सुरु हुँदै तुलसीपुर महोत्सव

गोरक्ष समाचारदाता
तुलसीपुर, २९ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्शले आउँदो पुस १ गतेदेखि १२ गतेसम्म आयोजना हुन थालेको तुलसीपुर महोत्सव–२०७८ को तयारीअन्तर्गत अब महोत्सवको मूल व्यानर राख्न मात्रै बाँकी रहेको बताएको छ । मंगलवार आयोजकले महोत्सवस्थल हात्तीखौवामै पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी गराएको हो ।

‘महोत्सवका सन्दर्भमा करीब करीब सबै तयारी पूरा भैसकेको छ, अब मूल व्यानर राख्न मात्रै बाँकी रहेको जानकारी गराउँदछु’, पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले भने । उनले महोत्सवमा स्वास्थ्य उपचार व्यवस्थापन, कलाकारहरुको आमन्त्रण, प्रमुख अतिथिलाई निम्तो, सुरक्षा व्यवस्थापन, अतिथिहरुलाई आवासको व्यवस्थापन, स्टल व्यवस्थापन र बुकिङ, बाल उद्यान निर्माणलगायत सबै कामहरु सम्पन्न भैसकेको पनि अध्यक्ष घर्तीले बताएका छन् । महोत्सवलाई भव्य र सभ्य बनाउन आयोजक समितिले सबै सञ्चार माध्यमहरुलाई आग्रह समेत गरेको छ ।

तुलसीपुरका सयौं व्यापारीहरुको संस्था तुलसीपुर चेम्बर अफ कमर्शको अझैसम्म पनि आफ्नै भवन नभएकाले भवन निर्माणको सहयोगार्थ मेला आयोजना गरिएको आयोजकले बताएको छ । महोत्सवमा राष्ट्रियसभाका अध्यक्ष प्रमुख अतिथि रहने र विशिष्ट अतिथिका रुपमा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय उपाध्यक्ष आउने निधो भैसकेको पनि पत्रकार सम्मेलनमा बताइएको छ । त्यसैगरी मेलाको उद्घाटन समारोहलाई रोचक र भव्य बनाउनका लागि पुरन्धारादेखि घोराहीसम्मका विभिन्न जातीय संस्कृति झल्किने झाँकीहरुको व्यवस्थापन भइसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा स्टल व्यवस्थापन समितिले महोत्सवस्थलमा ३ सय २५ वटा स्टल व्यवस्थापन गरिएको जानकारी दिएको छ । त्यसमा २५ वटा स्टल कृषिका रहेका छन् । ती स्टलहरु निःशुल्करुपमा उपलव्ध हुनेछन् । त्यसैगरी विभिन्न जातजाति र संस्कृतिका खानाका परिकारहरु रहनेगरी फुड फेस्टीबल पनि आयोजना हुनेछ । यसका लागि कम्तीमा २० वटा स्टलहरु छुट्याइएको बताइयो । निर्माण भएका स्टलहरुमध्ये २ वटा स्टल मात्र बुकिङ हुन बाँकी रहेका छन् । त्यसैगरी महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको वेजोड प्रस्तुती रहने महोत्सव आयोजक सांस्कृतिक उपसमितिका संयोजक प्रेमविवश घर्तीले जानकारी दिए ।

महोत्सवको उद्घाटनकै दिनदेखि समापनका दिनसम्मै कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सव अवधिभर हास्य कलाकार, गायक, नर्तकी, मोडेल, एउटै खुट्टाले नृत्य प्रस्तुत गर्ने कलाकार तथा दाङकै स्थानीय कलाकारहरुको समेत उत्साहजनक सहभागिता हुने उपसमिति संयोजक घर्तीले बताएका छन् । महोत्सवलाई आकर्षक एवं सांस्कृतिक बनाउन मयुर नाचलाई विशेष महत्व दिइएको पनि आयोजकले बताएको छ । यो नृत्य उद्घाटनकै दिन प्रस्तुत गरिनेछ ।

त्यसैगरी विश्वव्याधिका रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्यनजर गर्दै महोत्सवस्थलमै स्वास्थ्य शिविरको पनि व्यवस्थापन गरिने स्वास्थ्य उपसमितिले बताएको छ । स्वास्थ्य शिविरमा दीर्घायू मेडिकल, पाल्पाली मेडिको फर्मा, तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहने छ । महोत्सवस्थलमा प्रवेश गर्न अनिवार्यरुपमा मास्क र सेनीटाइजरको प्रयोग गरिने आयोजकले दावी गरेको छ ।

विरोधमा बजार बन्द

यसैविच बेमौसममा व्यापारिक मेला महोत्सव आयोजना गरिएको विरोधमा तुलसीपुरका फेन्सी व्यवसायीको अगुवाईमा मंगलवार तुलसीपुर बन्दको आह्वान गरिएको छ । बन्दका कारण मंगलवार तुलसीपुरका अधिकांश फेन्सी व्यवसायीहरुले पसल बन्द गरेर बन्दप्रति समर्थन जनाएका थिए । यो मौसममा फेन्सी व्यावसायीहरुको मुख्य व्यापार हुने भएका कारण मेला महोत्सवमा बाहिरका व्यापारीहरु आएर मेलामा फेन्सी सामान बिक्री गरेमा आफूहरुको कमाइखाने आधार सकिने पनि फेन्सी व्यवसायीहरुको गुनासो रहेको छ ।

मेलामा फेन्सी सामान नराख्न वा मेलालाई करीब एक महिनापछि सार्नका लागि आयोजक र तुलसीपुर उद्योग वाणिज्य संघबीच पटक–पटक छलफल भए पनि वार्ताले सार्थकता पाउन नसकेपछि विशेष गरी फेन्सी व्यवसायीहरु तथा तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध अन्य व्यवसायीहरु पनि स्वतःस्फूर्तरुपमा बजार बन्द गर्न बाध्य भएको बताएका छन् । ‘आजको बन्दको उद्देश्य भनेको यहाँ जुन तरिकाको मेला लाग्न थालेको त्यो शैलीको विरोधमा हो, यस्ता मेलाले यहाँको व्यापार प्रवद्र्धनमा कुनै पनि भूमिका खेल्न नसक्ने हामीले अनुभव गरिसकेका छौं’, फेन्सी व्यवसायी उपसमितिका संयोजक हरि कँडेलले गोरक्षलाई भने ।

मेला महोत्सवको शैली स्थानीय व्यवसायीलाई प्रत्यक्ष असर पार्ने खालको भएकाले बन्द आह्वान गरिएको पनि कँडेलको अभिव्यक्ति थियो । मेला महोत्सव भनेको त कुनै विशेष खाले मनोरञ्जन र कुनै पनि उत्पादनको प्रवद्र्धनका लागि हो, नकि यहाँका व्यवसायीहरुलाई धरासायी पार्नका लागि होइन’, कँडेलले भने हाम्रो विरोध त्यसैमा हो । उनले फेन्सी व्यवसायीहरुले चेम्बरले आयोजना गरेको महोत्सवको मात्रै बिरोध गरेको नभई यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा पनि असहमति जनाएको स्पष्ट पारे ।

फेन्सी व्यवसायीहरुकै आग्रहमा दुई बर्षअघि राप्ती बहिरा संघले आयोजना गरेको मेला पनि रोकिएको पनि उनले स्मरण गरे । मेला महोत्सव रोक्न तुलसीपुरका करिब ८ सयभन्दा बढी व्यवसायीहरुले हस्ताक्षरसहित तुलसीपुर उद्योग वाणिज्य संघमा आग्रह गरेका छन् भने स्थानीय पालिकामा पनि मेला रोक्न माग गरेका थिए ।