बालाराम खड्का
तुलसीपुर, १५ पुस । पुरानो प्रविधि हटाई नयाँ नयाँ प्रविधिको प्रयोगले धेरै क्षेत्रमा काम छिटो छरितो भएको छ । प्रविधिले सहजतासमेत थपेकोे छ । तर ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका लागि छिटो होइन ढिलो र झन्झटिलो बनेको छ । प्रविधिको कारणले नभएर होइन यसको व्यवस्थापन सहज हुन नसक्दा वषौँदेखि सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाउन सकेका छैनन् । यो स्वयं अधिकारीहरुले पनि स्वीकारयुक्ति छ ।
सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण भने एक वर्षदेखि रोकिएको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरबाट चालक अनुमतिपत्र लिएका तुलसीपुरका धेरै सेवाग्राहीहरुले पुरानो चालक अनुमतिपत्र नवीकरण गर्न दिएको एक बर्ष भए पनि उनीहरुको स्मार्ट चालक अनुमतिपत्र अझैसम्म आएकोे छैन । स्मार्ट लाइसेन्स नआउँदा सवारीचालकहरु पटक–पटक ट्राफिक प्रहरीको फन्दामा पर्न थालेका छन् । ‘स्मार्ट लाइसेन्सका लागि राजश्व रसिद बोकेर एक बर्षदेखि काम चलाइरहेको छु’, कहिले ट्राफिक प्रहरी त कहिले जनपथ प्रहरीले दुःख दिइरहेका छन्’, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका यादव रिजालले भने ।
राजश्व रसिद जतन गरेर राख्न नसकेका धेरैलाई त प्रहरीले पटक–पटक लाइसेन्स नबोकेको भनेर जरिवानासमेत तिराउँदै आएको छ । ‘लाइसेन्स नवीकरणका लागि राजश्व बुझाएको एक बर्ष भयो, राजश्व तिरेको रसिद जतन गरेर राख्न नपाएकाले निकै समस्या भएको छ’, तुलसीपुर उपमहानगरपालिका–१८ का चालक नवीनले भने ।
एउटा लाइसेन्स कार्ड पनि एक बर्षसम्म व्यवस्थापन गर्न नसक्ने यातायात व्यवस्था कार्यालयले नेपालको समग्र यातायात व्यवस्थापनमा कस्तो प्रभावकारी काम गर्न सक्ला ? भन्ने प्रश्न आम यातायात क्षेत्रमा उठिरहेको छ । यातायात व्यवस्था कार्यालयसँग धेरै क्षेत्र काम गर्ने भए पनि खालि लाइसेन्समा मात्रै अल्झिइरहेको छ । ओभरलोड, चेकजाँच, नियमित रुट परमिट पास, सवारीको प्रदूषण जाँचलगायतका कामहरुलाई थाँती राखेर लाइसेन्समा मात्रै अल्झेको यातायातले एउटा कार्ड दिन पनि यति ढिलो गर्दा धेरै सवारीचालकहरु निकै मर्कामा छन् ।
धेरै सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । समयमै स्मार्ट लाइसेन्स नपाउँदा सेवाग्राही भने राजस्व तिरेको कागज बोकेर सवारी चलाउन बाध्य छन्् । धेरै सवारी चालकहरुले त्यो पनि नियमितरुपमा बोक्न असहज हुने बताएका छन् । एक बर्ष पहिले पुरानो चालक अनुमतिपत्रको समय सकिएसँगै नयाँ स्मार्ट चालक अनुमतिपत्रका लागि नवीकरण गर्न रसिद काटेका बालकृष्ण खड्काको स्मार्ट चालक अनुमति पत्र अझैसम्म पनि आएको छैन् । उनी जस्तै धेरै जसोले चालक अनुमतिपत्र नभएर नै सवारी चलाउनुपर्ने बाध्यता छ ।
धेरै जसोले दैनिक सवारी चेकजाँचको क्रममा सास्ती भोग्दै आएका छन् । रसिद नबोकेकाहरुले दैनिक ट्राफिक प्रहरीलाई जरिवाना राजस्व तिर्नुपर्ने बाध्यता छ । त्यस्तै नयाँ चालक अनुमतिपत्रका परीक्षा दिएर पास भएकाहरुलाई भने यातायात व्यवस्था कार्यालयले अस्थायी चालक अनुमति दिने गरेको छ । ‘मैले पुरानो प्रविधिको लाइसेन्स म्याद सकेपछि स्मार्टका लागि एक बर्ष पहिले रसिद काटेर नवीकरणका लागि दिएको थिए अझैसम्म पनि आएको छैन’, नवीन खड्काले भने । उनीजस्तै यातायात व्यवस्था कार्यालयमा धाउनेहरु धेरै छन् ।
‘राज्यको यो नीतिले हामीहरुलाई धेरै झन्झट गराएको छ, ट्राफिकले चेकजाँचका लागि लाइसेन्स माग्नुहुन्छ हुनेले रसिद देखाउँछन् नहुने हामीले चेकजाँचमा कारबाही व्यहोर्नुपर्ने बाध्यता छ’, चालकहरु बताउँछन् । पटक–पटक लाइसेन्स नहुँदा कारबाहीस्वरुप रकम तिर्नुपर्ने बाध्यता छ । ‘महिनामा २÷३ पटक जरिवाना तिर्नुपर्छ स्मार्ट लाइसेन्स अझैसम्म पनि आएको छैन, रसिद गोजीमा हँुदैन’, चालक माधव वलीले भने ।
यता यातायात व्यवस्था कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख सरोज भण्डारीले पनि स्मार्ट चालक अनुमतिपत्र विभागबाट नआएको बताए । उनले आफूहरुले सबै प्रक्रिया पूरा गरी यहाँबाट स्मार्ट चालक अनुमतिपत्रका लागि पठाए पनि एक बर्षसम्म आउन नसकेको बताए । ‘यो हाम्रो कमजोरी होइन हामीले माथि पठाउछौं माथिबाट समयमै आउँदैन’, भण्डारीले भने । उनले आफूहरुले एकदिन पनि काम नरोकेको भन्दै समयमै सेवाग्राहीहरुको काम सकेको प्रतिक्रिया दिए ।
‘हामीले जुन दिन सेवाग्राहीहरु आउनुहुन्छ त्यसै दिन काम सकेर पठाउछौं तर अनुमतिपत्र भने समयमै आउँदैन’, भण्डारीले भने । माथिको कार्यालयले स्मार्ट लाइसेन्स कहिले पठाउछ, कति महिना वा बर्ष प्रतिक्षा गर्नुपर्छ भन्ने जानकारी तल्लो निकायलाई छैन । यसले पनि सेवाग्राहीहरु अन्योलमा परेका छन् । त्यस्तै कार्यालयका सूचना अधिकारी शिवराज केसीले भने केही समय पहिले एक लट स्मार्ट चालक अनुमतिपत्र आएको र अब छिटै अर्को लट आउने बताए । ‘एक महिना अझै लाग्न सक्छ स्मार्ट लाइसेन्स आउन त्यो भन्दा ढिला हुँदैन’, केसीले भने । तर सेवाग्राहीहरुले भने एक महिना भन्न लागेको एक बर्ष भएको प्रतिक्रिया दिए ।
कार्यालयमा चालक अनुमतिपत्र आयो कि भनेर सोध्न लागेको महिनौ भयो आज आउँछ, भोलि आउँछ भन्ने जानकारी पाएर रित्तो हात पर्किनुपर्ने बाध्यता भएको यातायात कार्यालयमा आएका सेवाग्राहीहरुले गुनासो गरे । उनीहरुले राज्यका निकायहरु गम्भीर नहुँदा आफूहरुजस्ताले दुःख झेल्नुपरेको गुनासो गरे । पुरानो प्रविधिलाई खारेज गरी नयाँ स्मार्ट चालक अनुमतिपत्र लागू गरेसँगै सयौ सवारी चालकहरु अहिले अनुमतिपत्रको लागि पर्खिरहेका छन् ।