खेलकुद क्षेत्र दयनीय : नेता बस्नेत

तुलसीपुर, १८ पुस । तुलसीपुरमा जारी राष्ट्रियस्तरको टेबुलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथस् अफ तुलसीपुर’ले आयोजना गरेको प्रतियोगिताको आइतवार एक कार्यक्रमबा बीच समापन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका खेलकुद बिभाग प्रमुख, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले देशमा सोचेअनुरुप खेलकुदको विकास हुन नसकेको बताए । बस्नेतले जुन ढंगको खेलकुदको महत्व देशमा हुनुपर्ने हो त्यो हुन सकेको छैन भन्दै संसारभरी राष्ट्रको झण्डा फहराउने, देशको इज्जत राख्ने खेल क्षेत्र बिस्तारै–बिस्तारै व्यवसायीकरण हुँदै गइरहेको अवस्थामा कोरोनासहित विभिन्न कारणले खेलकुदका गतिविधिहरु पलायन हुँदै जाँदा खेलाडीहरु खिया लागेको हतियारजस्तै भैसकेका बताए ।’

उनले कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए । ‘खेल क्षेत्रको पछिल्लो अवस्था दयनीय बन्दै गएको अवस्थामा खेलकुदका गतिबिधिहरुलाई व्यापक रुपमा अगाडि बढाउन जरुरी छ’, उनले भने । एक वर्षभित्रमा कांग्रेस खेलकुद बिभाग, लोकतान्त्रिक खेलकुद संघले देशभरी खेलकुदका प्रतियोगिताहरु व्यापकरुपमा अघि बढाउने निर्णय गरेको उनको भनाइ छ । उनले खेलाडीहरुको जीविकोपार्जनका लागि खेलकुदका प्रतियोगिताहरुमा नगद पुरस्कारमा ध्यान दिनुपर्ने बताए । साथै उनले खेलकुदको विकास र प्रवद्र्धनमा स्व. नेता खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा पनि गरे ।

युथस् अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा कार्यक्रमको सहजीकरण प्रतियोगिताको प्रचार–प्रसार संयोजक किरण केसीले गरेका थिए । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को कभर्डहलमा भएको थियो । प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको थियो । जसको पुरस्कारको राशि ३ लाख ८० हजार रहेको थियो ।

प्रतियोगितामा मेन्स टिम र वमेन्स टिममा प्रथम हुनेले ३०÷३० हजार, द्वितीयले १५÷१५ हजार, तृतीयले नगद ५÷५ हजार र सान्त्वना हुनेले ५÷५ हजार नगदसहित मेडल प्रमाणपत्र प्राप्त गरेको युथस् अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताए । उनका अनुसार मेन्स र बुमेन्स सिंगलतर्फ प्रथम हुनेले ४०÷४० हजार, द्वितीयले २०÷२० हजार, तृतीय र सान्त्वनाले ५÷५ हजार पुरस्कारसहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम हुनेले ३०÷३० हजार, द्वितीयले १५÷१५ हजार र तृतीय र सान्त्वनाले ५÷५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।