाई जिताउन सफल भएकाले अब सबै मिलेर कांग्रेस बनाउँदै आगामी निर्वाचन जित्नेगरी लाग्नुपर्ने बताएका थिए । कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले बिगतको दम्भलाई त्यागेर लोकतन्त्रको रक्षा र पार्टीको हितका लागि काम गर्नुपर्ने बताए । सहभागीले पार्टीका नेता तथा कार्यकर्ताहरुमा स्नेह र सद्भाव कायम गर्दै पार्टीको हितमा काम गर्न आग्रह गरेका थिए । उनीहरुले निर्वाचनमा फाटेका मनहरुलाई जोड्दै पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि केशव आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि बद्री खड्का, नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) का सभापति दिनेश गिरी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, घोराही उपमहानगरपालिका नगरसभापति तिलक रावतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा भएको थियोे । उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपसभापति कमानसिंह भारतीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन् ।