श्रीमणिको राजनीतिक यात्रामा थपिए यात्रुहरू

खेमराज रिजाल
उरहरी, ४ पुस । एउटा अथक राजनीतिक योद्धा स्वर्गीय श्रीमणि आचार्यको चौधौँ स्मृति दिवस बनाइरहँदा उनको राजनीतिक यात्रामा सयौँ यात्रुहरू थपिए । नेकपा एमाले क्षेत्र नम्बर ३ को आयोजनामा तुलसीपुर उपमहानगरपालिका—उरहरीमा आयोजित स्मृतिसभामा सयौँ जना नेकपा एमालेमा प्रवेश गरी उनको राजनीतिक यात्रालाई थप बल पुगेको नेकपा एमाले महासचिव शंकर पोख्रेलले बताएका छन् । स्मृतिसभामा करिब ५ सयभन्दा बढी अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नाम पढेर सुनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको महासचिव पोख्रेलले आचार्यको राजनीतिक यात्रालाई सही गन्तव्यमा पु¥याउनका लागि एमालेमा जनलहर नै आएको दाबी गरे । नेकपा एमालेमा श्रीमणि आचार्यको योगदानको चर्चा गर्दै महासचिव पोख्रेलले फेरि माधव नेपाल र प्रचण्डलाई नै स्मरण गरे । ‘जनताले हामीलाई दिएको जनादेशलाई तात्कालीन नेकपामा रहेका माधव नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई लगेर बुझाइदिए, हाम्रो पार्टीलाई समृद्धिको यात्रामा अवरोध गरे’, पोख्रेलले भने । आफूहरूले नेपाली जनताको भावनालाई बुझेर नेकपा पार्टी बनाएको स्मरण गर्दै नेता पोख्रेलले भने, ‘तर हामीभित्रैका वैरीहरूलाई यो मन परेन ।’

केपी ओली नेतृत्वको सरकारले मुलुकमा समग्र समृद्धि ल्याउन खोजिरहेको अवस्थामा देश र जनताकै पक्षमा उभिएकाले घेराबन्दीमा पर्नुपरेको पनि नेता पोख्रेलको अभिव्यक्ति थियो । आफूहरू नेतृत्वको सरकारलाई संघदेखि प्रदेशसम्म हटाए पनि मूलतः मुलुकको समृद्धिका सवालमा कुनै पनि काम हुन नसकेको उनले बताए । ‘नेकपा एमालेले चिनिया रेललाई काठमाडौं हुँदै लुम्बिनीसम्म पु¥याउने र कलकत्ता सुख्खा बन्दरगाहको विकल्प समेत खोजिरहेको थियो तर यो सरकारले केपी नेतृत्वको सरकारले ल्याएका कम्तिमा १४ सय वटा विकास आयोजनाहरू रोक्यो’, महासचिव पोख्रेलले भने ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्पमा आफूहरूले चार–चारवटा पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा ल्याउने प्रक्रिया थालेको, एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बढाएर थप तीनवटा बनाइएको, मुलुकका सबै विमानस्थलमा रात्रि उडान तथा अवतरण सम्भव बनाएको बताउँदै नेता पोख्रेलले वर्तमान गठबन्धन सरकारले नेपाली जनताका विकासका चाहना सम्बोधन गर्न नसक्ने दाबी गरे ।

मुलुकमा दुई–दुई पटक संविधानसभाको निर्वाचन भएर पनि मुलुकलाई नयाँ संविधान दिन नसकेको अवस्थामा नेकपा एमालेले नै नयाँ संविधान जारी गर्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै नेता पोख्रेलले मुलुकको समग्र आर्थिक समृद्धि एमालेको सरकारबिना असम्भव जस्तै भएको बताए । उनले स्मृतिसभामा दाङका धेरै विकासे आयोजनाहरू पनि आफ्नै सरकारले सञ्चालनमा ल्याएको दाबी गरे । भावि योजनाहरू पनि एमालेकै प्लानिङअनुसार चल्ने उनको अभिव्यक्ति थियो ।

‘कनिके बजेट पर्दै आएको तुलसीपुर—हापुरे—सुर्खेत सडकमा अहिले अर्बौं रूपैयाँ बजेट परेको छ, घोराही—तुलसीपुर सडक चारलेनका लागि ठेक्का भएको छ, कोइलाबाससम्म सडक कालोपत्रे भइसकेको छ, यी सबै योजनाहरूको अगुवाइ नेकपा एमालेले गरेको हो’—महासचिव पोख्रेलले भने । उनले यति भनिरहँदा दाङ–सुर्खेत सडक करिब एक दशकसम्म पनि निरन्तर निर्माणाधीन अवस्थामा छ । घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिको काम सम्पन्न भइसक्नुपर्नेमा हाल जम्मा ७ प्रतिशत भौतिक प्रगति भएर स्थगित भएको छ । लमही–कोइलाबास सडक कालोपत्रे सम्पन्न भएर पनि सञ्चालनमा आउनसकेको छैन ।

कार्यक्रममा उनले फेरि ग्वारखोला हाइड्याम र माडी नदीलाई सुरुङ बनाएर दाङमा ल्याउने बताए । यी दुवै आयोजनाहरूको डिपिआर बन्दै गरेको उनको अभिव्यक्ति थियो । विगत दुई दशकदेखि चर्चामा रहेका यी आयोजनामा अहिलेसम्म पनि डिपिआरको अन्तिम टुङ्गो भने लाग्न सकेको छैन । उनले दाङ जिल्लामै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको पनि दाबी गरे । सञ्चालनमा आइसकेको टरिगाउँ विमानस्थलको धावनमार्ग बढाएर ठूला जहाज चल्नसक्ने बनाउन सर्वत्र माग भइरहँदा एमाले नेतृत्वको सरकारले सो विमान स्थलमा एक रूपैयाँ पनि बजेट विनियोजन गरेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्तावित जग्गामा पनि कुनै प्रक्रिया अघि बढेको छैन ।

नेकपा एमाले क्षेत्र नम्बर ३ का अध्यक्ष भीम योगीको अध्यक्षतामा भएको स्मृतिसभामा बोल्दै स्व. नेता श्रीमणिकी धर्मपत्नी माया आचार्यले स्व. श्रीमणिलाई राजनीतिक यात्रामा अघि बढ्न आफूले पनि निकै समस्या खेप्नुपरेको स्मरण गरिन् । ‘छोरा जन्मने बेला उहाँ काठमाडौंको कारागारमा हुनुहुन्थ्यो, छोरी जन्मने बेला घोराहीको कारागारमा, हामीले धेरै समस्यालाई सहेरै पनि उहाँलाई राजनीतिक यात्रामा सधैँ प्रोत्साहन ग¥यौँ’, आचार्यको स्मरण गर्दे मायाले भनिन् । आचार्यको राजनीतिक योगदानलाई आत्मसात गर्दै अघि बढ्न पनि उनले पार्टीको उच्च नेतृत्वलाई आग्रह गरिन् ।

एमाले नेता मानबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, जिल्ला सचिव मनोहर बुढाथोकीलगायतले स्मरण मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा स्वर्गीय नेता श्रीमणि आचार्यका समकक्षी तथा साथीहरूलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको सहजीकरण एमाले तुलसीपुरका नेता द्वोय श्याम डाँगी र माधव वलीले गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुरका उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत जिल्ला र प्रदेश तहका दर्जनौँ नेताहरूको सहभागिता रहेको थियो ।